BIZMANDU
www.bizmandu.com

नयाँ लगानीकर्ताले कम्पनीको सेयर कसरी छान्ने? दोस्रो बजारबाट किन्दा यस्ता कुरामा ध्यान दिनुस्

२०७३ मंसिर १६

नयाँ लगानीकर्ताले कम्पनीको सेयर कसरी छान्ने?  दोस्रो बजारबाट किन्दा यस्ता कुरामा ध्यान दिनुस्
नयाँ लगानीकर्ताले कम्पनीको सेयर कसरी छान्ने? दोस्रो बजारबाट किन्दा यस्ता कुरामा ध्यान दिनुस्

सेयरको प्राथमिक या दोस्रो बजारमा सहि कम्पनीको छनौट गर्नु लगानीकर्ताका लागि चुनौतीको विषय हो। त्यसमा पनि नवप्रवेशि लगानिकर्ताका लागि यो अझ ठुलो समस्या बन्न जान्छ ।

Tata
GBIME
Nepal Life

लगानी कम जोखिममा राख्न र खराव कम्पनीमा हुनसक्ने लगानीबाट बच्न नयाँ तथा बजारका बारेमा कम ज्ञान भएका लगानीकर्ताले केही सरल उपाय प्रयोग गर्न सक्छन्।

प्राथमिक बजारमा सेयर निस्कासन गरेको कम्पनीमा लगानी योग्यता बुझ्न सामूहिक लगानी कोष (म्युचुअल फण्ड) को लगानीलाई आधार बनाउन सकिन्छ । सामूहिक लगानी कोष सर्वसाधारणबाट पैसा संकलन गरेर सेयर बजारमा लगानी गर्ने संस्थागत लगानीकर्ता हुन् ।

अहिले बजारमा नविल इन्भेष्ट र सिद्धार्थ क्यापिटललगायतले सामूहिक कोष संचालनमा ल्याएका छन् । सर्वसाधारणमा सेयर जारी गर्ने कम्पनीले जारी सेयरको पाँच प्रतिशत अनिवार्य रुपमा सामूहिक लगानी कोषलाई छुट्याउनु पर्ने हुन्छ । जसका लागि सर्वसाधारणलाई जारी गर्नु अघिनै सामूहिक लगानी कोषले आवेदन दिएको हुनुपर्छ ।

यदि कम्पनी वित्तीय रुपमा मजबुत र फाइदाजनक देखेमा सामूहिक लगानी कोषले सेयरका  लागि आवेदन दिने गर्छन्,  अन्यथा आवेदन दिदैनन् । सामूहिक लगानी कोषले लगानी गरे वा नगरेको विषयमा सेयर जारी गर्दा कम्पनीले प्रकाशन गर्ने विवरण पत्र वा आह्वान पत्रबाट जानकारी लिन सकिन्छ ।

सामूहिक लगानी कोषले सेयर किनेको भए विवरणपत्रमा किनेको कित्ता उल्लेख गरिएको हुन्छ, नकिनेको भए उल्लेख गरिएको हुदैन । प्राथमिक निश्कासनमा नै कम्पनीको लगानी योग्यताको जाँच गर्ने अर्को आधार यसको साख निर्धारण (क्रेडिट रेटिंग) हो ।

तीन करोडभन्दा बढिको सेयरको सार्वजनिक निश्कासन तथा हकप्रद सेयर जारि गर्दा कम्पनीले अनिवार्य साख निर्धारण गर्नुपर्ने कानुनी व्यवस्था छ । साख निर्धारण कम्पनीको जोखिम मुल्यांकन गर्ने महत्वपूर्ण आधार हो । कम्पनीको वित्तीय अवस्था लगायतलाई हेरेर साख निर्धारण गरिन्छ । नेपालमा इक्रा नेपाल लिमिटेडले कम्पनीको साख निर्धारण गर्दै आएको छ र यो नै नेपालमा साख निर्धारण गर्ने एक मात्र कम्पनी हो ।

उच्च साख निर्धारणले ती कम्पनीको सेयरमा गरिने लगानीमा कम जोखिम र कमजोर साख निर्धारणले बढि जोखिम रहेको संकेत गर्छ । इक्राले कम्पनीका प्राथमिक निश्कासनलाई पाँच स्तरमा राख्ने गरेको छ । वित्तीय आधार मजबुत भएका कम्पनीलाई पहिलो स्तर दिने गरेको छ । औषतभन्दा बढिलाई दोस्रो, औषतलाई तेस्रो, औषत भन्दा कमजोरलाई चौथो र कमजोर वित्तीय अवस्थालाई पाँचौ स्तर दिने गरेको छ ।

