काठमाडौं। गएको साउन १२ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सुचक अहिलेसम्मकै उच्च बिन्दु १८८१.४५ अंक पुग्यो।
सेयर बजारमा कालो धन प्रवेश भएको हुनसक्ने आशंकामा नियामक निकाय धितोपत्र वोर्डले त्यसको छानबिन गर्न समिति बनायो। यसले लगानीकर्ता डराए। बजार ओरालो लाग्न थाल्यो।
माओवादी नेतृत्वमा नयाँ सरकार बनेलगत्तै वोर्डले छानबिन समिति भङ्ग गर्यो। त्यसपछि बजारमा सुधार आउन थाल्यो। भदौ मसान्तसम्म बजार १८१५.१७ अंकसम्म पुग्यो। त्यसयता बजारले ओरालो बाटो समात्न थालेको छ।
बैंक वित्तीय संस्था र बिमा कम्पनीहरुले आकर्षक लाभांस घोषणा गरिरहेको, सर्वसाधारण आकर्षित हुने गरेको हकप्रद जारी गरिरहेको पृष्ठभूमिमाबजार किन घटिरहेको छ त?
बजार किन घटिरहेको छ?, घट्नु पर्ने कारण के?, लगायतका बारेमा हामीले केही लगानीकर्ता र व्रोकरहरुसँग जान्ने प्रयास गरेका छौं।
दीपशिखा धितोपत्र कारोबार कम्पनीका प्रबन्ध निर्देशक दीपकराज ओलीले बजार अझै केही घट्ने संकेत गरेका छन् । उनले भने- बजारमा कम हुँदै गएको तरलता, ब्याजदरमा भएको वृद्धिले सेयर किन्नेभन्दा बेच्ने लगानीकर्ता वढि भेटिएका छन्।
उनले केही सर्तहरु पुरा भए बजार बढ्ने बताए। उनले भने- लगानीकर्ताले राम्रो लाभांस दिने कम्पनी छानेर लगानी गर्दै संस्थागत लगानीकर्ताले पनि बजामा लगानी बढाए बजार अगाडि वढ्न सक्छ।
पुँजी बृद्धि गर्नु पर्ने कारणले लाभांस र हकप्रद अधिकांस बैंक वित्तीय संस्थाले घोषणा गरिसकेका छन्। यसले केहीअघि सम्म लगानीकर्तालाई आकर्षित गर्यो। अहिले बुक क्लोजको समय धेरै संस्थाको आएको छ। यो बर्षको पुँजीको हिसावले अर्को बर्ष कुन संस्थाले कति दिन सक्छन् भन्ने मोटामोटी अनुमान भइसकेको छ। तुलनात्मक रुपमा यो बर्षको तुलनामा अर्को बर्ष लाभांस कम नै देखिन्छ।
सेयर बजार बढेका बेला राम्रो नाफा बुक गरिसकेकाहरु अहिले वैकल्पिक लगानीको क्षेत्र खोज्न थालिसकेका छन् । विगतमा सेयर बजार पिकमा पुगेका बेला घरजग्गा कारोबार र मूल्य उकालो लागेजस्तै यसपाली पनि त्यस्तै अवस्था देखिएको छ।
यसपाली अर्को एउटा नौलो प्रबृत्ति पनि देख्न पाइयो। सेयर बजारबाट राम्रो आम्दानी गरेका लगानीकर्ता, ब्रोकरहरुको फेसबुकमा थाइलेन्ड, मलेसिया, सिंगापुर घुमेको तस्बिर देख्न पाइयो। यसले बजारको नाफा खर्च भएको पुष्टि गर्छ।
नबिल म्युचल फण्डका प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुलीले बजारबाट केही पुँजी बाहिरिँदा तरलता अभाव भएर सेयर सुचक घटेको बताउँछ्।
उनले बजार थप करेक्सन हुने सम्भावना भने कम रहेको जानकारी दिए। प्राय कम्पनीले राम्रो मुनाफा आर्जन गरिरहेकाले बजारलाई धेरै असर नपर्ने भन्दै नियमित बढिरहेको बजारमा कहिँन कहिँ करेक्सन आउनु पर्ने देखिएकाले अहिले घटेको हुनसक्ने उनको तर्क छ।
बजारले निश्चित साईकल पुरा गरेको छ । साईकल पुरा गरेपछि निश्चित बिन्दुमा बजार करेक्सन हुन्छ अनि मात्र अर्को चरणमा बजार जान्छ। त्यही भएर बजार अझै केही समय झर्ने सम्भावना छ।
अहिले धेरै कम्पनीले मुनाफाबाट लाभांस र बोनस घोषणा गरिसकेका छन् र लगानीकर्ताहरुले पनि लाभांस बुक गरी पुँजी अन्यत्र लगानी गर्ने मनसाय बनाएको हुन सक्छ ।
मन्द भएको घर जग्गा कारोबार केहि समयदेखि चलाएमान हुँदै छ, भूकम्प, नाकाबन्दी, राजनीतिक अस्थिरताले साँघुरो भएको लगानीको दायरा पराकिलो बन्दै जाँदा केहि लगानीकर्ताहरुले नयाँ क्षेत्रमा लगानीको लागि सेयरबाट हिस्सा घटाएको हुन सक्ने लगानीकर्ता लोकहरी पौडेलको तर्क छ।
पौडेलका अनुसार राजनीतिक धेरै तरल नभएका कारण बजार घट्नु पर्ने कारण छैन। अर्का लगानीकर्ता ज्योती दाहालका अनुसार, अहिलेको मुल्यमा लगानी गर्न कुनै आपत्ति छैन तर बजारलाई व्यवस्थित गर्न नियमनकारी निकाएको भूमिका बढ्नु पर्छ।