BIZMANDU
www.bizmandu.com

मलेसिया कामदार अनियमिततामा डीपीलाई घेर्ने रणनीति यसरी बनाइएको थियो, रवि बने आगो

२०८३ मंसिर १३

मलेसिया कामदार अनियमिततामा डीपीलाई घेर्ने रणनीति यसरी बनाइएको थियो, रवि बने आगो
मलेसिया कामदार अनियमिततामा डीपीलाई घेर्ने रणनीति यसरी बनाइएको थियो, रवि बने आगो

काठमाडौं। केही महिनाअघि तत्कालीन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई मलेसियाको रोजगारीमा कामदार पठाउँदा अनियमितता भएको विषयमा अनुसन्धान अघि बढाउन भनियो।

GBIME
Tata

प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमार्फत घुमाउरो पारामा सभामुख डोलप्रसाद अर्याललाई समेत अनुसन्धानको राडारमा ल्याउन भनियो।

बालेनको सचिवालयमार्फत आएको दबाबबारे कार्कीले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई ब्रिफिङ गरे। यसलाई लामिछानेले बालेनको सचिवालयले खेल्न थालेको र राजनीतिक प्रतिशोध साँध्न खोजेको नियतका रुपमा लिए।

बालेन र रविबीचको सम्बन्धमा ठूलो दरार आउनुमा सभामुख अर्यालमाथि अनुसन्धान गर्न दबाब दिइएको यही विषय प्रमुख रहेको स्रोतले बतायो।

कार्कीले रविलाई ब्रिफिङ गरेपछि मलेसिया रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणका नाममा भएको अनियमिततामा अनुसन्धानको विषय अगाडि बढेन। कार्कीले अनुसन्धानका लागि अगाडि बढ्न आधार खासै देखेका थिएनन्। साथै कामदारसँग पैसा उठाउने विषय मलेसिया सरकारले अरु मुलुकमा पनि कार्यान्वयन गरेको थियो।

मलेसियाले नेपाल मात्रै होइन, कामदार लिने २१ मुलुकमध्ये धेरै देशमा बायोमेडिकल र स्वास्थ्य परीक्षण कार्यान्वयनमा ल्याएको छ। नेपाली व्यवसायीले भन्दा पनि रोजगारदाता देशले नै कार्यान्वयनमा ल्याएकाले ठगी भनेर अनुसन्धान टुंगोमा पुर्‍याउन नसकिने भन्दै कार्की पन्छिए।

२०७५ कात्तिक १२ गते भएको नेपाल-मलेसया द्विपक्षीय श्रम समझदारीमा हवाई टिकट, स्वास्थ्य परीक्षण, भिसा शुल्क, म्यानपावरको लागत शुल्क सबै मलेसियाको रोजगारदाताले व्यहोर्ने उल्लेख थियो।

त्यो सम्झौतामा नेपालका तर्फबाट तात्कालीन श्रममन्त्री गोकर्ण विष्टले हस्ताक्षर गरेका थिए। विष्टले नै कामदारमाथि स्वास्थ्य परीक्षण लगायतको आर्थिक भार परेको भन्दै २०७६ जेठ २ गतेदेखि मलेसिया पठाउन रोकेका थिए।

सम्झौतामा मलेसियाका रोजगारदाताले नेपालमा लागेको स्वास्थ्य परीक्षण लगायत खर्च पहिलो महिनाको तलबमा दिनुपर्ने उल्लेख थियो। यहाँ स्वास्थ्य परीक्षण गरेर उठाइएको पैसाको विषयमा मलेसियाको दूतावासले पत्राचार समेत गरेको थियो।

यी आधारकै कारण कार्कीले मलेसिया कामदार ठगीको विषयमा अनुसन्धान गर्न कार्की रोकिएको स्रोतले बतायो।

