BIZMANDU
www.bizmandu.com

राम्रो शेयरमा तपाईंको होल्ड कति रहन्छ, छ सय हालेर नबिल बैंकको १० कित्ता शेयर किन्ने अहिले लखपती

२०७३ माघ १९

राम्रो शेयरमा तपाईंको होल्ड कति रहन्छ, छ सय  हालेर नबिल बैंकको १० कित्ता शेयर किन्ने अहिले लखपती
राम्रो शेयरमा तपाईंको होल्ड कति रहन्छ, छ सय हालेर नबिल बैंकको १० कित्ता शेयर किन्ने अहिले लखपती

काठमाडौँ । सन् १९८४ को जुन महिना। नेपाल राष्ट्र बैंकले एउटा निजी बैंकलाई लाइसेन्स दियो। गभर्नर थिए कल्याणबिक्रम अधिकारी। जुलाई १२ तारिखमा अधिकारीले नै उक्त बैंकको उद्घाटन गरे।

यसरी सुरु भएको थियो- नेपाल अरब बैंक।

Tata
GBIME
Nepal Life

स्वदेशी लगानीकर्ताको रुपमा सुरु देखिनै बैंकमा संलग्न शम्भुप्रसाद पौडेलको सम्झना अनुसार नेपालीभन्दा अरबीको चाहनामा उक्त बैंक स्थापना भएको थियो। ‘त्यतिखेर जोइन्टभेन्चर कम्पनी मुलुक भित्रिँदा राम्रो हुन्छ भनेर नै सरकारले लाइसेन्स दिएको थियो, उनी भन्छन्।


सुरुवाती समयमा सरकारी स्वामित्वको एनआइडिसी (हाल विकास बैंक) लगायतका संस्था पनि नेपाल अरब बैंकका लगानीकर्ता थिए। बैंकमा एनआइडिसीको शेयर १० प्रतिशत थियो। तुरुन्तै उक्त संस्थाले शेयर बेच्ने चाहना देखायो। बिदेशी लगानीकर्ताले विश्वास गरेको साझेदारले यसरी हतारमा हात झिक्नु हुन्न भनेर एनआइडिसीको तात्कालिन महाप्रबन्धकलाई आफूले सम्झाएको पौडेल स्मरण गर्छन्। 

पछि बैंकबाट अरबी साझेदार बाहिरिए। बैंकको नाम नबिल भयो। नाम मात्र बदलिएन संस्थाको प्रगति बर्षेनी लोभ लाग्दो गरी उकालो चढ्न थाल्यो।
ठूलो दायित्व बहन गरेको एनआइडिसी त्यही नबिलको शेयर बेचेर धनात्मक हुन सक्यो। प्राथमिक शेयर निष्कासनताका नेपाल अरब बैंकको प्रति शेयर मूल्य ६० रुपैयाँ कायम गरिएको थियो। 

'उतिबेला बेचेको भए ६० रुपैयाँको शेयर बापत एनआइडिसीले बढिमा ६५/७० रुपैयाँ पाउने थियो, पौडेलले भने- तर पछि त्यहि नबिलको शेयरले एनआइडिसी सबै दायित्वहरुबाट मुक्त हुन सक्यो।'

एनआइडीसी मात्र होइन नबिलको शेयरले धेरैलाई मालामाल बनाएको देखेका छन् पौडेलले। 'हामीले २५ औँ बर्ष बचत गर्दा पनि केहि हुन सकेन, उनी सुनाउँछन्- तर नबिलमा केहि हजार या सयको शेयर किनेको कारण आज जीवन नै सहज भयो भन्ने धेरै छन्।' 

तत्कालिन नेपाल अरब बैंक सार्वजनिक रुपले शेयर बिक्री गर्ने पहिलो बैंक बनेको थियो। बैंकले २०४१ सालमा प्राथमिक शेयर निस्कासन (आइपिओ) गरेको थियो। त्यहि बेला प्रति कित्ता ६० रुपैयाँ मूल्य तोकियो। चार लाख ६९ हजार ७०७ कित्ता शेयर जारी गर्दा २ करोड ८१ लाख ८२ हजार ४ सय २ रुपैयाँ संकलन भएको थियो। बैंकले आवेदकलाई न्युनतम १० कित्ता देखि अधिकतम १४५ कित्ता शेयर बाँडफाँड गरेको थियो। 

बैंकले आर्थिक बर्ष २०४१/४२ देखि २०४५/४६ सम्म बर्षेनी सार्वजनिक निष्कासन मार्फत सर्वसाधारणलाई शेयर बेचेको थियो। प्रत्येक पटक कित्ताको ६० रुपैयाँ मूल्य तोकिएको थियो।
 

अहिले बैंक आफ्नै बुतामा राष्ट्र बैंकले तोकेको आठ अर्ब रुपैयाँ पूँजी पुर्याउन सक्ने भएको छ। निजी क्षेत्रका बाणिज्य बैंकमध्ये नाफामा नम्बर एक छ। भर्खरै पढाइ पूरा गरेका 'बिजनेश स्टुडेन्ट'का लागि पहिलो 'जब डेष्टिनेशन' बन्न सफल भएको छ।

