BIZMANDU
www.bizmandu.com

धुलोमैलो सहेर १२ करोडको होटल खोल्ने राणा दाजुभाइ, बबरमहलमा खुल्यो हेरिटेज होटल

२०७३ मंसिर १४

काठमाडौं। राणा घरानाको सन्तान भनेपछि आम नेपालीले आफु सरहका ठान्दैनन्। आफुभन्दा केही उच्च नै सोच्छन्। राणा खलकका सदस्य पनि आफुलाई ´आम´ भन्दा ´विशिष्ट´ नै ठान्छन्। 'चाँदीको चम्चाले सुनको थालमा खाने' भन्ने बाक्यांश राणा, शाह लगायत उच्च घरानियालाई नै संकेत गरेर जन्मिएको हो। 

Tata
GBIME
Nepal Life

बिराट (दायाँ) र बरुण

बिराट शमसेर र बरुण शमशेर राणा भने यो परिभाषा भित्र अटाउँदैनन्। यी दाजुभाइलाई अपुग्दो केहि थिएन। बबरमहलमा जन्म। राणा खलकको सान। ठूलो बुवा गौरव शमशेर (पूर्व प्रधान सेनापति) देखि परिवारका धेरै सदस्य आर्मीमा थिए। उमेर पुगेपछि विराटलाई पनि आर्मी 'जोइन' गर्न रहर लाग्यो। सेकेन्ट लेफ्टिनेन्टको तयारी थाले। 


तर, आमाले 'पढाइलाई प्राथमिकता दिने की' भनेर सुझाइन्। उनले पनि सोचे र निर्णय लिए- 'गिभअप गर्छु र नयाँ सपना खोज्छु।' राणा परिवारमा जन्मे पनि आमाले सानै देखि उनलाई सरल जीवन प्रति प्रेरणा दिएकी थिइन्। त्यसैले उनले आमाको सुझाव नाघेर आर्मी छिर्न जिद्दि गरेनन्। बिराट अहिले पनि 'रियलाइज' गर्छन्- 'मेरा लागि आमाको त्यो सुझाव नै जीवनको टर्निङ प्वाइन्ट रह्यो।' 

आर्मीको सपना त्यागेपछि बिराटलाई लाग्न थाल्यो- 'अहिलेसम्म राणालाई चिनाउन भनिँदै आएको विशेषणबाट मुक्त हुने उपाय के होला?' उनले आफ्नो भाग्यरेखा आफैं लेख्ने अठोट गरे। अनि व्यवस्थापनमा स्नातक गर्न अमेरिका उडे। त्यसपछि भारत आएर एमबिए सिध्याए र त्यहिँको केपिएमजी अडिट फर्मको फाइनान्स डिपार्टमेन्टमा काम थाले। पारिवारिक पृष्ठभूमी हेर्दा नयाँ दिल्लीका सडक नापेर पसिना बगाउन उनलाई कुनै जरुरत थिएन। 
 


उनकै शब्दमा आफ्ना सपना पछ्याउन र जिन्दगी जिउने कला सिक्न उनी यो सब गर्दै थिए। यसरी १२ बर्ष भारतमा काम गरे उनले।भाइ बरुणको रुची सानै देखि चित्रकलामा थियो। उनले अमेरिकाबाट आर्किटेक्चरमा स्नातक गरे। नेपाल आएर केहि कम्पनीमा काम गर्न आवेदन दिए। सबैले यहाँ भन्दा भारतमा राम्रो अवसर हुने भन्दै उतै जान सुझाए। 
 

त्यहाँ गएर आर्किटेक्चमा फर्ममा काम समेत गरे। दाजु उतै भएको हुँदा बस्न त्यति असहज भएन। तर, तलब २० हजार रुपैयाँ मात्र। केहि पछि उनलाई लाग्यो- 'यसरी हुँदैन।' अनि बेलायत गए र मास्टर्स गरे। २०७० सालमा बरुणको पढाइ पुरा भयो। दाजु बिराट पनि त्यहि बेला 'अब आफैं केहि गर्छु' भनेर स्वदेश फर्किए। बरुण यसै गर्छु भन्ने निचोडमा थिएनन्। अर्काको 'अन्डर'मा बसेर जागिर खान भने उनी आजित भइ सकेका थिए।


