काठमाडौं। नेपाल प्रहरीले अनुसन्धानका क्रममा संकलन गरिएका गोप्य सूचना, विवरण तथा प्रमाण सार्वजनिक नगर्न सेवामा रहेका र अवकाशप्राप्त कर्मचारीलाई निर्देशन दिएको छ।
अनुसन्धानसँग सम्बन्धित सूचना अनधिकृत रूपमा सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेमा संलग्न व्यक्तिमाथि विभागीय तथा कानुनी कारबाहीको चेतावनी पनि प्रहरीले दिएको छ।
प्रहरी प्रवक्ता अविनारायण काफ्लेद्वारा जारी विज्ञप्तिमा गोप्य सूचना, लिखत, प्रमाण तथा विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबिना कुनै व्यक्ति वा सञ्चार माध्यमलाई उपलब्ध गराउने, सार्वजनिक गर्ने कार्यमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न नहुन सचेत गराइएको छ।
पछिल्लो समय अनुसन्धानको दायरामा रहेका विषयसँग सम्बन्धित गोप्य सूचना तथा विवरण अनधिकृत रूपमा चुहावट भइरहेकोमा ध्यानाकर्षण भएको जनाइएको छ।
यस्ता कसुरमा संलग्न व्यक्तिलाई प्रहरी नियमावली, २०७१ तथा मुलुकी अपराध संहिता, २०७४ अनुसार कारबाहीको चेतावनी पनि दिइएको छ।