कार्कीले अनुसन्धान अगाडि नबढाउने छाँट देखाएपछि बालेनकै सचिवालयले अनुसन्धान अगाडि बढायो। बालेनको सचिवालयका एक सदस्यले स्वास्थ्य परीक्षण गर्ने एक कम्पनीका संचालकसँग मिलेर मलेसिया कामदार पठाउने विषयमा अनुसन्धान अघि बढाएको स्रोतले बतायो।

त्यति मात्रै होइन प्रधानमन्त्री कार्यालयमा अनुसन्धानको जिम्मा पाएकै बालेनको सचिवालयका व्यक्तिले सीआइबीदेखि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका कर्मचारीलाई बोलाएर छलफल गरेको स्रोतको भनाइ छ।

‘मलेसिया कामदार ठगीको अनुसन्धान प्रधानमन्त्री कार्यालयकै प्रतिनिधि, एक स्वास्थ्य संस्थाका संचालक र सीआइबीका एक प्रहरी अधिकृतको प्रत्यक्ष संलग्नतामा अघि बढेको देखिन्छ,’ प्रहरीकै एक उच्च अधिकारीले सभामुख अर्याललाई केही समय अगाडि ब्रिफ्रिङ गर्दै भने।

कार्कीले आफूलाई गरेको ब्रिफ्रिङ र प्रहरीका उच्च अधिकारीले सभामुख अर्याललाई गरेको ब्रिफ्रिङपछि रवि मलेसिया कामदार ठगीको विषयलाई राजनीतिक हतियार बनाउन खोजिएकामा स्पस्ट भए।

कामदारसँग स्वास्थ्य परीक्षणबापत उठाइएको रकम मलेसिया पठाउन संलग्न रहेको भन्दै सीआइबीले पूर्व दुई मन्त्री, पूर्वसचिव लगायतलाई पक्राउ गरेपछि डीपीले यो विषयमा विशेष चासो राखेर विभिन्न सरोकारवालासँग कुराकानी गरे। कुराकानीका क्रममा उनले आफ्नो पालामा मलेसियामा पैसा पठाएको विषयमा स्पस्ट पार्दै भने- रकम पठाउनका लागि मैले हस्ताक्षर गरेको छैन।

मलेसिया मुद्दा पेचिलो बन्दै गएपछि गृहमन्त्री सुधन गुरुङ समेत सभामुख अर्याललाई भेट्न पुगेका थिए। त्यो भेटमा अर्यालले आफू दोषी भए पक्राउ गर्न भने।

‘मलेसिया जाने कामदारमाथि भएको ठगी मुद्दामा मेरो संलग्नता भए पक्राउ गरे हुन्छ,’ अर्यालको भनाई उद्धृत गर्दै स्रोतले भन्यो।

त्यसो त श्रममन्त्री रामजी यादवले समेत ठगीमा अर्यालको संलग्नता नरहेको जानकारी बालेनको सचिवालयमा गराएको स्रोतले बतायो।

श्रम मन्त्रालयबाटै डीपी अर्याल श्रममन्त्री रहेको समयमा मलेसियामा स्वास्थ्य परीक्षणको रकम पठाउँदा उनलाई र तत्कालीन सचिवलाई कुनै जानकारी नदिइएको र उनीहरुको संलग्नता देखिने कागजपत्र नरहेको पत्र सीआइबीमा पठाइएको छ। पत्रमा यस सम्बन्धी निर्णय उपसचिवबाट भएको तथा शाखा अधिकृतबाट पत्राचार भएको देखिएको उल्लेख छ।

यो पत्रपछि पनि डीपीलाई जबर्जस्ती अनुसन्धानमा तान्न खोजेको विषय रास्वपाभित्र आगोजस्तै दन्कियो। गत बिहीबार आफ्नो निवासमा उपस्थित भएका प्रधानमन्त्री बालेनसँग रास्वपा सभापति रविले यो विषय उठाए। रवि र बालेनबीच भएको पाँच घण्टा लामो कुराकानीमा डीपीको विषयमा गम्भीर छलफल भएको स्रोतले बतायो।

