काठमाडौँ। विमानस्थलबाट ३३ किलो सुन भन्सार पास गरी बाहिरिएको विषयले संसद पनि तताएको छ। आजको संसदको विशेष समयमा बोल्दै अर्थ समितिका सभापति समेत रहेका एमाले सांसद प्रकाश ज्वालाले बाकसमा सुन भित्रिए जस्तै अवैध हतियार भित्रिए देशको अवस्था के हुन्छ भनी प्रश्न गरे।
देशको सुरक्षा व्यवस्था नाजुक भएकोप्रति उनले गम्भीर चासो व्यक्त गरे।
अर्थमन्त्री कृष्णबहादुर महराले सुन तस्करलाई छाड्दैनौँ भन्ने अभिव्यक्तिहरु दिँदै गरे पनि अहिलेसम्म कारबाही भएको नदेखिँदा शंका गर्नुपर्ने ठाउँ रहेको उनको विचार थियो।
उनले गम्भीर आरोप पनि लगाए, 'सुन तस्करीका नाइके आफू अनुकूल आइजी बनाउन लागेका छन्।'
नेपाल प्रहरीका महानिरीक्षकको पदावधि आगामी महिना सकिँदैछ। अहिले नयाँ महानिरीक्षक बनाउन चलखेल भइरहँदा उनको यस्तो टिप्पणी संसदमा आएको हो।
संसदको विशेष समयमा बोल्दै उनले भारतीय विमानमा एयर मार्सल राख्न खोजेको देखिएको भन्दै विदेशीको दबाबमा सुरक्षा नियमावली परिवर्तन गर्न खोजिएको भन्दै यो खारेज गर्नुपर्ने माग राखे।