काठमाडौं। दशौँ राष्ट्रिय खेलकुदअन्तर्गत टेनिसको पुरुष डबल्समा गण्डकीका प्रदीप खड्का र करन बहादुर थापाको जोडीले आइतबार स्वर्ण जितेको छ।
बर्दियाको गुलेरियामा भएको फाइनलमा प्रदीप र करनको जोडीले नेपाल आर्मीका प्रणव खनाल र राजवीर प्रधानको जोडीलाई ६-७, ६-४ र १२-१० ले पराजित गरेको हो। बागमतीका निसान श्रेष्ठ र प्रितम परियार तथा पुलिसका निहालजंगबहादुर थापा र दर्शिल श्रेष्ठको जोडी तेश्रो भए।
मिक्स डबल्समा आर्मीका राजवीर प्रधान र शिवाली गुरुङको जोडी च्याम्पियन बन्यो। राजवीर र शिभालीको जोडीले आर्मीका प्रणव खनाल र स्वस्तिका विष्टको जोडीलाई ६-२, ५-७ र १०-८ को सेटमा हरायो। बागमतीका प्रकृति श्रेष्ठ र निसान श्रेष्ठ तथा गण्डकीका शक्ति शर्मा र आहाना शेरचनको जोडी तेश्रो बन्यो।
५ स्पर्धा समावेश टेनिसमा योसहित ३ स्वर्णको टुंगो लागेको छ। शनिबार महिला डबल्समा आर्मीका शिवाली गुरुङ र स्वस्तिका विष्टको जोडीले स्वर्ण जितेका थिए। टेनिसको अन्तिम दिन २ फाइनल हुनेछ।
महिला सिंगल्समा आर्मीका शिभाली गुरुङ र स्वस्तिका विष्ट तथा पुरुष सिंगल्समा गण्डकीका प्रदिप खड्का र करनबहादुर थापा फाइनलमा भिड्ने छन्।
टेनिसमा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम तथा आर्मी, पुलिस, एपीएफ र एनआरएनका ३८ पुरुष र १३ महिला गरी ५१ खेलाडी सहभागी छन्।