काठमाडौं। सार्वजनिक सवारीसाधन दुर्घटनाको जोखिम न्यूनीकरणका लागि समग्र यातायात प्रणालीको पुनरवलोकन गर्नुपर्ने निष्कर्ष निकालिएको छ।
सडकको भौतिक अवस्था, सवारीसाधनको प्राविधिक क्षमता, यात्रुको चाप, चालकको कार्य समय, यातायात व्यवसायीको व्यवस्थापन र नियमनकारी निकायको भूमिकासमेत दुर्घटना जोखिमसँग जोडिने भन्दै समग्र यातायात प्रणालीको पुनरवलोकन गर्नुपर्ने निष्कर्ष निकालिएको हो।
भीमफेदीमा कात्तिक २६ गते भएको विद्युतीय गाडी दुर्घटना सम्बन्धमा छानबिन गर्न मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलको संयोजकत्वमा गठित समितिले दुर्घटनाको जोखिम न्यूनीकरणका लागि चालक, सवारीधनी, यातायात व्यवसायी, सडक निर्माण तथा मर्मतसम्भार गर्ने निकाय, ट्राफिक प्रहरी र यातायात व्यवस्था कार्यालय सबैको जिम्मेवारी स्पष्ट गर्नुपर्ने औँल्याएको छ।
ट्राफिक प्रहरी र इन्जिनियर समेत संलग्न समितिले सरोकारवालाहरुसँग समेत छलफल गरी तयार पारेको प्रतिवेदनमा दुर्घटनामा सडकको डिजाइनमा सुधारदेखि रट परमिट र टाइम कार्ड प्रणालीको प्रभावकारी अनुगमन लगायत सुझाव दिइएको छ।
क्षमताभन्दा बढी यात्रु राख्नु जोखिमपूर्ण
समितिले सार्वजनिक सवारीसाधनमा स्वीकृत क्षमताभन्दा बढी यात्रु राख्ने अवस्थालाई सडक सुरक्षाको महत्त्वपूर्ण चुनौतीका रूपमा लिएको छ। अध्ययनका क्रममा दुर्घटनाग्रस्त एउटा सवारीसाधनको ब्लुबुकमा चालकबाहेक ११ जना यात्रु बोक्ने क्षमता स्वीकृत रहेकामा त्यो गाडीमा चालकसहित २० जना सवार रहेको पाइएको थियो।

क्षमताभन्दा बढी यात्रु राख्दा सवारीसाधनको कुल भार, सन्तुलन, ब्रेकिङ क्षमता र यात्रुको सुरक्षामा असर पर्ने समितिको भनाइ छ। दुर्घटनाको प्रमुख कारण अत्यधिक भार नै भएको निष्कर्ष भने समितिको होइन।
समितिले सार्वजनिक यातायातमा यात्रु संख्या नियन्त्रणका लागि प्रभावकारी अनुगमन गर्न र तोकिएको क्षमताभन्दा बढी यात्रु राख्ने चालक तथा त्यसमा संलग्न जिम्मेवार पक्षको उत्तरदायित्व कानुनअनुसार निर्धारण गर्न सुझाव दिएको छ।
चालकको कार्य समयबारे मापदण्ड आवश्यक
सार्वजनिक सवारीसाधन दुर्घटनाको जोखिम न्यूनीकरणका लागि चालकको कार्य समय, आराम र व्यावसायिक दक्षतामा विशेष ध्यान दिनुपर्ने समितिको निष्कर्ष छ।
एउटै चालकले दिनमा कति समयसम्म सवारी चलाउन पाउने, एउटै रुटमा कति पटक आवतजावत गर्न पाउने र लामो दूरीको यात्रामा चालकलाई कति समय आराम दिनुपर्ने भन्ने विषयमा स्पष्ट मापदण्ड बनाउनुपर्ने सुझाव छ।
समितिले टाइम कार्ड प्रणालीलाई मात्र दुर्घटना नियन्त्रणको पर्याप्त उपाय मानेको छैन। टाइम कार्डले निश्चित स्थानबीचको यात्रा समय अनुगमन गर्न सहयोग गरे पनि चालकको कार्यअवधि, आराम, सवारीको प्राविधिक अवस्था र यात्रु क्षमताको पालना सुनिश्चित गर्न नसक्ने उल्लेख गरेको छ।
सडक सुरक्षा अनुसन्धानकर्ता डा. पुष्पराज पन्तले चालकको पेसा संवेदनशील भएकाले दुर्घटनामा उनीहरुलाई मात्रै दोषीका रुपमा हेर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले चालकलाई नियमित तालिम, उचित पारिश्रमिक र प्रोत्साहनको आवश्यकता औंल्याएका छन्।
