BIZMANDU
www.bizmandu.com

नेपाल लाइफको ७० प्रतिशत बोनस सेयर ५६ प्रतिशत नगद, पुँजी ६४ करोड पुग्ने, सेयर मूल्य १८६७ पुग्यो

२०६९ फागुन १

काठमाडौं । नेपाल लाइफ इन्सुरेन्स कम्पनीले बम्पर बोनसको घोषणा गरेको छ । कम्पनीले सेयरधनीलाई नगद र बोनस सेयर गरेर १२५ प्रतिशतभन्दा बढी लाभांस घोषणा गरेको छ । कम्पनीले सेयरधनीलाई ७० प्रतिशत बोनस सेयर दिनेछ भने ५६.३१ प्रतिशत नगद लाभांसको प्रस्ताव गरेको छ ।
माघ २८ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०६८÷६९ को मुनाफाबाट लाभांस प्रस्ताव गरेको हो ।
कम्पनीले बीमा समितिबाट वित्तीय विवरण स्वीकृत भएका र वार्षिक साधरणसभाबाट पारित भएपछि वितरण गरिने जानकारी दिएको छ । ३७ करोड ५० लाख चु्क्ता पूँजी भएको कम्पनीका ३७ लाख ५० हजार सेयर नेप्सेमा सूचीकृत छन् । बोनस सेयर वितरण गरेपछि कम्पनीको चुक्ता पुँजी ६४ करोड रूपैयाँ पुग्नेछ ।
लाभांस घोषणा पछि मंगलवार कम्पनीको सेयर एकै दिन १६९ रुपैयाँले बढेर प्रतिकित्ता १८६७ रुपैयाँमा कारोवार भयो । आइतवारको कारोवारमा पनि कम्पनीको सेयर मूल्य ३३ रुपैयाँ बढेर १६९८ रुपैयाँमा कारोवार भएको थियो । लाभांस घोषणापछि इन्सुरेन्स कम्पनीमध्ये नेपाल लाइफको सेयर व्लुचिप बनेको छ ।मंगलवार नेपाल लाइफ नै सबैभन्दा बढी मूल्यले सेयर बढेको कम्पनी बन्यो । कम्पनीको सेयर मूल्य झण्डै १० प्रतिशतले बढेर कारोवार भयो ।

कम्पनीले आर्थिक वर्ष २०६८/६९ मा १८ करोड मुनाफा गरेको थियो । वीरगंजमा मुख्य कार्यालय भएको एनएलआईसी जीवन विमा गर्ने ठुला कम्पनीहरुमा पर्दछ । कम्पनीको वीमा कोष १० अर्ब रुपैयाँभन्दा बढीको छ भने अघिल्लो आवमा कम्पनीले तीन अर्ब खुद वीमा शुल्क संकलन गरेको थियो । २०६९ असार मसान्तसम्ममा कम्पनीले ५ लाख ९८ हजार वीमालेख बिक्री गरेको जनाएको छ । कम्पनीमा संघाइ समूहको ४० प्रतिशत सेयर स्वामित्व छ । कम्पनीको प्रतिकित्ता सेयर मूल्य १७ सय रूपैयाँ नजिक पुगेको छ ।

Tata
GBIME
Nepal Life