BIZMANDU
www.bizmandu.com

भारतमा आठ वर्ष लागेको आस्वा कार्यान्वयन गर्न नेपालमा कति लाग्ला? सुरुमा बाणिज्य बैंक मात्रै

२०७३ मंसिर २४

काठमाडौँ। सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले अब आफ्नै खाता भएको बैंकबाटै सोझै लगानी गर्न सक्ने भएका छन् । नेपाल धितोपत्र बोर्डले कार्यान्वयनमा ल्याउन लागेको ‘आस्वा’(एप्लिकेसन सपोर्टेड बाइ बल्क्ड एमाउन्ट) प्रणालीले लगानीकर्तालाई आफ्नो खाता रहेको बैंकबाट नै सेयरमा सहज रुपमा लगानी गर्न मार्गप्रशस्त गर्न लागेको हो ।

Tata
GBIME
Nepal Life

बोर्डले आगामी माघ १ गतेदेखि सो प्रणाली लागू गर्ने भएको छ । यसबाट लामो लाइन बस्नुपर्ने, धितोपत्रको प्रमाणपत्र पाउन ७० दिनभन्दा बढी कुर्नुपर्ने र  आफ्नै रकम प्राप्त गर्नसमेत लामो समय लाग्ने अवस्थाको समेत अन्त्य हुनेछ । भारतमा सन् २००८ मा सुरु भएको सो प्रणाली पूर्ण कार्यान्वयनमा आउन आठ वर्ष लागेको थियो । 

 
विहिवार आयोजित कार्यक्रममा बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले पहिलो चरणमा ‘क’ वर्गका बैंकमार्फत सो प्रणाली लागू र  त्यसपछि ‘ख’ वर्गका बैंक तथा वित्तीय संस्था र  मर्चेन्ट बैंकमा सो प्रणाली लागू गरिने जानकारी दिए ।

 धितोपत्र बजारलाई थप व्यवस्थित एवम् प्रभावकारी बनाउन बोर्डले नयाँ नयाँ प्रविधि सञ्चालनमा ल्याइरहेको उल्लेख गर्दै अध्यक्ष कार्कीले भारत र  बङ्गलादेशको अनुभवलाई समेत हेरेर नेपालमा आस्वा प्रणाली लागू गर्न लागिएको बताए।

 
नयाँ प्रणाली लागू भएपछि २० दिनभित्रै लगानीकर्ताले प्रमाणपत्र प्राप्त गर्न सक्नेछन् भने शतप्रतिशत ब्याज पनि पाउनेछन् । हाल विभिन्न शुल्कका नाममा काटिँदै आएको रकमसमेत बचत हुनेछ । 
 
धितोपत्र बजारमा एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषलाई पनि नेपाली मुद्रामा नै लगानी गर्न दिन लागिएको जानकारी दिँदै उनले बजारलाई व्यवस्थित बनाउने र अन्तर्राष्ट्रिय क्षेत्रसम्म विस्तार गर्ने योजना रहेको जानकारी दिए ।  

नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्स्चेन्ज, बैंकर्स सङ्घलगायतका सुझावका आधारमा नै आफू अरु अगाडि बढिरहेको स्पष्ट पार्दै उनले सेयर बजारलाई व्यवस्थित बनाउने दायित्वबाट कोही पनि भाग्न नमिल्ने बताए । 

 
 बोर्डका कार्यकारी निर्देशक परिष्ठ पौड्यालले पहिलो चरणमा ऐच्छिक रुपमा सो प्रणाली लागू हुने र बिस्तारै अनिवार्य गरिने बताए ।  सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बजार व्यवस्थित बनाउन अपनाइने सबै उपायलाई बैंकर्स सङ्घले अक्षरशः लागू गर्ने बताए ।