BIZMANDU
www.bizmandu.com

दूधको मूल्य बढाउने नयाँ मोडलको सूचनाले हलचल, फ्याटका आधारमा मात्रै बढाउँदा हुनेछ यस्तो जोखिम

२०८३ मंसिर १३

दूधको मूल्य बढाउने नयाँ मोडलको सूचनाले हलचल, फ्याटका आधारमा मात्रै बढाउँदा हुनेछ यस्तो जोखिम
दूधको मूल्य बढाउने नयाँ मोडलको सूचनाले हलचल, फ्याटका आधारमा मात्रै बढाउँदा हुनेछ यस्तो जोखिम

काठमाडौं। दुग्ध विकास बोर्डले दूधको मूल्य लिटरमा १० रुपैयाँ बढाउन केही दिनअघि कृषि मन्त्रालयमा प्रस्ताव गर्‍यो।

GBIME
Tata

प्रति लिटर किसानले थप ७ रुपैयाँ र आफूहरुले ३ रुपैयाँ पाउने गरी प्रस्ताव मन्त्रालयमा पुगेपछि ढुक्क भएका उद्योगी(दुग्ध प्रशोधन उद्योग)का लागि एकाएक आएको एउटा सूचनाले हलचल गराएको छ।

दुग्ध उत्पादक किसान(दुग्ध सहकारी आवद्ध संस्था) र निजी डेरीले पाएको सूचना अनुसार अहिलेको संरचना विपरीत मूल्य बढाउने लागिएको छ। अहिलेसम्म दूधको मूल्य बढाउँदा फ्याट र एसएनफलाई क्रमश: ६० प्रतिशत र ४० प्रतिशत वेटेज मान्ने गरिएकामा यो पटक फ्याटको मात्रै मूल्य बढाउन खोजिएपछि किसानदेखि उद्योगीसम्म हलचल भएका हुन्।

फ्याटको मात्रै मूल्य बढाउँदा भैंसीपालक किसानले फाइदा पाउँछन्। तर, गाईपालक किसानले कम मूल्य पाउँछन्। भैंसीको दूधमा फ्याट धेरै र एसएनएफ कम हुन्छ। गाईको दूधमा भने फ्याट कम र एसएनफ बढी हुन्छ।

उदाहरणका लागि भैंसीको दूधमा फ्याट औसतमा ६ प्रतिशत हुन्छ भने गाईको दूधमा ४ प्रतिशत मात्रै हुन्छ। स्रोतका अनुसार दुग्ध विकास संस्थानको प्रस्तावलाई आधार मान्दै प्रति फ्याट १.७५ रुपैयाँ बढाउन प्रस्ताव गरिएको छ।

अहिले फ्याटको मूल्य ७.१५ रुपैयाँ छ। फ्याटका आधारमा मूल्य बढाउने वित्तिकै भैंसीपालक किसानले लिटरमै ११ रुपैयाँ बढी पैसा पाउने छन्। गाईपालकले भने थप ७ रुपैयाँ भन्दा पाउने छैनन्। स्रोतका अनुसार एसएनएफको ४.६६ रुपैयाँलाई यथावत राख्न खोजिएको छ। यसले गाईपालक किसान मारमा पर्नेछन्।

केन्द्रीय तथ्यांक विभागका अनुसार मुलकभर ५१ लाख ४१ हजार ३९९ गाई छन् भने ३२ लाख ९४ हजार ७२३ भैंसी छन्। गाईले प्रति वेत औसतमा ३०० दिन र भैंसीले जम्मा १८० दिन दूध दिन्छन्।

‘अहिले जसरी दूधको मूल्य बढाउने भनेर सूचना आएको छ, यो भनेको दूग्ध क्षेत्रलाई तहसनहस बनाउने योजना हो,’ नेपालगञ्जमा रहेको एसके डेरी उद्योगका संचालक सरोज पाण्डेले बिजमाण्डूसँग भने, ‘हामी दूध र दुग्धजन्य पदार्थ आयातमा प्रतिबन्ध लगाएर आत्मनिर्भरताको बाटोमा गइरहेका थियौं। केही आयातकर्ता आयातमा प्रतिबन्ध हटाउने चलखेलमा लागेका छन्। उनीहरुकै चलखेलमा फ्याटमा आधारमा मूल्य बढाउने प्रस्ताव अगाडि बढेको सूचना पाएका छौं।’

