काठमाडौं। राम धानुकको तलब गत वर्षको तुलनामा यसपालि १ हजार ५०० रुपैयाँ बढ्यो। तर, उनको आर्थिक अवस्था सहज भएको छैन।
काठमाडौंको न्युरोडस्थित एक कपडा पसलमा काम गर्ने उनी मासिक २० हजार ५०० रुपैयाँ कमाउँछन्। दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दै गएकाले त्यो पैसाले तीन जनाको परिवारको खर्च धान्नै मुस्किल हुन थालेको छ। बरु उनले गत वर्ष तलब १९ हजार हुँदा पनि घर खर्च चलाएर केही बचत गर्ने गरेका थिए।
तीन जनाको परिवारको जिम्मेवारी बोकेका धानुकले गत वर्ष मासिक १९ हजार रुपैयाँ तलबबाट घर खर्च चलाएर केही बचत गर्ने गरेका थिए।
‘पोहोर दसैंमा काठमाडौंबाट बर्दिया जाँदा घर परिवारका लागि केही लत्ताकपडा किनेर पनि पैसा बचेको थियो। यो वर्ष तलब १ हजार ५०० रुपैयाँ बढे पनि महँगीले गर्दा खर्च पुर्याउनै सकिएन,’ उनले भने।
धानुकलाई परिवारको खर्च धान्न मुस्किल हुनुको कारण हो- बढेको घरभाडा तथा तरकारी, खाद्यान्न र लत्ताकपडाको मूल्य वृद्धि। बजार मूल्य वृद्धिका कारण उनको क्रयशक्ति संकुचित भएको छ।
धानुकको जस्तै अनुभव बाजुराका दीपक बोहराको पनि छ। काठमाडौंको टेकुमा श्रीमतीसँग बस्ने बोहरा पठाओ चलाएर मासिक ४० देखि ५० हजार रुपैयाँसम्म आम्दानी गर्छन्। तर, उनले बचत गर्न सकेका छैनन्।
उनको आम्दानीको ठूलो हिस्सा पेट्रोल र मोटरसाइकल सर्भिसिङमा खर्च हुन्छ। ‘१ हजार रुपैयाँको पेट्रोल हाल्दा २/३ दिनलाई पुग्छ। हाम्रो धेरै खर्च हुने भनेकै पेट्रोल र बाइक सर्भिसिङमा हो,’ उनी भन्छन्, ‘पछिल्लो समय दैनिक घर खर्च पनि बढेको छ। तरकारी, फलफूल, मासु, दाल, चामल सबैको मूल्य बढेको छ।’
धानुक र बोहरा प्रतिनिधि पात्र मात्रै हुन्। पछिल्लो समय बजारमा दैनिक उपभोग्य वस्तुदेखि लत्ताकपडाको मूल्य बढ्दा न्यून तथा मध्यम आय भएका परिवारको जीवनयापन कष्टकर बनेको छ।

आम्दानीको ठूलो हिस्सा खाद्यान्न, आवास र यातायातमा खर्च गर्नुपर्ने परिवारमा मूल्यवृद्धिले बचत कमजोर भएको छ। रेमिटेन्सका कारण राष्ट्रिय बचत वृद्धिदरको तुलनामा आन्तरिक बचत कमजोर देखिन्छ।
पछिल्लो तीन महिनामा तरकारी तथा फलफूलको मूल्यमा भएको तीव्र वृद्धिले उपभोक्ताको भान्सा महँगिन पुगेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत असारमा ९९.१० प्रतिशत रहेको तरकारी तथा फलफूलको मूल्य सूचकांक असोजमा आइपुग्दा १२२.९६ प्रतिशत पुगेको छ। कुल उपभोग्य वस्तुको बास्केटमा यस समूहको हिस्सा ४.६५ प्रतिशत छ।
त्यस्तै, चिनीजन्य वस्तुको मूल्य सूचकांकमा ९.४१ प्रतिशत विन्दुले वृद्धि भएको छ। कुल उपभोग्य वस्तुको बास्केटमा यसको हिस्सा १.१० प्रतिशत छ। गैरखाद्य समूहमा सबैभन्दा बढी लत्ताकपडाको मूल्य सूचकांक २.४५ प्रतिशत विन्दुले बढेको छ।
अर्थशास्त्री प्रकाशकुमार श्रेष्ठ आन्तरिक तथा बाह्य दुवै कारणले गर्दा महँगी बढेको बताउँछन्। उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा त्यसको प्रत्यक्ष असर यातायात तथा ढुवानी लागतमा पर्यो जसले उत्पादन नै महँगिएर त्यसको भार उपभोक्ताको थाप्लोमा पर्यो।
त्यसैगरी, बाढीपहिरोका कारण सडक सञ्जाल अवरुद्ध भइ आपूर्ति प्रणाली प्रभावित हुँदा पनि बजारमा वस्तुको मूल्य बढेको हो। ‘पेट्रोलियम पदार्थको मूल्य नघटेका कारण ढुवानी लागत महँगो छ। ढुवानी लागतले सबैतिर हिट गर्यो,’ श्रेष्ठले भने, ‘भदौमा आएको बाढीले मुख्य राजमार्गसहितका सडक सञ्जाल अवरुद्ध भए। त्यसको असर पनि बजारमा परेको हो।’
राष्ट्र बैंकका अधिकारीहरू पनि मूल्यवृद्धिमा बाढीपहिरो, पेट्रोलियम पदार्थको मूल्य र मौसमी प्रभाव प्रमुख कारण भएको बताउँछन्।
राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभाग प्रमुख डा. सत्येन्द्र तिमिल्सिनाले लागत थपिएका कारण मूल्यवृद्धि भएको बताए। ‘मौद्रिक नीतिमा हामीले पहिलो क्वार्टरमा मूल्यवृद्धि केही माथि जाने र दोस्रो क्वार्टरदेखि कम हुने भनेका थियौं,’ उनले भने, ‘रसुवा बाढी र कृष्णभीरमा आएको पहिरोले आपूर्ति शृंखला प्रभावित हुँदा त्यसको अप्रत्यक्ष प्रभाव मूल्यृद्धिमा पर्यो।’