BIZMANDU
www.bizmandu.com

आजबाट ५० को नयाँ नोट बजारमा, भेडाको चित्र हटाएर हिँउ चितुवा राखियो, यसरी प्रयोग गर्नुस नोट

२०७३ असोज १०

आजबाट ५० को नयाँ नोट बजारमा,  भेडाको चित्र हटाएर हिँउ चितुवा राखियो, यसरी प्रयोग गर्नुस नोट
आजबाट ५० को नयाँ नोट बजारमा, भेडाको चित्र हटाएर हिँउ चितुवा राखियो, यसरी प्रयोग गर्नुस नोट

Tata
GBIME
Nepal Life

काठमाडौं । नेपाल राष्ट्र बैंकले  मंगलबारबाट ५० दरका नयाँ नोट बजारमा पठाउने भएको छ । नयाँ नोटमा गभर्नरका रुपमा डा. चिरञ्जिबी नेपालले हस्ताक्षर हुने छ भने पुरानो नोटमा भएको चित्र हटाएर नयाँ राखिएको छ ।

बजारमा पठाउनका लागि सोमबार साँझ गभर्नरले मुद्रा व्यवस्थापक विभागलाई स्वीकृति दिएका छन् ।

गभर्नर नेपालले नयाँ नोटमा नेपालकै 'हिँउ चितुवा' को तस्बिर राखिएको जानकारी दिँदै पहिलो पटक नेपाली नोटमा प्रमाणित तस्बिर राखिएको बताए ।

पुरानो नोटमा हिमालतिर भेटिने भनिएको 'हिमाली भेडा' अर्थात थारको तस्बिर राखिएको थियो । 'थार प्रमाणित जनवार होइन । छ भनिएको छ तर  त्यो छ कि छैन कसैलाई थाहा छैन' नेपालले भने, 'यसपाली नेपालमै पाइने हिँउ चितुवा राखिएको छ ।'

गभर्नर नेपालले एक हजारवाहेक सबै नोटमा प्रमाणित जनवारहरु मात्र राखिएको जानकारी दिएका छन् । अहिलेसम्म १०० को नयाँ नोट मात्र बजार छ । मंगलबारबाट ५० को पनि थपिने छ ।

'भोलीबाट नै नयाँ नोटको वितरण सुरु हुने छ' विभागका कार्यकारी निर्देशक भुवन कँडेलले भने, 'नयाँ नोटको विशेषता भनेको हिँउ चितुवासँगै नयाँ गभर्नरको हस्ताक्षर हो ।'

उनले ठूला दरका नोटमा सेक्युरिटिज फिचरहरु राखिए पनि  पाँचदेखि ५० सम्मका नोटमा नथपिएको जानकारी दिए । 'लागतका कारणले पनि सानो दरका नोटहरु नक्कली निस्कँदैनन्' उनले भने, 'ठूला दरका भने हरेक पटकजसो हामीले सेक्युरिटिज फिचर थपिरहेका हुन्छौं । किनभने यसको  नक्कली निस्कने सम्भावना वढि हुन्छ ।'

पैसा कसरी प्रयोग गर्ने?
राष्ट्र बैंकले नयाँ नोट नीति अन्तर्गत सर्वसासधारणलाई पैसा प्रयोग गर्ने विधि पनि सिकाएको छ । उसले नौ वटा वुँदामा नयाँ नोट प्रयोग गर्ने विधि सिकाएको हो ।

'नयाँ नोट दसैँमा मात्र होइन हरेक समयमा उपलब्ध गराउने हाम्रो नीति हो' गभर्नरले भने, 'त्यसका लागि सर्वसाधारणले पनि पैसा प्रयोग गर्न जान्नु पर्छ ।' उनले पैसालाई जतन गरेर चलाए सँधैभरी नयाँ नोट बोक्न सकिने जानकारी दिए ।

राष्ट्र बैंकले पैसा प्रयोग गर्ने विधि यसरी सिकाएको छ ।

१.    मनि ब्याग वा परेसको प्रयोग गरी नोटको जतन गर्ने ।
२.    नोटलाई जथाभावी केरमेट नगर्ने ।
३.     नोटलई अविर, अक्षता, माटो, धमिरा, मुसा, आगो र पानीबाट जोगाउने ।
४.    नोटलाई कच्याककुच्चक नपार्ने, पोको तथा जमिनमा नगाड्ने ।
५.    नोटलाई जतन गर्ने विधि अरुलाई पनि सिकाउने ।
६.    पुजाआजा गर्दा अथवा कुनै काम गर्दा मैलिएको हातले नोट नछुने ।
७.    आवश्यकभन्दा वढि नोट बैंकमा जम्मा गर्ने ।
८.    बैंक चेक, एटिएम कार्ड प्रयोग गरी नगद कारोवार कम गर्ने ।
९.    कारोबारको क्रममा शंकास्पद नोटहरु पाइए राष्ट्र बैंक वा अन्य बैंक तथा वित्तीय संस्थामा दाखिला गराउने ।