कार्यक्रममा आर्ट अफ लिभिङ फाउण्डेसका संस्थापक रवि शंकर, काञ्ची कामाकोठी पीठका शंकराचार्य जयेन्द्र सरस्वती लगायतको उपस्थिती हुनेछ।दुम्कौलीमा निर्माण भएको यो धाम नेपालकै महत्वपूर्ण धार्मिक पर्यटकीय स्थलको रुपमा विकास हुने देखिएको छ।आइतबार आयोजित पत्रकार सम्मेलनमा चौधरी समूहका प्रवन्ध निर्देशक निर्वाण चौधरीले शाश्वतधाममा आध्यात्मिक उर्जा प्राप्त गर्ने बताए।
मन्दिरलाई चारैतिरबाट सर्वतीर्थ सरोवर तालले घेरेको छ, जहाँ बद्री, केदार, हरिद्वार, मुक्तिनाथ, र पशुपतिनाथ जस्ता प्रसिद्ध धार्मिक तीर्थस्थलबाट ल्याइएको जल मिसाइएको छ ।
यो धाममा गुरुकुल विद्याश्रम, अखण्ड अग्नि कुण्ड, शक्तिघाट, धर्मशाला, यज्ञकुण्ड, हनुमान मन्दिर, धार्मिक प्रदर्शनी, धार्मिक संग्रहालय, डिजिटल धार्मिक पुस्तकालय, हेरिटेज बिल्डिंग हल, गौशाला, अग्र्यानिक फार्म, ४५ जनाको लागि आवासीय सुविधा भएको योग तथा ध्यान केन्द्र, शाकाहारी अग्र्यानिक भोजनालय, विश्राम स्थल लगायत वैदिक सनातन हिन्दु धर्मसंग सम्वन्धित अन्य महत्वपूर्ण स्थलहरु रहेका छन् ।
केन्द्रमा धार्मिक पर्यटक तथा आगन्तुकहरुले नेपाल तथा भारतमा रहेका पशुपतिनाथ, मुक्तिनाथ, स्वर्गद्वारी, गोसाइँकुण्ड, बद्री, केदार, हरिद्वार जस्ता प्रमुख धार्मिक स्थलका पछिल्ला गतिविधि ठूलो पर्दामा हेर्न सकिनेछ।
धामको चारैतिर ढुंगा खोपेर बनाइएका स—साना स्पिकरबाट आगन्तुकहरुले मन्द आवाजमा भजन सुन्नसक्ने छन् । करीव ३ सय जना क्षमता भएको अन्नपूर्ण भोजनालय धाम परिसरमै रहेको छ जहाँ भक्तजनहरुले सात्विक खाजा तथा भोजन न्यूनतम शुल्कमा प्राप्त गर्न सक्ने छन् ।