यी स्तरलाई हेरेर कम्पनी बीचको तुलना र छनौट गर्न सकिन्छ तर सेयरको आवेदन फारम र आह्वान पत्रमा कम्पनीको स्तर उल्लेख गरेको पाइदैन । स्तर निर्धारणलाई आवेदन फारम र प्राथमिक निश्कासनका हरेक सुचनामा अनिवार्य उल्लेख गर्ने व्यवस्था गर्नुपर्छ । जसबाट साख निर्धारणको महत्व सर्वसाधारण समक्ष बुझाउन सकिन्छ ।

दोस्रो बजारबाट तुलनात्मक रुपमा  राम्रो वित्तीय अवस्था भएका कम्पनीको छनौट गर्दा तीनवटा तरिका अपनाउन सकिन्छ ।

पहिलोमा म्युचुअल फण्डले दोस्रो बजारमार्फत लगानी गरेका कम्पनीबाट आफ्नो बजेटले पुग्ने कम्पनीलाई छनौट गर्न सकिन्छ ।

म्युचुअल फण्ड संस्थागत र व्यवसायिक लगानीकर्ता भएकाले यसले कम्पनी छनौट गर्न अध्ययन अनुसन्धानमा ठुलो रकम र समय खर्च गरेको हुन्छ । यसैकारण म्युचुअल फण्डले राम्रो वित्तीय अवस्था भएका कम्पनीमा लगानी गरेको हुन्छ भन्ने मान्यताका आधारमा लगानीका लागि यी कम्पनीको छनौट गर्न सकिन्छ ।

म्युचुअल फण्डले प्रत्येक महिना समाप्त भएको पन्ध्रदिन भित्र आफुले लगानी गरेका कम्पनी र लगानी गरेको सेयर संख्या राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशित गर्छ ।

दोस्रो बजारमा गरिने लगानीका लागि नेपाल स्टक एक्सचेन्जले क बर्गमा बर्गीकरण गरेका कम्पनीमध्येबाट पनि कम्पनीको छनौट गर्न सकिन्छ ।

पुष मसान्तपछि स्टक एक्सचेन्जले सुचिकृत कम्पनीलाई क र ख बर्गमा बर्गिकरण गर्छ । चुक्ता पूजी कम्तिमा दुई करोड रुपैयाँ भएको,  साधारण सेयरधनीको संख्या कम्तिमा एक हजार  भएको, कम्तिमा तीन बर्षदेखि लगातार नाफामा रहेको,  सेयरको किताबी मूल्य चुक्ता मूल्यभन्दा कम नभएको र आर्थिक बर्ष समाप्त भएको छ महिनाभित्र उक्त आर्थिक बर्षको कारोबार तथा आय–व्यय विवरण पेश गरेको कम्पनीलाई स्टक एक्सचेन्जले ‘क बर्गमा वर्गीकृत गर्दै आएको छ ।

जसको सुचि नेप्सको वेवसाइटमा पनि हेर्न सकिन्छ । यी कम्पनी कम्तिमा पनि तीन बर्षदेखि नाफामा छन् र नेटवर्थ ऋणात्मक छैन भन्नेमा विश्वस्त हुन सकिन्छ ।

 यसैगरि लगानीयोग्य कम्पनीको छनौट गर्दा वाणिज्य बैकले सेयर धितो राखेर ऋण दिनका लागि छनौट गरेका कम्पनीलाई पनि आधार बनाउन सकिन्छ ।  सामान्यतया वाणिज्य बैकले सेयर धितो राख्दा वित्तीय रुपमा मजबुत र बजारमा  उच्च तरलता भएका कम्पनीको सेयर धितो राखेर ऋण दिने भएकाले त्यस्ता कम्पनीमा गरिएको लगानीमा केही हदसम्म जोखिम कम हुनसक्छ । तर विकास बैक र वित्त कम्पनीले सेयर धितोका रुपमा स्वीकार्ने कम्पनी वाणिज्य बैकले छनौट गर्ने भन्दा कमजोर वित्तीय अवस्था भएका पनि हुन सक्छन् ।

कानुनतः बैक तथा वित्तीय संस्थाले आफ्नो सेयर आफै धितो राखेर ऋण दिन पाइदैन । सेयर धितोका रुपमा स्वीकार्ने कम्पनीको सुचि ऋण दिने कतिपय बैकले आफ्नो वेव पेजमा राखेका हुन्छन् भने नभएकाको बैकबाट पनि बुझ्न सकिन्छ ।

बजारमा यसरी गरिने लगानी  प्राय एकतर्फि प्रकृतिको हुनेगर्छ । यसबाट खरिद सजिलै गर्न सकिन्छ तर विक्री गर्ने समयको पहिचाहन गर्न भने सकिदैन । जसका लागि थप अध्ययन र निरन्तर विश्लेषणको जरुरत पर्छ ।