मुस्ताङ। नेपाल–चीन उत्तरी कोरलानाकामा भौतिक पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको चार वर्ष बितिसक्दासमेत निर्माण कार्य सुरु हुनसकेको छैन।
२०७९ साल फागुनमा कोरला नाकामा भन्सार, अध्यागमन, क्वारेन्टाइन, सुक्खा बन्दरगाह र एकीकृत सुरक्षा पोस्ट लगायतका संरचना निर्माण गर्ने उद्देश्यले सरकारले डीपीआरका लागि सर्भे गरेको थियो। त्यसअघि नै नाकाको नेपालतर्फ करिब एक हजार रोपनी जग्गा भन्सारलगायतका संरचना निर्माणका लागि नेपाल सरकारका नाममा प्राप्ति गरिएको थियो।
चीनसँगको व्यापारिक मार्ग विस्तार गर्ने उद्देश्यले गरिएको सर्भे दुई महिनासम्म चलेको थियो। त्यस क्रममा प्रस्तावित पूर्वाधार निर्माणस्थलको भौगर्भिक अवस्था र माटो परीक्षणसमेत गरिएको थियो। तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल इन्टरमोडल यातायात विकास समितिको योजनाअनुसार भन्सारसहितका आवश्यक संरचना निर्माणका लागि डीपीआर तयार गरिएको थियो।
सितारा इन्टुसीप–फुलराइट जेभीले एक करोड रुपैयाँको लागतमा ठेक्का सम्झौता गरी डीपीआरका लागि सर्भे गरेको थियो। प्रतिवेदन सरकारलाई बुझाइएको लामो समय बितिसक्दासमेत पूर्वाधार निर्माणको काम सुरु नहुनु दुःखद् भएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले बताए।
चीनसँग सीमा जोडिएका नाकामध्ये कोरला महत्त्वपूर्ण वैकल्पिक व्यापारिक नाकाका रूपमा स्थापित भइसके पनि अझै आवश्यक पूर्वाधार छैन। यसले आयातनिर्यात व्यापार व्यवस्थापन र पारवहन नाकाका रूपमा विकास गर्न समस्या भइरहेको अध्यक्ष विष्टको भनाइ छ।
कोरला नाका उपल्लो मुस्ताङका नागरिकका लागि खुला गरिएको तीन वर्ष भइसकेको छ भने वैकल्पिक व्यापारिक नाकाका रूपमा सञ्चालनमा आएको पनि दुई वर्ष बितिसकेको छ। गत वर्ष यो नाकाबाट ६ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन भएको थियो। चालु आर्थिक वर्षको पहिलो चार महिनामै १२ अर्ब रुपैयाँभन्दा बढी उठेको छ।
पछिल्लो समय यो नाकाबाट दैनिक ६० देखि ७० वटासम्म कन्टेनर र करिब १०० विद्युतीय गाडी नेपाल भित्रिने गरेका छन्। तर, आवश्यक भौतिक पूर्वाधार नहुँदा नाकाको सञ्चालन तथा सवारी व्यवस्थापनमा समस्या देखिएको छ। तातोपानी र रसुवागढी नाका पूर्ण रूपमा बन्द रहेकाले कोरलामा व्यापारिक चहलपहल छ।
बेनी–जोमसोम–कोरला सडकमार्ग हुँदै दैनिक सयौँ कन्टेनर तथा विद्युतीय सवारीसाधन आवतजावत गरिरहेका छन्। नाका पूर्ण रूपमा सञ्चालनमा आएपछि लोमान्थाङ–४ न्हेचुङस्थित भन्सार यार्डमा कन्टेनर र विद्युतीय सवारीको चाप बढेको छ। सडकका तीन लेनसम्म ढाकिने गरी कन्टेनर पार्किङ गर्दा कोरलानाका जाने मुख्य सडकमा यातायात आवागमन प्रभावित हुने गरेको छ।
सुक्खा बन्दरगाह नहुँदा कन्टेनर सडकमा अव्यवस्थित रूपमा रोक्नुपर्ने अवस्था छ। आयातित गाडी खोला किनार, भीरको छेउमा असुरक्षित रूपमा राख्नुपर्ने बाध्यता रहेको बीवाइडी गाडी आयातकर्ता साइमेक्स इंकका प्रतिनिधि धर्मवीर मण्डलले बताए। नाकामा आवश्यक पूर्वाधार र चार्जिङ स्टेसन नहुँदा थप समस्या भइरहेको उनको भनाइ छ।
कोरलाको अवलोकनमा संघ तथा प्रदेशका मन्त्री र विशिष्ट व्यक्तिहरू पुग्ने गरे पनि पूर्वाधार निर्माणका लागि आश्वासनबाहेक ठोस काम अघि बढ्न नसकेको स्थानीय जनप्रतिनिधिको भनाइ छ। गण्डकी प्रदेशको आर्थिक गतिविधि र व्यापारका लागि महत्त्वपूर्ण मानिएको यस नाकाको पूर्वाधार निर्माणमा ढिलाइ गर्न नहुने उनीहरूको माग छ।
यसै साता नाका अवलोकनमा पुगेको प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको टोलीसँग पनि स्थानीय जनप्रतिनिधिले नाकाबाट राजस्व संकलनमा मात्र नभई आवश्यक पूर्वाधार निर्माणमा समेत ध्यान दिन आग्रह गरेका थिए। समितिका सभापति आशिष गजुरेलसमक्ष उनीहरूले कोरलानाकाको पूर्वाधार निर्माण र पहुँचमार्गको सडकलाई जतिसक्दो छिटो सहज बनाउन माग गरेका थिए।
कोरला नाका क्षेत्रमा मात्र नभई मुस्ताङ भन्सार कार्यालय रहेको लोमान्थाङ–४ न्हेचुङमा पनि सरकारी निकायका लागि २०७५ सालमै जग्गा उपलब्ध गराइएको थियो। कोरलास्थित लोमान्थाङ क्षेत्रमा विभिन्न सरकारी निकायका लागि एक हजार ४३६ रोपनी जग्गा उपलब्ध गराइएको थियो।
त्यस्तै, नेपाली सेनालाई लोमान्थाङको थुर्लुङ फाँटमा एक हजार २७१ रोपनी जग्गा उपलब्ध गराइएको थियो। न्हेचुङमा भन्सार कार्यालयका लागि १०९ रोपनी, अध्यागमन कार्यालयका लागि १२ रोपनी, नेपाल प्रहरीका लागि १३ रोपनी र सशस्त्र प्रहरीका लागि ३३ रोपनी जग्गा उपलब्ध गराइएको थियो।
उपलब्ध जग्गामध्ये सशस्त्र प्रहरीले भवन निर्माण गरिसकेको छ भने नेपाल प्रहरीले हालै भवन निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाएको छ। भन्सार र अध्यागमन कार्यालयका भवन भने अझै निर्माण हुन सकेका छैनन्। भन्सार कार्यालयको स्तरोन्नति कार्य भने आंशिक रूपमा क्रमागत रूपमा भइरहेको छ। रासस