BIZMANDU
www.bizmandu.com

काठमाडौँ मात्र होइन, सूदुरपश्चिमबाट पनि हट्दैछ लोडसेडिङ, चमेलिया १० महिनामा सकिने

२०७३ मंसिर २४

काठमाडौँ । सूदुरपश्चिमको सबै भन्दा ठूलो परियोजनाको रुपमा रहेको चमेलिया जलविद्युत आयोजना बढीमा १० महिना भित्र सम्पन्न हुने भएको छ।
 

Tata
GBIME
Nepal Life


त्यसपछि त्यहाँको तराइ क्षेत्रमा भइरहेको लोडसेडिङ सधैंका  लागि अन्त्य हुने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए। ‘सूदुरपश्चिमका पहाडी जिल्लामा अहिले पनि लोडसेडिङ छैन, उनले भने- तराइको टिकापुर, धनगढी लगायत क्षेत्रमा पिक आवरमा डेढ/दुई घण्टा लोडसेडिङ हुँदै आएकोमा अर्को बर्ष देखि त्यो पनि हट्छ। ’
 
अहिले सूदुरपश्चिममा टनकपुरबाट भारतको ३० मेगावाट बिजुली आइरहेको छ। पूर्वको बिजुली लैजाने ‘मेकानिज्म’ तयार भइ नसकेको हुँदा भारतबाट ल्याइएको र स्थानीय उत्पादनमा भर पर्नुपर्ने बाध्यता छ। त्यहाँका पहाडी जिल्लामा माइक्रो हाइड्रो एवं स-साना परियोजनाबाट पनि बिजुली बलेको छ। 
सुस्त रहेको चमेलियाको निर्माणलाई घिसिङ कार्यकारी निर्देशक भएपछि तीब्रता दिलाएका थिए।

अहिले साँघुरिएको टनेल  ‘स्क्विचिङ (खुलाउने)’ काम भइ रहेको छ। चिनियाँ ठेकेदारले दशैं यता काम सुरु गरेर २३२ मिटर स्क्विचिङ गर्नु पर्ने मध्ये ९० मिटर काम सम्पन्न गरिसकेको छ। अब दुई देखि साढे दुई महिनामा यो काम सकिने घिसिङले जानकारी दिए। 
 

प्रधानमन्त्री पुष्पकमल दाहालले बिहिबार दार्चुलाको शिखर गाविसस्थित निर्माणस्थलमा पुगेर परियोजना अवलोकन गरे। जति सक्दो चाँडो आयोजना सम्पन्न हुनेमा आफु आश्वस्त रहेको उनले बताए।

‘स्क्विचिङ सकिएपछि टनेलमा प्लगिङको काम मात्र बाँकी रहन्छ, दार्चुलाबाट प्रधानमन्त्रीसँगै सुर्खेत पुगेका घिसिङले टेलिफोनमा भने- त्यसका लागि थप डेढ/दुई महिना र फाइनल टेष्टिङलाई दुई/तीन महिना लाग्छ। यसरी हामी आठ देखि १० महिना भित्र चमेलियाको बिजुली बालिसक्ने तयारीमा छौँ।‘
 

परियोजनाबाट उत्पादित बिजुली राष्ट्रिय ग्रीडमा जोड्न प्रशारण लाइन बनिसकेको छ। पावरहाउस पनि यसअघि नै सम्पन्न भएको हो। टनेलको काम पुरा भएपछि परियोजना सम्पन्न हुनेछ।
 
३० मेगावाटको उक्त परियोजना दशक अघि सुरु भएको हो। प्राधिकरणले आफ्नै लगानीमा बनाएको परियोजनामा अहिले सम्म १५ अर्ब रुपैयाँ खर्च भइ सकेको छ। यो सुरुको ‘स्टिमेट’को दोब्बर हो।