BIZMANDU
www.bizmandu.com

सुपारी आयातमा विगतकै विकृति दोहोर्‍याउँदै सरकार, ‘नक्कली उद्योग पोस्न तोकिँदै कोटा’

२०८३ मंसिर १३

सुपारी आयातमा विगतकै विकृति दोहोर्‍याउँदै सरकार, ‘नक्कली उद्योग पोस्न तोकिँदै कोटा’
सुपारी आयातमा विगतकै विकृति दोहोर्‍याउँदै सरकार, ‘नक्कली उद्योग पोस्न तोकिँदै कोटा’

विराटनगर। नक्कली उद्योगका नाममा सुपारी आयात गर्नसक्ने गरी सरकारले पहिलेझैं चार वस्तुको आयातको कोटा तोक्ने प्रक्रिया अघि बढाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले औद्योगिक प्रयोजनका लागि सुपारी, मरिच, केराउ र छोकडाको आयात खोल्न लागेको हो।

GBIME
Tata

मन्त्री दीपककुमार साहले आइतबार एफएनसीसीआई कोशी प्रदेशद्वारा आयोजित अन्तर संवाद कार्यक्रममा चार वस्तुको औद्योगिक प्रयोजनका लागि आयात खुला गर्न लागेको बताए।

उद्योगीलाई उनले भने, ‘हामी अब कच्चा पदार्थका अभावमा उद्योगले अप्ठ्यारो अवस्था ब्यहोर्नु नपरोस् भनेर सुपारी, मरिच, केराउ र सुपारी चारै वस्तुको आयात खुला गर्न लाग्दैछौं। तपाईंहरूले अब कच्चा पदार्थ छैन भन्ने गुनासो गर्नुपर्दैन।’

मन्त्री शाहले औद्योगिक कच्चा पदार्थका अभावमा उद्योगले संकटको अवस्था भोगिरहेको उल्लेख गर्दै सहजीकरणका लागि आयात खोल्न लागिएको जिकिर गरे।

आयात खुलाका लागि आइतबार नै मन्त्रिपरिषदमा प्रस्ताव लगिएको उनले बताए। मन्त्रिपरिषदको निर्णय राजपत्रमा प्रकाशित भएपछि आयात खुला हुनेछ।

‘मैले आजै मन्त्रिपरिषदमा सिफारिस पठाएको छु। अब क्याबिनेटबाट त्यो पास भएर राजपत्रमा सूचना निस्कन्छ अनि मात्र आयात खुला हुन्छ’, उनले भने।

विगतमा भएको थियो दुरुपयोग

यस पटक पनि सुपारीका नक्कली उद्योग भएका व्यवसायीले सुपारीको कोटा लिने देखिएको छ। विगतमा व्यवसायीले सुपारी प्याकेजिङ र प्रशोधनका नाम मात्रका उद्योग दर्ता गरेर तिनै उद्योगका नाममा सुपारीको कोटा लिएका थिए।

उनीहरूले उद्योग दर्ताको प्रतिलिपि मात्र बुझाएर आयातको कोटा पाएका थिए। उद्योगमा कति रोजगार छन्, मेसिन कहाँबाट ल्याइएको छ, मासिक विद्युत् खपत कति छ लगायतका कुनै तथ्य नबुझी उद्योग विभाग र वाणिज्य विभागले व्यवसायीलाई नाम मात्रका उद्योगका नाममा सुपारीको कोटा दिएका थिए।

जेनजी आन्दोलनअघि केपी ओली सरकारका पालामा तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नाम मात्रका सुपारी उद्योगका नाममा १२ हजार टनको कोटा वितरण गरेका थिए। सुशीला कार्कीको सरकारका मन्त्री अनिलकुमार सिन्हाले पनि यस्ता उद्योगलाई आयातको कोटा दिएका थिए।

