BIZMANDU
www.bizmandu.com

बिजुली चोरी काण्ड : प्राधिकरणका पूर्व प्रमुख र ऊर्जा मन्त्रीमाथि छानविन गर्न सभासद्को माग

२०७३ माघ १०

काठमाडौँ। नेपाल विद्युत प्राधिकरणका यसअघिका प्रमुख, ऊर्जा सचिव र ऊर्जा मन्त्रीहरुलाई पनि छानबिनको घेरामा ल्याउनु पर्ने माग संसदमा उठेको छ। 
 

वार्षिक १३ अर्बको बिजुली चोरी गर्ने १२ कर्मचारीलाई हिजो प्रहरीले पक्राउ गरेको समाचारपछि नेपाल मजदूर किसान पार्टीकी सांसद अनुराधा थापा मगरले संसदमा बोल्ने क्रममा यस्तो माग राखेकी हुन्। 
 
'बिजुली चोरीमा ठूला उद्योगी व्यापारी र विद्युत प्राधिकरणका कर्मचारीहरु नै संलग्न भएको महिनाको १०/ १२ लाख तिर्नुपर्ने उद्योगी व्यापारीले ५० हजार रुपैयामात्रै तिरे हुने बनाइएको र यस्तो चोरीबाट वार्षिक नौ अर्ब रुपैयाँभन्दा बढी प्राधिकरणको आम्दानी गुमेको सार्वजनिक भएको छ', उनले भनिन्, 'बिजुली चोरीमा संलग्न उद्योगी र कर्मचारीको तस्बिरसहित सम्पति सार्वजनिक गर्नुपर्छ र उनीहरुलाई थुनामा राखी मुद्दा चलाइनुपर्छ। यसअघिका प्राधिकरणका प्रमुख, ऊर्जा सचिव र ऊर्जा मन्त्रीहरुलाई पनि छानबिनको घेरामा ल्याइनु पर्छ।'
 
प्रहरीले आइतबार प्राधिकरणका १२ कर्मचारी र चार व्यवसायीलाई पक्राउ गरेको थियो। पक्राउ परेका मध्ये केही कर्मचारी ट्रेड युनियनका नेतासमेत भएको खुलेको छ।
 
पक्राउ परेका मनिज श्रेष्ठ नेपाली कांग्रेसलाई समर्थन गर्ने कर्मचारी संघका कोषाध्यक्ष, दिलबहादुर श्रेष्ठ केन्द्रीय सदस्य हुन् भने महादेव प्रधान नेकपा एमालेलाई समर्थन गर्ने कर्मचारी युनियनको विद्युत प्राधिकरण इकाईका सल्लाहकार हुन्।
 

Tata
GBIME
Nepal Life