स्रोतका अनुसार रविले डीपीलाई विना कारण अनुसन्धानको दायरामा ल्याउन खोजेको भन्दै बालेनसामु गम्भीर भएर प्रश्न राखे। उनले प्रधानमन्त्रीको सचिवालयमार्फत सभामुखलाई अनुसन्धानमा तान्न प्रपञ्च गरिएको आरोप लगाए।

प्रधानमन्त्रीको सचिवालयको भूमिका चित्त नबुझेकै कारण त्यस दिनको छलफलमा रविले बालेनलाई प्रमुख सल्लाहकार कुमार बेनलाई आफ्नो निवासमा नल्याउन भनेका थिए। बालेनसँगको वार्तामा रविले डीपीका विषयमा बढी केन्द्रित भइ प्रधानमन्त्रीको सचिवालयबाट भइरहेको अनुसन्धान र सीआइबीमार्फत गर्न खोजिएको थ्रेटबारे खुलेर कुरा राखेको स्रोतले बतायो।

कसरी गर्दैछ सीआइबीले अनुसन्धान ?

मलेसियाको रोजगारीमा कामदार पठाउँदा ठगी तथा संगठित अपराध गरेको आरोपमा दुई पूर्वमन्त्री, पूर्वमुख्यसचिवसहित ११ जना प्रहरी हिरासतमा छन्।

प्रहरीले पूर्वमुख्यसचिव एकनारायण अर्याललाई कोलकाताबाट पक्राउ गरेर काठमाडौं ल्याइ शुक्रबार सरकारी वकिल कार्यालयमा उपस्थित गरायो। एकनारायण श्रम सचिव हुँदा ठगीको रकम विदेश पठाउन संलग्न रहेको सीआईबीको दाबी छ। तर, अनुसन्धानमा संलग्न प्रहरीहरु भने मुद्दा टुंगोमा पुर्‍याउन कठिन हुने देखिरहेका छन्।

मलेसियामा कामदार पठाउँदा ठगी भएको भन्दै श्रम मन्त्रालयले कार्यदल गठन गरी २०८२ फागुन ५ गते छानबिन प्रतिवेदन तयार पारेको थियो। त्यतिखेर राजेन्द्रसिंह भण्डारी मन्त्री थिए। उनले उपसचिव उपेन्द्र पौडेलको नेतृत्वमा कार्यदल गठन गरी प्रतिवेदन तयार पार्न लगाएका थिए।

त्यो कार्यदलको प्रतिवेदन र प्रधानमन्त्री कार्यालयको पत्रका आधारमा सीआईबीले अनुसन्धान थालेको हो। यो प्रतिवेदनमा मन्त्री, सचिव लगायत संलग्न रहेको भनेर ठहर गरेको छैन।

स्वास्थ्य परीक्षणको रकम मलेसिया पठाउन सुरु गरिएयता रामेश्वर राय यादव, गौरीशंकर चौधरी, विमलप्रसाद श्रीवास्तव, कृष्णगोपाल श्रेष्ठ, कृष्णकुमार श्रेष्ठ, शेरबहादुर कुँवर, डोलप्रसाद अर्याल, शरतसिंह भण्डारी श्रममन्त्री भए।

तर, अहिलेसम्म यादव र कुँवरबाहेक पूर्वमन्त्रीलाई पक्राउ गरिएको छैन। कार्यदलको प्रतिवेदनमा पक्राउ परेका दुई पूर्वमन्त्री र पूर्वमुख्यसचिव एकनारायणको नाम उल्लेख छैन।

एकनारायण अर्याल

उनीहरुमाथि नेपाल र मलेसियाबीच भएको सम्झौता विपरीत कामदारसँग गैरकानुनीरुपमा उठाएको रकममध्ये १ अर्ब ६९ करोड २ लाख रुपैयाँ संगठित समूहको लाभका लागि मलेसिया पठाउने निर्णयमा संलग्न भएको आरोप छ।

प्रतिवेदनमा कामदारको स्वास्थ्य परीक्षणका नाममा उठाइएको रकम विदेश पठाउन कुन मन्त्री र सचिवका पालामा क-कसले के आधारमा निर्णय गरेका थिए भन्ने उल्लेख छैन।

