काठमाडौं। नेपालको स्मार्टफोन बजारमा कुलप्याड ब्राण्ड लिएर जयमाँ इन्टरकन्टिनेन्टल प्रतिश्पर्धामा उत्रिएको छ। सोमबार साँझ जयमाँले कुलप्याडको फ्ल्यागसिप मोडल कुल वान फोन काठमाडौंमा सार्वजनिक गरेको छ।
कम्पनीका अध्यक्ष गणेशबहादुर श्रेष्ठ र कुलप्याडका सिईओ जेम्स डुले नेपालमा कुल प्याड बिक्रीको सुरुवात गर्दै कुल वान ब्राण्ड सार्वजनिक गरे।
सन् १९९३ देखि ग्लोवल वायरलेस कम्युनिकेशन बजारमा प्रतिश्पर्धा गरिरहेको कुलप्याडले गतवर्ष चीनको अर्को टेक्नोलोजी कम्पनी लिकोसँग साझेदारी गरेको थियो। लिकोका प्रमुख कार्यकारी अधिकृत जिया युतिङ गत अगस्टमा कुलप्याडको अध्यक्ष बनेका थिए भने कुलप्याडको सबैभन्दा ठूलो शेयर साझेदार लिको बनेको थियो।
दुई प्रविधि कम्पनीको संयोजनपछि कुलप्याडले आफ्नो पहिलो फ्ल्यागसिप मोडल कुल वान स्मार्टफोन सार्वजनिक गरेको छ। लिकोसँग साझेदारी गरेपछि मोबाइल प्रविधिमा दश हजारभन्दा बढी प्याटेन्ट दर्ता गरेको कुलप्याड एग्रेसिभ बनेको छ।
पहिलो फोरजी फोन निर्माण गरेको कुल प्याडले अहिले फाइभजी प्रविधिको अनुसन्धानमा ठूलो लगानी गरिरहेको कुलप्याडका ग्लोबल सिईओ डुले काठमाडौंमा बताए। कम्पनीले यो वर्ष ४६ देशमा स्मार्टफोन बिक्रीको सञ्जाल तयार गर्ने र त्यसबाट एक करोड भन्दा बढी फोन बिक्री गर्ने योजना बनाएको छ।
जय माँले नेपाली स्मार्टफोन प्रयोगकर्तालाई नौलो अनुभव दिंदै कुलप्याडलाई नेपालको स्मार्टफोन बजार सर्वोत्कृष्ट पाँचभित्र पार्ने लक्ष्य लिएको छ।
के छ कुल वानमा ?
कुलप्याडको फ्ल्यागसिप ब्राण्ड कुल वानमा तीनवटा क्यामरा छन्। यसको पछिल्लो भागमा दुईवटा र अघिल्लो भागमा एउटा क्यामेरा छ। पछिल्लो भागमा भएका दुई वटै क्यामेरा १३ मेगापिक्सेलका हुन्। अघिल्लो भागमा भएको क्यामेरामा आठ मेगापिक्सेलको क्यामेरा छ।
पछिल्लो भागमा भएका दुईवटा क्यामेराको मुख्य विशेषता भनेको एफ/२.० एपार्चर हो। यसमा डुअल टोन एलइडि फ्ल्याससहितको १३ मेगापिक्सेलको जोडी सेन्सर छ। पहिलो क्यामेरा सेन्सरले कलरको सन्तुलन मिलाउने र दोस्रो सेन्सरले तस्वीरको डेप्थ, डिटेल र ब्राइटनेसको सन्तुलन मिलाउन सहयोग गर्छ।
फोनको अहिल्लो भागमा भएको आठ मेगापिक्सेलको क्यामेरामा एफ/२.२ एपार्चरसहितको फ्रन्ट फेसिड्ड क्यामेरा छ। यसमा ८० डिग्री वाइड एन्गलको लेन्स जडान गरिएको छ।
कतिपय अवस्थामा यो फोन भएपछि डिएसएलआर क्यामेराको आवश्यकता पनि पर्दैन, कम्पनीले आयोजना गरेको कार्यक्रममा जानकारी दिइयो। यसले कम प्रकाश र अँध्यारोमा राम्रो र स्पष्ट तस्वीर कैद गर्ने कम्पनीले जानकारी दिएको छ।
कुल वानमा व्याकमा मेटल छ भने अघिल्लो भागमा ग्लास प्यानेल छ। ५.५ इन्चको एफएचडि स्क्रिन भएको यो मोवाइलमा ४०३ पिपिआइको पिक्सेल क्वालिटी छ।
त्यसैगरी फिंगर प्रिन्ट सेन्सरसहित शून्य दशमलव १५ सेकेन्डमा फोन अनलक गर्ने क्षमता छ। फोनमा ६४ बिट कोर क्वालकम स्न्याड्रागन ६५२ को प्रोसेसर छ भने चार जीबीको एलपिडिडिआर थ्री र्याम छ। फोनमा एड्रोनो ५१० जीपियु पनि रहेको छ।
फोनमा डुअल सिमको सुविधा छ भने यसले फोरजी सपोर्ट गर्छ। वाइफाइ, व्लुटुथ र युएसबि टाइप सिको नयाँभर्सन भएको यो फोनमा क्वालकम क्विक चार्ज सपोर्ट पनि छ।
फोनमा ४०६० एमएएचको ब्याट्री छ। यो ब्याट्रीमा मोवाइल ४५० घण्टा स्ट्याण्डबाई, १२० घण्टा गीतकालागि र फिल्म हेरेर पनि ४० घण्टा काम गर्ने कम्पनीले दावी गरेको छ।
कम्पनीले यसको मूल्य भने नेपालमा ३० हजार ९९६ रुपैयाँ तोकेको छ।सोमवारै कम्पनीले नोट थ्री एस, मेगा थ्री र मेगा २.५ डि फोन पनि सार्वजनिक गरेको छ।