आर्थिक बर्ष २०४८/४९ मा बैंकले सञ्चित मुनाफाबाट प्रति शेयर ४० रुपैयाँ थप गरेर शेयरको मूल्य १०० रुपैयाँ कायम गर्यो। त्यहिँबाट बैंकको लाभांश वितरण सुरु भएको हो। त्यस यता आर्थिक बर्ष २०५१/५२ र २०५३/५४ मा बैंकले शत प्रतिशत बोनस शेयर जारी गर्यो।

त्यस यता पनि नियमित बोनस शेयर जारी गर्दैं बैंकले केन्द्रिय बैंकले तोकेको सीमा अनुसार पूँजी बढाउँदै आएको छ। गत आर्थिक बर्षको नाफाबाट ३० प्रतिशत बोनस शेयर जारी पश्चात बैंकको पूँजी छ अर्ब १८ करोड रुपैयाँ पुगेको हो।


यसरी तीन करोड रुपैयाँभन्दा कम चुक्ता पूँजी सहित खुलेको बैंकले अहिलेसम्म २०६ गुणाले पूँजी बृद्धि गरिसकेको छ। नबिलको यो छलाङले यसको शेयरमा लगानी गर्नेलाई पनि ठूलो प्रतिफल दिएको छ। 

तत्कालिन समयमा १० कित्ता शेयर परेका लगानीकर्ता अहिले १२ सय ४५ कित्ता शेयरको मालिक बनिसकेका छन्। सुरु लगानी बाहेक कम्पनीले शेयरधनीबाट थप रकम उठाएको छैन। सबै बोनस शेयरको रुपमा पाएको हो। यसरी १० कित्ता शेयर खरिद गर्न ६०० रुपैयाँ लगानीकर्ताको सम्पत्ति सोमबारको बजार मूल्य अनुसार १७ लाख रुपैयाँ पुगेको छ। 

त्यति मात्र होइन १० कित्ता शेयर हुनेले नगद लाभांशको रुपमा बैंकबाट एक लाख ७६ हजार रुपैयाँ बुझिसकेका छन्। १० कित्ताबाट शेयर ३२ सय गुणा बढेको र लगानीको २९३ गुणा लाभांश पाइसकेको तथ्याङ्क बैंकका कर्पोरेट अधिकृत प्रकाश बसुकलाले दिए।

न्युनतम १० कित्ता शेयर पर्ने लखपति बन्दा अधिकतम १४५ कित्ता शेयर पाउनेहरु करोडपति बनिसकेका छन्।

प्राथमिक निष्कासनताका बैंकको शेयर खरिद गर्ने धेरैजनाले अहिले पनि होल्ड गरिरहेका छन्। स्थापनाकालका लगानीकर्ता पौडेल त्यसै मध्येका एक हुन्। अहिले उनी नबिल बैंक सञ्चालक समितिको अध्यक्ष समेत छन्। उनी आफुले प्रारम्भिक चरणमा लिएको नविलको शेयर अहिलेसम्म नबेचेको बताउँछन्।

त्यस्तै अनुभव छ, निरञ्जन टिवडेवालको पनि। उनीसँग पनि नविलको सुरुवाती शेयर अहिलेसम्म छ। मसँग त त्यतिवेलाको पुरानो प्रमाणपत्र पनि थियो, डिम्याट गर्न पनि लोभ लाग्यो, उनले भने। 


पुराना लगानीकर्तामध्ये कतिपय अहिलेसम्म बैंकका लाभांश लिन पुगेका छैनन्। तर, उनीहरुको लाभांश सुरक्षित राखिएको हुँदा जहिले आए पनि पाउने बसुकला बताउँछन्। 

लामो समयको ‘ग्याप’पछि लाभांश लिन आउने शेयरधनीहरु आफैं चकित पर्ने गरेको उनको अनुभव छ।  
 
‘कुनै जमानामा केहि सय रुपैयाँ हालेको मान्छेले लाखौँ बराबरको प्रतिफल पाउँदा समेत चकित परेको आफ्नै आँखाले देखेको छु, उनले भने- अहिले नाम त बिर्सें तर दुई जना यस्ता शेयरधनी आउनु भएको थियो, उहाँहरुलाई यो तपाइँकै लाभांश हो भनेर विश्वास दिलाउन निकै समय लागेको थियो।’

बासुकलाले आफ्नो अगाडिको कम्प्युटर स्क्रिनमा देखाए। त्यहाँ २०४१ सालमा बैंकको शेयरमा आबेदन दिने रामपुर गाबिस- १ का प्रेमबहादुर के.सीको नाम थियो। केसीलाई सुरुमा १० कित्ता शेयर परेको थियो।

आर्थिक बर्ष २०६३/६४ सम्मको सबै लाभांश लगेका छन्। उक्त आर्थिक बर्षसम्म बैंकमा उनको चार कित्ता बोनस शेयर बाँकी थियो। त्यस यता उनले बैंकमा सम्पर्क गरेका छैनन्। आज त्यहि चार कित्ता बढेर १३२ कित्ता पुगेको छ।

जुन अहिलेको बजार मूल्यअनुसार दुई लाख रुपैयाँ हारहारीको हुन्छ। ‘प्रेमबहादुर केसीले यहाँ चार कित्ता शेयर छ भन्ने बिर्सीसक्नु भयो होला, वसकुलाले भने- तर, जहिले उहाँ आउनुहुन्छ चार कित्ता शेयर बढेर लाखौँ बराबरको भइसकेको हुनेछ, त्यसबेला उहाँलाई कति धेरै खुशी लाग्ला !’