BIZMANDU
www.bizmandu.com

अरुण तेस्रो बन्न लाग्दा बगरमै फल्यो पैसा: सपनामै नचिताएको पैसा भिरमा भेटियो

२०७३ पुष ६

अरुण तेस्रो बन्न लाग्दा बगरमै फल्यो पैसा: सपनामै नचिताएको पैसा भिरमा भेटियो
अरुण तेस्रो बन्न लाग्दा बगरमै फल्यो पैसा: सपनामै नचिताएको पैसा भिरमा भेटियो

नुम (संखुवासभा)। दलानमा घाम ताप्दै दिलकुमारी अधिकारी कराहीमा दालभात खाँदै थिइन्।
 
१० बर्षअघि पेट पाल्न नुम दोभान झरेकी दिलकुमारीको हातमा अहिले साढे दुई करोड रुपैयाँ परेको छ। तर, उनको रासोबासोले त्यसको छनक दिँदैन।

Tata
GBIME
Nepal Life

 
अरुण किनारको दोभान, जहाँ १६ घर छन्। यहीँ बन्दै छ आयोजनाको ड्याम

दोभान अरुण पूर्व र पश्चिम जोड्ने जक्सन हो। खाँदवारी, नुम दोभानबाट पाथिभरा हुँदै किमाथांका तर्फ खाद्यान्न लगायत उपभोग्यवस्तु पुर्याइन्छ। दोभानसम्म सडक पुगे पनि त्यहाँबाट उकालो खच्चडमा लादेर लैजानु पर्छ। अरुण तरेपछि पनि ६ दिन लाग्छ किमाथांका पुग्न।
 
पारिबाट पनि अलैची बोकेर आएका किसान एवं व्यापारीको बिसौनी पनि दोभान नै हो हो।
 
यहि भिडभाडबाट लोभिएर पसल चलाउन पाथिभराको गढीबाट दोभान झरेकी हुन् दिलकुमारी। अहिले पसल छोराबुहारीले चलाउँछन्।
 
'अब करोडपति भइयो है, करोडपति भइयो,' उनले ठट्यौली गरिन्।
 
दोभान अब अरुण तेस्रो परियोजनाको ड्याम साइडमा पर्ने भएको छ। त्यहि कारण दोभानको १० रोपनी जग्गाको मुआब्जा वापत दिलकुमारीले साढे दुई करोड रुपैयाँ थापेकी हुन्।

दिलकुमारी अधिकारी, एकाएक करोडपति भएपछि उत्साहित छिन्।

दिलकुमारीले दोभान किनारकै पसलको आम्दानीले सुनसरीको तरहरामा घरजग्गा जोडिसकेकी छिन्। बुहारी टिका अधिकारीको माइती उतै भएकाले जग्गाजमिन तरहरामा किनेका हुन्।
 
'अब त्यतै जाने हो' बुहारी टिकाले भनिन्, 'आफूलाई त मधेस मन पर्दैन। तर के गर्नु ? सर्नै पर्छ।'
 
‘काठमाडौं पनि जान मन छैन, दिलकुमारीले बुहारीको कुरामा थपिन्- काठमाडौं त दैलो थुनेर भात खानुपर्ने ठाउँ हो अरे। निस्सासिएरै मरिन्छ होला त्यहाँ त।‘
 
'जग्गा बापत पैसा त आयो तर यता बस्ने बानी भयो। मिठो पानी खान पाइन्छ,' टिकाले थपिन्, 'उता कहाँ पाउनु? नुहाउँदा पनि कपालमा मान्द्रा पर्छ।'

टिका अधिकारी सुनसरीको तरहरा झर्दैछिन्। उनलाई पहाडको जस्तो मिठो पानी खान नपाउने चिन्ता छ।

अरुण-३ ले आयोजना निर्माण गर्न परियोजनाले दिलकुमारीसँगै अधिकांश प्रभावितलाई मुआब्जा वितरण गरिसकेको छ। आयोजना क्षेत्रमा सर्वसाधारणको ४९ हेक्टर जग्गा परेको छ। त्यसमध्ये ९० प्रतिशत हाराहारी जमिन अधिग्रहण गरेर मुआब्जा वितरण गरिसकेको छ।
 
नुम र पाथिभरामा परियोजनाको ड्याम एवं याफु र दिदिङमा पावर हाउस बन्नेछ। यिनै चार गाविसका सर्वसाधारणको जग्गा आयोजनाले अधिग्रहण गरेको हो। आयोजनाले अधिग्रहण गरेको जग्गा धेरैजसो खोँच र नदी किनारकै छ।
 