दाजु बिराटले एक दिन बोलाए र १५ हजार पारिश्रमिक थमाइ दिए। अनि अह्राए- 'सिङ्गो नेपाल झल्किने एउटा हेरिटेज होटलको आर्किटेक्ट बनाउ।' दाजुको प्रस्ताव भाइका लागि 'सरप्राइज' नै थियो। तर, 'ड्रइङ'का पारखी वरुणले धेरै सोचेनन्। नक्सा बनाउँदै दाजुलाई देखाउन थाले। उनको आठौँ 'ड्रइङ' पास भयो। तयार भयो- बबरमहल भिलासको आर्किटेक्ट।


घरका दाजुभाइ अब बिजनेशमा पार्टनर हुने भए। बरुणको डिजाइनलाई मूर्त रुप दिन बिराटले लगानीको 'प्लानिङ' थाले। बैंक चाहरेर ऋण पक्का गरे।
 
राणा दाजुभाइलाई एउटा कुरा चाहिँ चिन्ता थिएन- जग्गा। बबरमहलमा हजुरबुवाकै पालाको जग्गा थियो। त्यहिँ हेरिटेज होटल खोल्ने सपनाका साथ बिराट बरुणलाई ड्रइङ कोर्न लगाइ आफु लगानी व्यवस्थापनमा जुटेका थिए। 


उनीहरुका हजुरबुवा आदित्य शमशेर बबर शमशेरका नाती हुन्। राणा शासनको अन्त्य पश्चात सरकारले बबरमहल अधिग्रहण गर्दा आदित्यले ८ रोपनी जमिन र १० लाख रुपैयाँ मुआब्जा स्वरुप पाएका थिए। कृषिमा रुची भएका आदित्यले त्यो जग्गा बेचेनन्। खेतीपाती गर्न काम लाग्छ भनेर साँचे। खेतीकै लागि भनेर बबरमहलमा थप १३ रोपनी जग्गा किने र २१ रोपनी पुर्याए। त्यस बाहेक नेपालगञ्ज, विराटनगर, वीरगन्ज लगायत तराइका शहरमा समेत जग्गा जोडे। 
 
हजुरबुवाले जोडेको कतिपय जग्गा बिराट, बरुणको पढाइ र आफ्नो ब्यापारको शिलशिलामा बुवा गौतम शमसेरले बिक्री गरे। तर, बबरमहलमा भएको जमिन चलाएनन्। बरु त्यहाँ 'विजनेश' मल बनाए। गौतम शमसेरले दुई दशक अघि बनाएको बबरमहल रिभिजिटेड अहिले हेरिटेज मलको रुपमा सञ्चालित छ। 


रिभिजिटेडसँगै जोडिएको खाली जमिनमा होटल खोल्ने सपना साँचेर नेपाल फर्किएका थिए बिराट। बरुणको 'ड्रइङ' र बैंकबाट ऋण पास गरि सकेपछि उनीहरु होटल निर्माणमा जुटे। पसल/पसल पुगेर आफैं इँटा, बालुवा, रड र सिमेन्ट अर्डर गरे। निर्माणस्थलमा धुलाम्मे हुँदै खटे। 
 
०००
राणाहरुको उत्थानको कथा मात्र सुने पनि पतन भने बिराट र बरुणले आफ्नै आँखाले देखेका थिए। उनीहरु त्यसमा अपवाद हुन चाहन्थे। 'त्यत्रो बर्ष शासन गरेको राणा खलकको पछिल्लो छ दशकमा यति तिब्र अवसान पत्यार लाग्दो छैन, बिराट भन्छन्- हामीले भने सानैबाट त्यो गल्ति दोहोर्याउनु हुन्न भन्ने शिक्षा लिएका थियौँ।' 

