काठमाडौँ । कम्पनी रजिस्ट्रारको कार्यालयले प्रदान गर्ने सेवा अब ‘अनलाइन’ मार्फत उपलब्ध हुने भएको छ । व्यापार–व्यवसायको प्रक्रियालाई सरल बनाउने तथा सेवाग्राहीलाई बिनाझन्झट छिटो सेवा प्रवाह गर्न कार्यालयले विद्युतीय कार्यप्रणाली प्रारम्भ गरेको हो । विश्व बैंकअन्तर्गत अन्तर्राष्ट्रिय वित्तीय संस्था(आइएफसी), दक्षिण एसिया उद्यम विकास एकाइ, बेलायत सरकार र नर्वेली विकास नियोग (नोराड)को सहयोगमा विकास गरिएको स्वचालित विद्युतीय प्रणालीको बिहिवार उद्योगमन्त्री अनिलकुमार झाले शुभारम्भ गर्दै विद्युतीय स्वचालित प्रणालीबाट आर्थिक अनियमितता अन्त्य गर्न तथा पारदर्शिता सुनिश्चित गर्न सहयोग पुग्ने बताउनुभयो ।
देशका अन्य भागमा पनि रजिस्ट्रारको कार्यालयले प्रदान गर्ने सेवालाई अनलाइन गर्ने योजनामा सरकार रहेको बताउँदै उहाँले चालु आवभित्रै त्यसलाई कार्यान्वयन गरिने जानकारी दिनुभयो । विद्युतीय सेवाको माध्यमबाट व्यापार–व्यवसाय गर्न चाहनेहरूलाई सर्वसुलभ सेवा प्रदान गर्ने तथा औद्योगिक वातावरण बनाउन सरकार क्रियाशील रहेको बताउँदै उहाँले समाजका सबै वर्गको सामूहिक प्रयासबाट लक्ष्य प्राप्त गर्न सकिने विचार व्यक्त गर्नुभयो ।
नयाँ कम्पनीको दर्ता र दर्ता भएका कम्पनीका विवरण अनलाइन पेस गर्न सकिने प्रणालीको विशेषताबारे जानकारी दिँदै उहाँले सरकारले विद्युतीय सेवा प्रयोगलाई अझ व्यापक बनाउन मन्त्रालय लागिपरेको बताउनुभयो । उद्योग मन्त्रालयका सचिव कृष्ण ज्ञवालीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव लालमणि जोशी, नेपाल उद्योग परिसङ्घका अध्यक्ष नरेन्द्र बस्न्यात, नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधि दिनेश श्रेष्ठ, आइएफसीका आवासीय प्रतिनिधि भ्यालेन्टिनो वगतसिङ र कायममुकायम कम्पनी रजिस्ट्रार तोयानाथ अधिकारीले अनलाइन सेवाको महत्वबारे विचार व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा दिइएको जानकारीअनुसार नयाँ कम्पनी दर्ताका लागि सेवाग्राही कम्पनी रजिस्ट्रारको कार्यालयमा भौतिकरुपमा उपस्थित हुनुपर्दैन । कम्पनी ऐनले तोकेअनुसारका कागजातसहित निवेदन अनलाइनमा सम्प्रेषण गर्न सकिने छ । दर्ता भएका कम्पनीले सेयरधनीको नाम, सेयर पुँजी, पुँजीवृद्धि, सञ्चालकको नाम, प्रबन्धपत्र तथा नियमावलीजस्ता आफ्ना आधारभूत सूचना तथा कागजात सम्बन्धित कम्पनीले अनलाइन नै हेर्न सक्नेछन् । रासस