जमिन मात्र होइन त्यहाँ रहेका संरचना, अन्न एवं बोटबिरुवा सबैको छुट्टाछुट्टै मुआब्जा वितरण गरिएको छ। आयोजनालाई खोँचको जग्गा विक्री गरे वापत दुईजनाले साढे तीन करोड रुपैयाँ बुझेका छन्। ६ जनाले साढे दुई करोड हाराहारी र ३१ जनाले जनही एक करोड रुपैयाँभन्दामाथि मुआब्जा प्राप्त गरिसकेका छन्।
 
जीवनका बुबाले मुआब्जा बुझिसकेका छन्। जीवन भने आयोजना कार्यालयमा सहयोगीका रुपमा काम गर्छन्।

सबैभन्दा बढि मुआब्जा टेकवहादुर राईले साढे तीन करोड रुपैयाँ पाएका छन्। याफु गाविसका टेकवहादुरको २४ रोपनी जग्गा आयोजनाले 'लेभर क्याम्प' बनाउनलाई अधिग्रहण गरेको हो।
 
टेकवहादुरका जेठा छोरा जीवन आयोजना कार्यालयको सहयोगीका रुपमा काम गर्छन्।
 
अरुण पारि याफुमा आयोजनाको पावर हाउसमा काम गर्नेकालागि 'लेभर क्याम्प' बन्छ। वारी दिदिङमा पावर हाउस बन्छ।
 
जीवनको घर पारि याफुमा हो। उनको त्यहाँ २४ रोपनी जग्गा आयोजनाले लिएको छ।
 
'बुवाले सबै पैसा बुझ्नुभएको छ। अहिले बैंकमा राखेका छौं, जीवनले भने- पैसाले के गर्ने गर्ने सोच्नै सकिएको छैन।' केहि समय प्रतिक्षा गरेर जग्गा किन्ने योजनामा छन् जीवन।
 
'जीवनले त्यत्रो पैसा बुझेको छ। अब मलाई नै जागिर दिन्छ होला' अरुण-३ का आयोजनाका प्रोजेक्ट म्‍यानेजर रोशन नेगीले जीवनलाई ठट्टा गर्दै सम्झाए, 'भोलिका दिनमा दुख नहुने गरी लगानी गर्नु नि!' आयोजनाबाट मुआब्जा बुझ्‍ने अधिकांश सर्वसाधारणलाई पैसा फुर्मास नगर्न सम्झाएको नेगी बताउँछन्।
 
चार बर्षअघि विहे गरेका जीवनको एक छोरा र एक छोरी छन्। तीन दाजुभाइमा जेठा जीवनका एउटा भाइ भोजपुर काम गर्न पुगेका छन् भने कान्छो भाइ गाउँ (याफू) मै पसल गर्छन्।
 
'याफूमा हाम्रो दुई घर र बर्षको पाँच/छ मन फल्ने अलैँची बारी थियो। अलिकति पाखो पनि थियो, उनले भने- अब अलिकति जग्गा किन्नु पर्ला। पहिला अलैँचीले खान पुग्थ्यो अब त्यहीँ कतै पसल गर्न पाए राम्रो हुन्थ्यो।' याफूको डाँडोमा भने उनको अलिकति जग्गा बचेको छ। उनी त्यहाँ पसल खोल्न चाहन्छन्। लेवर क्याम्प बन्ने भएकाले व्यापार गर्न सकिने उनको अपेक्षा छ।
 
टिचर राई र उनकी श्रीमती

अरुण-३ ले जग्गाको मुआब्जा धमाधम वितरण गरेका कारण वरपर र सदरमुकाम खाँदवारीमा पनि जग्गाको भाउ छोइनसक्नु भएको छ। 'घरजग्गाको भाउ डेढीले बढेको छ' आयोजनाका तर्फबाट मुआब्जा मूल्यांकनमा खटिएका मधुकर खड्काले भने, 'अहिले तत्काल जग्गामा पैसा हाल्नुभन्दा केहि समय बैंकमै राखेर अलिक पछि जग्गा किन्दा राम्रो हुन्छ भनेर सल्लाह दिने गरेका छौं।'
 
बढि मुआब्जा पाउनेहरुमा याफूका टेकवहादुर राई, पुर्ण राई,  दिलकुमार  राई, धनवहादुर राई छन्। अरुणपारी पाथिभराका असारे राई, भिमवहादुर राई छन् भने नुमबाट मणिलाल राई, कन्छाङ राई, रवि राइ, भेसवहादुर राई पनि धेरै मुआब्जा पाउनेमा पर्छन्। परियोजनाको कारण उनीहरु एकाएक करोडपति भएका छन्।
 
