म्यानमारको विभिन्न स्थानमा भएको हवाई आक्रमणमा परेर दर्जनौं सर्वसाधारणको मृत्यु भएको छ। बीबीसीका अनुसार सेनाले गरेको आक्रमणमा विवाह समारोह, विद्यालय र आवासीय क्षेत्र समेत निशानामा परेका छन्।
शनिबार दिउँसो दक्षिणी शान राज्यको मो ब्ये गाउँमा आयोजित एक विवाह समारोहमा सेनाले हवाई आक्रमण गर्दा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन्।
यस्तै, शनिबार साँझ नै पश्चिमी राखाइन राज्यको म्राउक-यु सहरको आवासीय क्षेत्रमा भएको आक्रमणमा १० जनाभन्दा बढीको मृत्यु भएको छ। त्यहाँ करिब २० जना घाइते भएका छन्। उक्त क्षेत्र विद्रोही समूह ‘अराकान आर्मी’ को नियन्त्रणमा रहेको बताइन्छ।
यसअघि बिहीबार मध्य म्यानमारको म्याग्वे क्षेत्रस्थित इन योन गाउँको एक विद्यालयमा भएको हवाई आक्रमणमा विद्यार्थी, बाल भिक्षु र शिक्षकसहित कम्तीमा २० सर्वसाधारण मारिएका थिए। आक्रमणबारे म्यानमारको सैन्य सरकारले भने कुनै प्रतिक्रिया दिएको छैन।
सन् २०२१ को सैन्य कू पछि गृहयुद्धमा फसेको म्यानमारमा सेनाले विद्रोही नियन्त्रित क्षेत्रहरूमा दैनिकजसो हवाई आक्रमण गर्दै आएको छ। अन्तर्राष्ट्रिय न्यायालयले रोहिंग्या अल्पसङ्ख्यकमाथि नरसंहार गरेको ठहर गर्दै म्यानमारलाई दोषी करार गरेको एक सातापछि सेनाले यी घातक आक्रमणहरु गरेको हो ।