कामदारसँग स्वास्थ्य परीक्षणका नाममा चर्को रकम उठाउन सबै पृष्ठभूमि तयार पार्ने मेडिकल व्यवसायी कैलाश खड्कालाई प्रतिवेदनमा कारबाही गर्न सिफारिस गरिएको छ।

सीआईबीले खड्कालाई गत असोज २९ गते पक्राउ गरेको थियो। उनलाई पक्राउ गरेपछि थप विषय बाहिर आएको सीआईबीको दाबी छ।

कार्यदलको प्रतिवेदन श्रम मन्त्रालयबाटै गायब पारिएकामा सीआईबीले प्रधानमन्त्री कार्यालयको निर्देशन र नेपाल राष्ट्र बैंकमार्फत पैसा पठाएको रकम तथा मितिका आधारमा अनुसन्धान अगाडि बढाएको थियो। मन्त्रालयले कर्मचारी नै खटाएर प्रतिवेदन खोजेर सीआईबीलाई दिएको छ।

प्रतिवेदनमा स्वास्थ्य परीक्षणमा संलग्न ३६ वटा संस्थाले हालसम्म कति श्रमिकको स्वास्थ्य परीक्षण गरी कति रकम उठाए र कति रकम मलेसिया पुग्यो भन्ने उल्लेख छ। कामदारसँग रकम उठाउने ३६ स्वास्थ्य संस्थाका सञ्चालक, रकम पठाउन निर्णय गर्ने मन्त्रालयका कर्मचारी र विदेशी मुद्रा सटही गर्ने राष्ट्र बैंकमाथि अनुसन्धान गर्न भनिएको छ।

ती संस्थाले म्याक्रोटेक प्रालिका नाममा अनधिकृत भ्याट बिल काटेर साढे ८ लाखभन्दा बढी श्रमिकसँग ३ हजार १६४ रुपैयाँका दरले रकम उठाइ बैंक खातामा जम्मा गरेर मलेसियामा बेष्टिनेट कम्पनीलाई पठाएका थिए।

स्वास्थ्य सेवामा भ्याट नलाग्ने कानुनी व्यवस्था हुँदा पनि ती संस्थाले माइक्रोटेक कम्पनीको नाममा भ्याट बिल काटेको विषयमा प्रतिवेदनमा अनुसन्धान गर्न भनिएको छ।

स्वास्थ्य संस्थाले ८ लाख ५३ हजार ४३३ कामबारबाट ३ हजार १६४ रुपैयाँको दरले २ अर्ब ७० करोड २ लाख ६२ हजार रुपैयाँ उठाएको र कर छलेको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राजस्व अनुसन्धान विभागलाई पनि अनुसन्धान गर्न प्रतिवेदनमा सिफारिस गरिएको पाइएको छ।

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा सिन्डिकेट सुरु तत्कालीन श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले गरेका थिए।२०७० भदौ २५ गते कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको मलेसिया भीएलएन नेपाल प्रालिले भिसा लुअर नेगरा भीएलएन प्रणाली कार्यान्वयनमा ल्याइ भिसा प्रोसेसिङ शुल्क उठाउन थाल्यो।

२०७२ असार २३ गतेदेखि पाइलट प्रोजेक्ट भन्दै कामदारको स्वास्थ्य परीक्षणका लागि बायोमेट्रिक प्रणाली अनिवार्य गरियो। त्यतिखेर गुरुङ श्रम राज्यमन्त्री थिए। उनलाई राजनीतिक दलका तत्कालीन शीर्ष नेताले साथ दिए।

नेताहरुको भरोसा पाएपछि गुरुङले नेपाल स्वास्थ्य व्यवसायी महासंघमार्फत ३९ वटा स्वास्थ्य संस्थालाई साझेदार बनाएर बायोमेट्रिक प्रणाली सञ्चालनको अनुमति दिए। गुरुङ अहिले कांग्रेस सांसद छन्।