प्राविधिक परीक्षण र फिटनेसमा कडाइ
समितिले सार्वजनिक सवारीसाधनको प्राविधिक अवस्था दुर्घटना न्यूनीकरणको अर्को महत्त्वपूर्ण पक्ष मानेको छ। सवारीसाधनको ब्रेक प्रणाली, स्टेयरिङ, टायर, सस्पेन्सन, इन्जिन वा मोटर, ब्याट्री तथा विद्युतीय नियन्त्रण प्रणाली नियमित रूपमा परीक्षण गर्नुपर्ने समितिको सुझाव छ।
सवारीसाधनको नियमित मर्मत सम्भार, प्राविधिक जाँचपास, फिटनेस प्रमाणपत्र र निर्माता कम्पनीले निर्धारण गरेका सञ्चालन मापदण्ड पालना भए/नभएको विषयमा प्रभावकारी अनुगमन हुनुपर्ने समितिको भनाइ छ।
विद्युतीय सवारीसाधन भएकै कारण प्राविधिक खराबीलाई दुर्घटनाको कारण मान्न नसकिने तर सार्वजनिक यातायातका रूपमा प्रयोग हुने सबै प्रकृतिका सवारीसाधनको प्राविधिक परीक्षण र फिटनेस अनुगमन प्रभावकारी बनाउनुपर्ने समितिले बताएको छ।
पहाडी सडकमा विद्युतीय सवारी कति उपयुक्त?
समितिले विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै जाँदा यसको भौगोलिक उपयुक्तता र प्राविधिक क्षमताबारे विस्तृत अध्ययन गर्न सुझाव दिएको छ।
विशेषगरी लामो दूरी, उकालो ओरालो, घुम्ती र पहाडी सडकमा सार्वजनिक यातायातका रूपमा विद्युतीय सवारीसाधन सञ्चालन गर्दा त्यसको मोटर क्षमता, ब्याट्री व्यवस्थापन, ब्रेकिङ प्रणाली र भारवहन क्षमताले सडकको प्रकृतिसँग मेल खानुपर्ने समितिको प्रतिवेदनमा उल्लेख छ।
जापानमा लामो समयदेखि सवारी व्यवसाय सञ्चालनको अनुभव संगालेका राजु भट्टराईले विद्युतीय सवारीसाधनको उपयुक्तता, चार्जिङ पूर्वाधार, चालकको तालिम र यात्रु सुरक्षामा ध्यान दिनुपर्ने सुझाव दिएका छन्। उनले विद्युतीय सवारीसाधन छोटो दूरी तथा निजी प्रयोजनका लागि बढी उपयुक्त हुन सक्ने र लामो दूरी तथा कठिन भौगोलिक अवस्थामा सार्वजनिक यातायातका रूपमा प्रयोग गर्नुअघि थप प्राविधिक अध्ययन आवश्यक पर्ने धारणा राखेका छन्।

समितिले भने विद्युतीय सवारीसाधनलाई समग्र रूपमा अनुपयुक्त भन्नुभन्दा यसको प्रयोगको क्षेत्र, क्षमता, प्राविधिक मापदण्ड र भौगोलिक अवस्थाका आधारमा सञ्चालन अनुमति तथा मापदण्ड निर्धारण गर्नुपर्ने उल्लेख गरेको छ।
विद्युतीय सवारीसाधनका चालकलाई ब्रेकिङ प्रणाली, ब्याट्री व्यवस्थापन, भारवहन क्षमता, चेतावनी संकेत र आपत्कालीन अवस्थाको व्यवस्थापनबारे व्यावहारिक तालिम दिनुपर्ने समितिको सुझाव छ।
सडकको निर्माणमा सुधार
सार्वजनिक सवारीसाधन दुर्घटनाको जोखिम सडकको भौतिक अवस्था र सुरक्षा पूर्वाधारसँग पनि जोडिने समितिको विश्लेषण छ।
विशेषगरी पहाडी सडक, साँघुरा मार्ग, घुम्ती, भिरालो भूभाग र कमजोर सडक किनार भएका स्थानमा सवारीसाधन अनियन्त्रित भएमा ठूलो मानवीय क्षति हुन सक्ने भन्दै समितिले सडक निर्माण गर्दा नै वैज्ञानिक डिजाइन, भौगोलिक अवस्था र सवारी चापलाई ध्यान दिन सुझाएको छ। निर्माण भइसकेका सडकमा पनि नियमित मर्मत सम्भार, स्तरोन्नति र सुरक्षा अडिट गर्नुपर्ने सुझाव छ।
