BIZMANDU
www.bizmandu.com

किन चोरिन २४ वर्षिया कर्मचारीले ६३ लाख ?

२०६९ साउन ३

किन चोरिन २४ वर्षिया कर्मचारीले ६३ लाख ?
किन चोरिन २४ वर्षिया कर्मचारीले ६३ लाख ?

लण्डन । तपाँई हामीले घरभन्दा सुरक्षित ठानेर पैसा राख्ने गरेको बैंकबाट नै पैसा चोरी भयो भने के होला कल्पना गर्नुस त ? आपतै पर्छ नी, कहाँ राख्ने पैसा ? कुरो यस्तै छ । बिश्वकै ठुलो बैंकमा पर्ने बार्कलेज बैंकको कर्नवालमा रहेको कार्यालयका एक कर्मचारीले बैंकबाट ६३ लाख रुपैंया (४६ हजार पाउण्ड) चोरेकी खवर सार्वजनिक भएपछि सबै बैंकहरुको होस उडेको छ ।
बैंकहरु चिन्तामा छन्, लुटेरा एवं फुटेरा (एटिएम फुटाएर चोर्नेहरु) बाट हुने चोरीबाट सावधान हुँदै आएकोमा नयाँ प्रकारका चोरबाट कसरी बच्ने ? जबकी नयाँ खालका चोरहरु त बैंकमा नै हुन्छन् । मासिक रुपमा तलब भत्ता लिन्छन् । पछिल्लो समयमा विभिन्न काण्डमा सहभागी भएको भन्दै अबौं रकम जरिवान तिरेको बार्कलेज बैंकमा आफ्नै कर्मचारी चोर हुन थालेपछि सर्वसाधारणको निक्षेप जोगाउन कठिन हुने देखिएको छ ।  
राचेल क्लेयर मार्टिन नामकी २४ वर्षिक ती युवती बैंकमा क्लर्कको रुपमा कार्यरत थिइन् । मोडल बन्ने सपना बोकेकी राचेलले सुन्दर हुनकालागि बैंकबाट रकम चोरेको पुष्टि भएको छ । सुरुमा आरोप अस्वीकार गरेकी राचेलले पछि आफ्नो गल्ति स्वीकार गरेकी छन् । पश्चिमी अखबारहरुका अनुसार उनले सो रकम एकै पटक चोरेकी होइनन् । दुई र एक हजार पाउण्ड गर्दै उनले त्यति धेरै रकम हात पारेकी हुन ।  एक पटक भने ६ हजार पाउण्ड चोरेको उनले बताएकि छन् ।
राचेलले तेत्रो रकम के गरिन त ? मोडल बन्ने सपना पालेकी राचेलले ब्रेस्ट इम्प्लाण्ट गर्ने काममा ४ हजार पाउण्ड खर्च गरिन । त्यसपछि दाँत सुन्दर पार्न एक हजार ७ सय पाउण्ड खर्च गरीन । यसैगरी केही रकम अन्य सौन्दर्य प्रसाधन र सर्जरीमा खर्च गरे पछि मनलाग्दी सपिङ गरेर पैसा सकाइन ।
वार्कलेस बैंकका कर्मचारीले पैसा चोरेको यो पहिलो घटना होईन, गत जनवरिमा एक कर्मचारीले मानसिक समस्या भएका एक ग्राहकबाट आठ हजार पाउण्ड चोरेको खुलेको थियो । आरोप प्रमाणित भएपछि ती कर्मचारीले आफ्नो उधारो वित तिर्न र छोरीको विवाह समारोहमा सहभागी हुनका लागि रकम चोरेको बताएका थिए ।
बार्कलेस बैंक बाहेक अन्य बैंकका कर्मचारी पनि पैसा चोर्न सिपालु छन् । गत महिना मात्रै न्यु जर्सिको एक बैंकका टेलरले ग्राहकबाट एक लाख पाउण्ड चोरेका थिए । अनुसन्धान गर्दै जाँदा कर्मचारी नै चोर भएको खुलेको थियो । ती ब्यक्तिले झुटो विवरण दिएर कर छली गरेको रकम बैंकमा जम्मा गरेको प्रहरीले पत्ता लगाएको छ ।
नेपालमा पनि बैंकिङ व्यवसाय निक्कै फस्टाएको छ । सामाजिक प्रतिष्ठाको सूचक बनेको यो व्यवसायमा हिँडने युवा युवती आफुलाई निक्कै स्मार्ट ठान्छन भने फेसनेवल हुन खोज्छन । माथिल्लो पदमा त ठिकै छ, तर तल्लो तहमा उनीहरुले पाउने तलबले यो महंगीमा खान पुग्न पनि धौ धौ पर्ने अवस्था छ । यस्तोमा तलबले आफ्नो इच्छा पुरा गर्न नसकैपछि चोरी नै विकल्प बन्ने हो की ? बैंकरहरुले सोच्नुपर्ला ।

Tata
GBIME
Zonsen