उनका अनुसार प्रस्ताव निर्णय भएमा गाईपालक किसान लागत उठ्न नसकेर पलायन हुने जोखिम हुन्छ। ‘राज्य संचालकले हाम्रो पशुपालनको अवस्था र त्यसको प्रवृत्ति बुझ्न आवश्यक छ। त्यो नबुझी निर्णय लिइयो भने यसले समस्या ल्याउँछ,’ पाण्डेले भने, ‘केही व्यवसायीले आफ्नो स्वार्थका लागि चलखेल गरे पनि सरकारले विदेशका पनि उदाहरण हेरेर विवेक प्रयोग गर्छ भन्ने विश्वास छ।’

नेपाल डेरी उद्योग संघका पूर्वअध्यक्ष अरनिको राजभण्डारीले गाई पालक किसान पलायन हुने गरी मूल्य वृद्धिको निर्णय भएको अवस्थामा दुग्ध क्षेत्रमा संकट आउने बताए। ‘हामी वर्षौंदेखि यो व्यवसायमा छौं। किसानका समस्या पनि देखेका छौं। उनीहरु कसरी भैंसीबाट व्यावसायिक रुपमा गाई पालनतिर सिफ्ट भए भन्ने पनि देखेका छौं। भैसी पाल्नेले धेरै पैसा पाउँदा हामी पनि खुशी नै हुन्छौं,’ उनले भने, ‘तर गाईपालकप्रति पनि त अन्याय हुन दिनु भएन नि।’

उननका अनुसार फ्याटका आधारमा मात्रै दूधको भाउ बढाउँदा घिउको मूल्य आकासिन्छ। किलोकै करिब डेढ सय सय रुपैयाँ बढ्छ। बजारमा घिउको मूल्य किलोको १६०० रुपैयाँ पुग्छ।

तर, भारतमा अमूल घिउको मूल्य ६८० भारु (१०८८ नेपाली रुपैयाँ) छ। नेपाल र भारतमा किलोमै ५ सय रुपैयाँको फरक पर्दा तस्करी बढेर उल्टै स्वदेशी उत्पादनको बजार गुम्ने पाण्डे बताउँछन्।

‘यसले अर्को जोखिम पनि देखिन्छ। नेपाली बजारमा सर्वाधिक बिक्री हुने स्ट्यान्डर्ड पास्चराइज्ड दूधमा ३ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनएफ कायम गरिन्छ। किसानबाट महँगो दरमा फ्याट किनेर तीन प्रतिशतमाा झार्दा निस्किने क्रिम तथा बटर भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेर उद्योगमा थुप्रिनेछ,’ उनले भने, ‘यसले उद्योगले भुक्तानी दिन नसक्ने अवस्था आइ देश फेरि मिल्क होलिडेको दुस्चक्रमा फस्नेछ।’

पाण्डेका अनुसार फ्याट बढाउने लोभमा हरियो घाँस, प्रोटिनयुक्त दाना र खनिज मिश्रण घटाएर केवल सुक्खा पराल र तेलजन्य पिना खुवाउँदा त्यसले दूधमा समेत समस्या देखिन सक्छ।

‘भारतमा संकलित करिब ३० प्रतिशत दूधमा वनस्पति घिउ, रिफाइन्ड तेल मिसाउने प्रवृत्ति छ। त्यो यहाँ पनि देखिन सक्छ,’ उनले भने, ‘बालबालिका, गर्भवती, सुत्केरी तथा वृद्धवृद्धाको शारीरिक विकासका लागि आवश्यक पर्ने प्रोटिन र खनिज(एसएनएफ)मा छेडखानी हुनसक्ने जोखिम पनि देखेका छौं।’