पूर्वाधार विज्ञ तुलसी सिटौलाले वैज्ञानिक सडक पूर्वाधार निर्माण, जोखिमयुक्त सडकखण्डको पहिचान, नियमित मर्मत सम्भार तथा ‘रोड सेफ्टी अडिट’ र ‘रोड सेफ्टी टुल’ प्रयोगमा जोड दिएका छन्।
समितिले सडकका जोखिमयुक्त घुम्ती र भिरालो क्षेत्रमा क्र्यास बेरियर, चेतावनी बोर्ड, परावर्तक चिह्न र सडक संकेत थप गर्न तथा रातिको समयमा दृश्यता बढाउन सडक बत्ती र परावर्तक सामग्रीको व्यवस्था गर्न सुझाव दिएको छ। सडकको ढलान, चौडाइ, सतह र घुम्तीको बनावटले दुर्घटनाको जोखिममा पार्ने प्रभावसमेत अध्ययन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।
सार्वजनिक यातायातको रुट व्यवस्थित
समितिले सार्वजनिक सवारीसाधन सञ्चालनमा रुट परमिट र अनुमति मात्र पर्याप्त नहुने जनाएको छ। कुन प्रकृतिको सडकमा कस्तो सवारीसाधन सञ्चालन गर्न दिने, एउटै रुटमा एक दिनमा कति पटक सवारी सञ्चालन गर्न पाउने र यात्रु संकलन तथा बुकिङ प्रक्रियालाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा स्पष्ट मापदण्ड आवश्यक रहेको समितिले उल्लेख गरेको छ।
यातायात व्यवसायी, सवारीधनी र नियमनकारी निकायको जिम्मेवारी स्पष्ट गरी सार्वजनिक सवारीसाधनको नियमित अनुगमन गर्न तथा यसका लागि प्रविधिमा आधारित प्रणाली विकास गरी सवारीको गति, रुट, यात्रु संख्या र चालकको कार्य समयको विवरण व्यवस्थित गर्न सुझाव दिइएको छ।

पूर्वाधार विज्ञ सरोज प्रधानले चालकको कार्य समय, क्षमताभन्दा बढी भारवहन, गति नियन्त्रण, सडक संकेत तथा सुरक्षा पूर्वाधार र प्रविधिमा आधारित अनुगमन प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने सुझाव दिएका छन्।
विभिन्न समयमा गठन भएका कार्यदल तथा समितिका प्रतिवेदन र तिनले दिएका सुझाव कार्यान्वयन भए/नभएको समेत अध्ययन गर्न तथा जोखिम पहिचान भएका सडकखण्डमा आवश्यक सुरक्षा संरचना र सुधारका काम समयमै कार्यान्वयन भए/नभएको विषयमा सम्बन्धित निकायलाई जवाफदेही बनाउन सुझाव दिइएको छ।
प्रतिनिधि सभाको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले सडक सुरक्षा सम्बन्धी कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन तथा सडक सुरक्षा परिषद्को स्थापना र संस्थागत सुदृढीकरण गर्नुपर्ने आवश्यकता औँल्याए।
वैकल्पिक यातायात पूर्वाधार विकास
समितिले सडक यातायातमाथिको निर्भरता घटाउन वैकल्पिक यातायात पूर्वाधार विकासको सम्भाव्यता अध्ययन गर्न सुझाव दिएको छ।
काठमाडौं-हेटौंडा आवागमनका लागि रोपवे सञ्चालनको सम्भाव्यता अध्ययन गर्न सुझाव दिएको समितिले रोपवे सञ्चालनमा आए यात्रु तथा मालसामान ढुवानीमा सडक यातायातमाथिको निर्भरता कम हुन सक्ने र भारी मालवाहक सवारीसाधनको सडक प्रयोग घटाउन सकिने बताएको छ।

त्यस्तै, काठमाडौं-तराई द्रुतमार्ग र सिस्नेरी-पोगटे-भीमफेदी सडकलाई वैकल्पिक मार्गका रूपमा विकास गर्न सकिने समितिको भनाइ छ।
समितिले सडकको चाप व्यवस्थापन, दुर्घटनाको जोखिम न्यूनीकरण र सार्वजनिक यातायातलाई सुरक्षित बनाउन दीर्घकालीन रूपमा वैकल्पिक यातायात प्रणाली आवश्यक रहेको निष्कर्ष निकालेको छ।