मुआब्जा पाउनेमध्ये धेरैको जग्गा मात्र गएको छ। दोभानमा १६ तथा याफु र दिदिङमा गरेर १० घर मात्र भत्कनेछन्। अधिग्रहणभित्र परेकाहरुले चैतसम्ममा ठाउँ छाड्नु पर्छ।
 
जिल्ला प्रशासन कार्यालयमा मुआब्जा बुझ्दै

मुआब्जा पाएकामध्ये तीन जनाले खाँदवारीमा करोडमाथिको घरजग्गा जोडिसकेका छन्। पूर्ण राईले दुई करोड पाँच लाखमा खाँदवारीमा घरजग्गा किने । लिलावहादुर राई  र ठूल्डुङ राईले पनि भर्खरै करोडमाथिको घरजग्गा खाँदवारीमा किनेका छन्।
 
साढे दुई करोड रुपैयाँ वुझेका टिचर राई काठमाडौंमा राम्रै बन्दोस्तीका साथ बस्छन्। बाबुवाजेले जोडिदिएको जग्गाजमिन करोडको भाउमा गएपछि उनी भन्दै थिए- राम्रै पैसा हात लाग्यो।
 
टिचर राई काठमाडौंमा ठेकेदारी काम गर्छन्। आर्मी ब्यारेकमा पनि उनले निर्माणको काम गरे। अस्ट्रेलियन दूतावासमा ८ बर्ष र व्रिटिस वेलफेयरमा ९ बर्ष उनले घर बनाउने तथा मर्मत गर्ने काम गरेका छन्।
 
'जिन्दगी यस्तै रहेछ,' खाँदवारीको गेष्ट हाउसमा श्रीमती र छोरासँग बसिरहेका टिचर राईले हिले बजार झर्नुअघि हतार हतारमा भने, 'अहिले आकस्मत यत्रो पैसा हात लाग्यो।'
 
करिब चार रोपनी पाखो जग्गा परियोजनामा क्षेत्रमा परेका कारण ३५ लाख रुपैयाँ मुआब्जा बुझेका बीरमान तामाङ्गले भने- ‘खै के भयो यो त सपनै जस्तो भयो नि!’
 
आयोजनाले अधिग्रहण गरेको २५३ वटा कित्ताको एक अर्ब १९ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ।
 
नुम बजारमा पसल गर्दै आएका मणिकुमार बजार अचम्मैसँग बदलिएको बताउँछन्।

आयोजनाले पावर हाउस, ड्याम साइट, डम्पिङ साइट, लेभर क्याम्पका लागि सर्वसाधारणसँग जग्गा लिएको हो। यसबाहेक सरकारी जग्गा पनि उसले लिएको छ। आयोजनाको ड्याम साइटसम्म पुग्ने ५२ किलोमिटर सडक निर्माणकालागि लाग्ने खर्च पनि आयोजनाले सडक विभागलाई उपलब्ध गराइसकेको छ। ड्याम साइटबाट पावर हाउससम्म जाने 'रिभर रोड' को बाटो निर्माणकालागि पनि आयोजनाले सरकारलाई पैसा उपलब्ध गराइसकेको छ।
 
सरकारले खाँदवारीदेखि ड्याम साइटसम्म जाने ५२ किलोमिटर सडकमध्ये आधा भागको टेन्डर लगाइसकेको छ। काम धमाधम भइरहेको छ। पावर हाउस जाने बाटो निर्माणकालागि टेन्डर गर्ने प्रकृया सुरु भइसकेको छ।
आयोजना प्रमुख नेगी, आयोजनाको विस्तृत तस्विरको ब्याख्या गर्दै

९०० मेगावाटको अरुण-३ निर्माण गर्ने होहल्ला २०४३ सालबाटै सुरु भएको हो। २०४५ मा विश्व बैंकको लगानीमा बाटोले ओगटेको जग्गाको मुआब्जा सर्वसाधारणलाई वितरण गरिएको थियो। ड्याम साइटमा सुरुङ खन्ने काम पनि भएको थियो। २०५१ मा आयोजना निर्माण नहुने टुङ्गो गर्दै विश्व बैंक फर्कियो।
 
१० बर्षअघि अर्थात सन् २००८ मा फेरि आयोजना निर्माण गर्ने भनेर भारतीय कम्पनी सतलजले जिम्मा लियो। २०१० बाट कार्यालय खोलेरै आयोजनाको अध्ययन भयो। दुई बर्षअघि सतलजसँग नेपालले आयोजना विकास गर्न सम्झौता गर्यो। त्यसपछि सतलजले नेपालमै कम्पनी स्थापना गरेर मुआब्जा वितरण, सडक निर्माणजस्ता काम सुरु गरेको हो।