काठमाडौँ । बैंकिङ क्षेत्रमा लगानी योग्य रकम (तरलता) अभावको चर्को असर सवारी साधन बिक्रीमा परेको छ। माघसम्ममा चार पाङ्ग्रे सवारी साधनको बिक्री अघिल्ला महिनाको तुलनामा ५० प्रतिशतसम्मले घटेको बिक्रेताहरुले बताएका छन्।
बैंकहरुले उत्साहका साथ अटो कर्जा प्रवाह गरेका कारण यो बर्ष सुरु देखिनै कार, जीप जस्ता निजी सवारी साधनको बिक्री उच्च दरले बढेको थियो। दशैं यता त्यो क्रमशः ओरालो लागेर अहिले न्युन बिन्दुमा आइ पुगेको व्यवसायीहरु बताउँछन्।
माघमा सवारी साधन बिक्री अघिल्ला महिनाको ३० देखि ३५ प्रतिशतले हुन्डाइको नेपाल स्थित अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका नायव महाप्रबन्धक रुपेश भट्टले बताए। पछिल्लो समय बैंकले कर्जा प्रकृया लामो र झन्जटिलो बनाएको उनी बताउँछन्।
गत भदौमा सम्पन्न नाडा अटो शोमा कार खरिदका लागि कर्जा दिन बैंकहरु बीच प्रतिश्पर्धानै चलेको थियो। कार किन्नेलाई साढे ६ प्रतिशतसम्ममा कर्जा दिन बैंकले स्किम ल्याएका थिए। ऋण दिने प्रकृया पनि धेरै सजिलो बनाइएको थियो। फोनबाटै ऋण मिलाएर गाडी बुक गर्ने सम्मको व्यवस्था गरिएको थियो।
तरलता अभावसँगै बैंकले नयाँ ऋणको फायल उठाउन मानेका छैनन्। ग्राहकमा पनि अनेक कोशिष गरेर महङ्गो ब्याजको ऋण लिनु भन्दा केही समय पर्खने मनस्थिती देखिएको भट्टले बताए। बुकिङ गरेका गाडी समेत डेलिभरी लिन ढिलाइ गरि रहेको उनले जानकारी दिए।
स्कोडाको अधिकृत बिक्रेता एमएडब्लुका मुख्य महाप्रबन्धक सुरज मानन्धरका अनुसार बिक्रीमा आएको कमीले भन्सारमा आएका गाडी समेत छुटाउन समस्या हुन थालेको छ।
यातायात व्यवस्था कार्यालय, साना ठूला सवारी वाग्मतीका प्रमुख बसन्त अधिकारीका अनुसार पुषको तुलनामा माघमा सवारी दर्ता ५० प्रतिशतले घटेको छ। पुषमा कार्यालयमा १५ सय ८४ कार जिप भ्यान सहित २६ सय ८३ वटा चार पाङ्ग्रे सवारी साधन दर्ता भएका थिए। मंसिरमा कुल २८ सय ३२ वटा सवारी साधन कार्यालयमा दर्ता भएको उनले जानकारी दिए। अहिले सम्मको अवस्था हेर्दा माघमा यो तथ्याङ्क ५० प्रतिशतले झर्ने देखिएको उनको भनाइ छ।
वीरगंज पारी सवारी लाइन
बिक्रीमा कमी आएपछि व्यवसायीले भन्सारमा आइ पुगेका सवारी साधन भारतीय भूमीमा लाइन लगाएर राखेका छन्। अघिल्लो महिनाको तुलनामा धेरै कम मात्र गाडी पास भइ रहेको वीरगंज भन्सार प्रमुख सेवन्तक पोखरेलले बताए।
विरगंज भन्सार पारिपट्टी भारतीय भूमिमा नेपाल लागिएका सयौँ नयाँ कार जीपको लाइन रहेको उनले जानकारी दिए। कम्पनीहरुले भारतीय जमिनमा भाडामा लिएर सवारी साधन राखेको उनले बताए।
भन्सारबाट उठ्ने करमा सवारी साधानको मूख्य भूमिका रहेको कारण यो महिना राजश्व नै घट्न सक्ने उनले बताए। भन्सारमा धेरै राजश्व तिर्ने कम्पनीहरु हुन्डाई, टाटा, टोयोटा, मारुती सुजुकी, बजाज लगायतले पनि दैनिक दशभन्दा कम मात्र सवारी साधन छुटाइरहेको उनले जानकारी दिए।
वीरगंज स्थित सुक्खा बन्दरगाहबाट पनि सवारी साधान आयातमा कमी आएको छ। त्यहाँबाट भारतबाहेक तेस्रो मुलुकबाट आउने सवारी साधान पास हुने गरेका छन्। किया मोटर्सका उत्पादन एवं महङ्गा कार, भ्यानहरु तेस्रो देशबाट आयात हुने गरेका छन्।
सुक्खा बन्दरगाह भन्सार प्रमुख सुर्य सेढाईका अनुसार केही मर्सिडिज र ल्याण्ड रोभर गाडी कलकत्ता बन्दरगाहमा नै रोकिएका छन्। तेस्रो पक्षलाई भुक्तानी गर्न नसकेकै कारण बन्दरगाहमा गाडी रोकिएको उनले जानकारी दिए।
फोटो: राधेश्याम पटेल