वंशजका आधारमा अढाइ सय बर्ष मुलुक हाँकेको शासकको 'इतिहास' यति चाँडै मेटिनुमा राणाकै सन्तानलाई दोषी देख्छन् उनी। 'राणाहरुको प्रभुत्व नेपालले मेटेको हैन, हाम्रो आफ्नै बुद्धिले सकिएको हो' उनी भन्छन्। सधैं 'कम्फर्ट'मा बस्ने र सामान्य मानिस भएर जिउन नसकेका कारणले यति छोटो समयमा राणाहरुको सम्पत्ति देखि प्रभाव सम्म शुन्यमा झरेको उनको बुझाइ छ। 


राणा खलकको पतन बिराट र बरुणका लागि भने प्रेरणा बन्यो। 'हिजो पितापुर्खा शासक थिए, काम गर्नु पर्दैनथ्यो, नोकर चाकरले घेरिएका हुन्थे' भन्ने सुनेकै आधारमा आज पनि राणा परिवारका युवामा खालीहात बस्नुपर्छ भन्ने सोच रहेको उनीहरुको अनुभव छ। 'आजको दिनमा सम्पन्न जीवन त्यसकै मात्र संभव छ जो मेहनत गर्छ, विराट भन्छन्- हिजोको दिनको शानलाई आज पौरखले मात्र शोधभर्ना गर्नसक्छ।'


आफु राणा घरानियाँ हुँ भन्ने दम्भ कहिल्यै नआएको बिराट सुनाउँछन्। 'हामी राणा जी हौँ भनेर कहिल्यै घमण्ड गरेनौँ, उनी भन्छन्- एउटा सामान्य जीवन वितायौँ, सानै उमेर देखि मेहनतको महत्व बुझ्न थालेका थियौँ।' हजुरबुवा र बुवाको परिश्रमबाट नै आफुले धेरै थोक सिकेको उनको भनाइ छ।
 
०००
जब उनीहरुले होटल निर्माण सुरु गरे मुलुक महाभूकम्पको चपेडामा पर्यो। त्यसबाट सम्हालिन नपाइ भारतले नाकाबन्दी लगायो। यी अनेक अवरोध झेल्दै उनीहरुले निर्माण चालु राखे। गएको दशैं लगत्तै सञ्चालमा आएको बबरमहल भिलासमा १३ कोठा छन्।    


१२ करोड रुपैयाँ लागतमा निर्मित होटल प्रवेश गर्ने जो कसैलाई भर्खरै बनेको नयाँ भवनमा पुगे जस्तो लाग्दैन। मुलुककै इतिहास बोकेको कुनै 'हेरिटेज' साइडमा छिरे जस्तो लाग्छ। होटललाई मुस्ताङी, नेवारी र राणाकालिन गरि तीन डिजाइनमा ढालिएको छ। झ्याल, ढोका देखि सम्पुर्ण इन्टेरियर साँच्चिकै भव्य र ऐतिहासिक लाग्छन्। होटल सञ्चालनमा आएको छोटो अविधमा बजारबाट आएको प्रतिकृयाले यी दाजुभाइलाई थप उत्साहित बनाएको छ।


नेपालको मूख्य समस्या नै 'आन्ट्रप्रेनियरशिप'को अभाव रहेको र आफुहरुले त्यसैलाई पूर्ति गर्न खोजेको राणा दाजुभाइ बताउँछन्। 'रोजगारी सिर्जना यो देशको पहिलो आवश्यकता हो, बिराट भन्छन्- तर पनि राजनीतिमा लोकप्रिय हुने होडमा उद्यम गर्ने र पैसा कमाउनेलाई अपराधी जस्तो व्यवहार गरिन्छ।'
 
यी सबै चुनौतिसँग संघर्ष गर्ने आत्मविश्वासका साथ आफुहरु मुलुक फर्किएको राणा दाजुभाइ बताउँछन्। 'यो देशमा नेपालीले पनि व्यवसाय गर्न नसक्ने हो भने अरु कसैले नगर्ने रहेछन्, बरुण भन्छन्-  हामीले त्यहि बुझेर हिम्मत गरेका हौँ।'