BIZMANDU
www.bizmandu.com

मोबाइल एप्लिकेसन डेभलपमेन्ट पढ्न विदेश जान नपर्ने, इस्लिङ्टन कलेजमा अर्को वर्षदेखि पढ्न पाइने

२०७३ मंसिर २३

काठमाडौँ। नेपालमा पनि स्नातक तहको मोबाइल एप्लिकेसन डेभलपमेन्ट विषयको अध्ययन अध्यापन हुने भएको छ । कमलपोखरीमा रहेको इस्लिङ्टन कलेजले बेलायतको मेट्रोपोलिटियन विश्वविद्यालयको सहकार्यमा नेपालमा पहिलो पटक आगामी शैक्षिकसत्रदेखि अन्तर्राष्ट्रियस्तरमा सो विषयमा पठनपाठन सञ्चालनमा ल्याउन लागेको हो ।
 

तीन वर्षमा अध्ययन सम्पन्न हुने सो विषय छ सेमेस्टरमा हुने कलेजद्वारा विहिवार  आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । यसका लागि ती दुई शैक्षिक निकाय कलेजका अध्यक्ष सुलभ बुढाथोकी र विश्वविद्यालयका उपकुलपति प्रा जोन याफ्टेरीका बीच आपसी सहमति समेत भएको छ । 
 
दश जोड दुई तहमा व्यवस्थापन तथा विज्ञान विषय अध्ययन पूरा गरेका छात्राछात्राले सो विषय अध्ययन गर्न योग्य हुने छन् । नेपालमा बसी अन्तर्राष्ट्रियस्तरका अध्ययन गर्न पाउनु नेपाली विद्यार्थीका सुखद् रहेको इस्लिङ्टन कलेजका अध्यक्ष बुढाथोकीले बताए।
 
उनले कलेजबाट स्नातक तह पूरा गरेका विद्यार्थीलाई सूचना प्रविधि र व्यवस्थापन विषयमा स्नातकोत्तर तहमा अध्ययन गर्न ७५ प्रतिशत छात्रवृत्तिको समेत व्यवस्था आगामी शैक्षिकसत्रबाट सुरु गर्न लागिएको जानकारी दिए।सन् १९९६ मा स्थापना भएको सो कलेजबाट सूचना प्रविधि र व्यवस्थापन विषयमा १३ हजारले स्नातक तह पूरा गरिसकेका छन् । 
 

Tata
GBIME
Nepal Life