साह पनि सकारात्मक

विगतमा केपी ओली सरकारले दर्ताको कागजात मात्र भएका तर कारखाना नभएका उद्योगले पनि सुपारीको कोटा पाएका थिए। वर्तमान मन्त्री साह पनि यस्ता उद्योगप्रति नकारात्मक छैनन्। सबै उद्योगले आयात अनुमति पाउने संकेत उनले गरे।

मन्त्री साहले भने, ‘पहिले बच्चा त जन्मन दिनोस्। गलत जन्मिएछ भने त्यसको उपचार गरौंला। अनुमति नै दिन त किन रोक्नु र? पछि कारबाही गर्न सकिहालिन्छ।’

सरकारले उद्योगका नाममा आयात गर्न दिने भएपछि व्यवसायीले चारै वस्तु लुज वा बोरामा आयात गर्नेछन्। र, त्यसलाई स-साना आधा/एक किलोको प्याकेजिङमा बदलेर प्रशोधन र प्याकेजिङ गरेको भन्दै बजारमा लैजाने छन्। सुपारीमा अहिले पनि यही खेल भइरहेको छ।

कोटा होइन ओजिएल गर

व्यावसायिक क्षेत्रका अगुवाहरूले उद्योगका नाममा वस्तु आयात गरेर ट्रेडिङ गर्न दिनुभन्दा ट्रेडिङका लागि सिधै ओजिएल (खुला आयात प्रणाली) गरिदिनु उपयुक्त हुने सुझाव सरकारलाई दिएका छन्।

मोरङ व्यापार संघका पूर्व अध्यक्ष खेमचन्द जैनले दुई वर्षभन्दा बढी समय पुग्ने परिवर्त्य विदेशी मुद्राको सञ्चिति भएका बेला सरकारले यस्ता वस्तुको आयातमा नियन्त्रण गर्नु उचित नहुने दलिल गरे।

व्यवसायी जैनका अनुसार सरकारले २०७७ सालमा विदेशी मुद्राको सञ्चिति कम भएका बेला चारै वस्तुको आयातमा परिमाणात्मक बन्देज लगाएको थियो। तर यसको सन्दर्भ समाप्त भइसकेको र बन्देजको औचित्य नभएको उनले बताए।

जैनले भने, ‘एक किलो सुपारीबाट भ्याट, भन्सार महसुल र अन्तःशुल्क गरी किलोको २६० रुपैयाँ राजस्व आउँछ। त्यसै गरी मरिचको आयातमा भन्सार महसुल २० र अन्तःशुल्क १५ प्रतिशत सहित भ्याट समेत बुझाउनु पर्दा ५६ प्रतिशत राजस्व तिर्नुपर्छ। यस्तो राम्रो राजस्व दिने वस्तुलाई अहिले डलरको सञ्चिति उच्च भएका बेला व्यापारिक प्रयोजनका लागि पनि ओजिएलमा ल्याउन दिनुपर्छ।’

त्यसै गरी केराउको आयात महसुल ३० प्रतिशत छ। यसमा भ्याट छैन। छोकडाको आयात महसुल १० प्रतिशत र भ्याट छ। यसको संयुक्त असर २४.३ प्रतिशत हुन्छ।

अर्का आयातकर्ता हेमकरण दुगडले उद्योगका लागि आएका वस्तु पनि ट्रेडिङमै जाने गरेको भन्दै सरकारले चारै वस्तु सिधा ओजिएलमा ल्याउन दिनुपर्ने बताए।

व्यवसायी दुगडले यसअघि सरकारले उद्योगका नाममा आयात गर्न दिएको सुपारीको ट्रेडिङ नै भइरहेको जिकिर गरे।

‘हो, यस्तो भइरहेको छ। भोलि हुने पनि यही हो। अनि उद्योगका नाममा ल्याउन दिनुको कुनै अर्थ छैन। त्यसैले उद्योगी वा व्यापारी दुवैले खुला आयात प्रणाली (ओजिएल) अन्तर्गत चारै वस्तु ल्याउन पाउनुपर्छ। अनि मात्र व्यापार अनुशासित र नियमित हुन्छ’, दुगडको भनाइ छ।