BIZMANDU
www.bizmandu.com

विराटनगरको औद्योगिक प्रतिष्ठानमा राजस्व अनुसन्धानको छापा, यी प्रतिष्ठानबाट लगियो खाता र कागजप


विराटनगरको औद्योगिक प्रतिष्ठानमा राजस्व अनुसन्धानको छापा, यी प्रतिष्ठानबाट लगियो खाता र कागजप
विराटनगरको औद्योगिक प्रतिष्ठानमा राजस्व अनुसन्धानको छापा, यी प्रतिष्ठानबाट लगियो खाता र कागजप

विराटनगर ।राजस्व अनुसन्धान विभागले राजस्व छलेको आशंकामा विराटनगरका औद्योगिक एवं व्यापारिक प्रतिष्ठानमा छापा मारेको छ।काठमाडौंबाट खटिएको विशेष टोलीले विराटनगरमा छापा मारेको हो।छापा मारेको विषयलार्इ विभागले गोप्य राखेको छ।

Tata
GBIME
Nepal Life


विभागका उपसचिव खडानन्द गौतमको नेतृत्वमा विराटनगर आएको टोलीले एसियन थाई फूड, न्युट्री फूड्स, स्वदेशी साबुन उद्योग, आनन्द इँटा उद्योग, एसिसी इँटा उद्योग, सेन्चुरी मसला लगायतका औद्योगिक प्रतिष्ठानमा छापा मारेको स्रोतले बतायो।व्यवसायीले विभागको टोलीले आतंकित पारेर कागजपत्र र फाइल लिएर गएको आरोप लगाए।
 
‘उनीहरू आतङ्कको शैलीमा आए र तर्साउँदै हाम्रा कागजपत्र र केही फाइल लिएर गए’, राजस्वले कागजपत्र लगेको एक प्रतिष्ठानका सञ्चालकले भने, ‘पहिले त ‘हामीले पुर्जी छ ?’ उनीहरू एउटा औद्योगिक प्रतिष्ठानको नाममा पुर्जी लिएर आएका रहेछन् । त्यस प्रतिष्ठानका खातापाता हामीले देखायौँ । अर्को उद्योगको पनि हिसाब किताब मागेर लगे। 
 
पटक/पटक तर्साउँछन् 
उद्योग सङ्गठन मोरङका पूर्व पदाधिकारीका अनुसार राजस्व अनुसन्धानले पूर्वाञ्चलमा पटक पटक छापा मारेर लगानीकर्तालार्इ निरुत्साहित बनाउने गरेको छ।
 
‘छापा मार्न भनेर आउने सबैले एकै पटक हप्काएको शैलीमा प्रश्न गर्छन्, एउटाको उत्तर दिन भ्याएको हुँदैन अर्काको प्रश्न बर्सन्छ’, ती पदाधिकारीले भने, ‘तिनका व्यवहारमा शालीनता र सभ्यता हुँदैन । कुनै क्रूर शासकले हप्काएजस्तो लाग्छ । व्यवसायीलाई नर्भस बनाउन खोजिन्छ ।’
 
विराटनगरमा राजधानीबाट तीन महिना पहिला राजस्वको टोली आएर सुनिल टिवडेवाल, गिरीश लुनियाँ लगायतका व्यवसायीका कार्यालयबाट कागजपत्र लगेको थियो ।उनका अनुसार कागजपत्र लगेर अनुसन्धानका नाममा पैसा असुल्ने काम मात्रै हुने गरेको छ।
 
‘हाम्रा खातापाता र कागजपत्र लगेर उनीहरूले अध्ययन गर्ने केही होइन’, आफूलाई भुक्तभोगी बताउने एक उद्योगीको गुनासो थियो, ‘खोसिएका खाता माग्न जाँदा छानबिन गर्दैछौँ भन्ने उत्तर दिन्छन्, गरेका केही हुँदैनन् । त्यसपछि केही ‘पूजाआजा’ गरेपछि खातापाता फिर्ता पाइन्छ र ‘मुद्दा’ पनि त्यत्तिकै सकिन्छ ।’
 
राजस्व अनुसन्धान विभागका अधिकारीले विराटनगरमा छापा मारेको सूचनाका बारेमा बोल्न चाहेनन्।विराटनगरमा टोलीको नेतृत्व गरेका उपसचिव खडानन्दले सोमबार बिजमाण्डूसित कुरा गर्दै आफूले केही प्रतिष्ठानमा चेकजाँच गरेको तर यसबारे सूचना दिन नमिल्ने बताए । 
 
तर मंगलबार फेरि जानकारी लिन खोज्दा गौतमले भने, ‘मैले केही गरेको छैन। उपमहानिर्देशक गोविन्द बानियाँलाई सोध्नूस् ।’तर डिडिजी बानियाँले आफू छापा मार्न विराटनगर नआएको बताउँदै राजस्व कार्यालयको नियमित निरीक्षणमा आएको जानकारी दिए। उनले खडानन्दको टोलीले नै छापा मारेको जानकारी दिए।
 
विभागका महानिर्देशक निर्मलहरि अधिकारीले छापा मारेको बारेमा जानकारी दिन नमिल्ने बताए। महानिर्देशक अधिकारीले भने, ‘ अहिले केही भन्न मिल्दैन।विभागले निर्णय गरिसकेपछि कुन औद्योगिक प्रतिष्ठानसँग कति राजस्व प्राप्त भयो भन्ने जानकारी दिन सकिन्छ ।’