BIZMANDU
www.bizmandu.com

निगमलाई एयरबस किन्न बाटो खुल्यो, न्यारो बडीका दुई जहाज ल्याउन सरकारको अनुमति

२०६९ फागुन १

निगमलाई एयरबस किन्न बाटो खुल्यो, न्यारो बडीका दुई जहाज ल्याउन सरकारको अनुमति
निगमलाई एयरबस किन्न बाटो खुल्यो, न्यारो बडीका दुई जहाज ल्याउन सरकारको अनुमति


काठमाडौं । सरकारले नेपाल वायु सेवा निगमका लागि अन्तर्राष्ट्रिय उडान भर्न पुरानै प्रक्रियाबाट दुईवटा एयरबस किन्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले एयरबससँग न्यारो बडी ए ३२०–२०० जहाज किन्ने निर्णय गरेको हो । यो निर्णयसँगै नेपाल वायु सेवा निगमलाई आवश्यक पर्ने जहाज किन्न बाटो खुलेको छ ।
सर्वोच्च अदालतले पुरानै प्रक्रियाबाट एयरबस किन्न सकिने फैसला साउनमा गरेको थियो । यही आधारमा पर्यटन मन्त्रालयले एयरबस किन्ने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पठाएको थियो । पुरानो सहमतिमा किनिए न्यारो बडी जहाजको मूल्य ४ करोड १२ लाख ८९ हजार डलर पर्छ । निगमसँग अन्तर्राष्ट्रिय उडानको लागि दुई वटा मात्रै जहाज छन् । जहाज अभावमा राष्ट्रिय ध्वजावाहक निगमले अन्तर्राष्ट्रिय उडान विस्तार गर्न सकेको छैन । निगमले आन्तरिक उडानका लागि पनि चीन सरकारसँग पाँच विमान किन्ने प्रक्रिया अघि बढाइसकेको छ ।
यसैगरी सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले नारायणघाट मुग्लिन सडक खण्डलाई रामराजाप्रसाद सिंह लोकमार्ग नामाकरण गर्ने निर्णय गरेको छ । साथै, अन्तरपार्टी महिला सञ्जाललाई रु ३० लाख दिने निर्णय पनि गरेको छ । यस्तै सो बैठकले नीति अनुसन्धान प्रतिष्ठानको अध्यक्षमा पूर्वसचिव श्रीराम पौडेल र सदस्यहरूमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक श्रीपुरुष ढकाल र प्राध्यापक महेन्द्र सिंह सदस्य रहनुभएको सहकारी तथा गरिबी निवारण मन्त्री एकनाथ ढकालले जानकारी दिनुभयो ।
भारत सरकारका मुख्य सचिवलाई नेपाल भ्रमणको निम्तो दिन मुख्य सचिव लीलामणि पौडेललाई स्वीकृति दिने निर्णय पनि बैठकले गरेको छ । सो बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्थाका बारेमा पनि छलफल भएको मन्त्री ढकालले बताउनुभयो ।

Tata
GBIME
Nepal Life