BIZMANDU
www.bizmandu.com

रुपाताल आयोजनामा पुगे ऊर्जामन्त्री श्रेष्ठ, विद्युत् चुहावट घटाउन र काठका पोल हटाउन निर्देशन

२०८३ मंसिर १२

रुपाताल आयोजनामा पुगे ऊर्जामन्त्री श्रेष्ठ, विद्युत् चुहावट घटाउन र काठका पोल हटाउन निर्देशन
रुपाताल आयोजनामा पुगे ऊर्जामन्त्री श्रेष्ठ, विद्युत् चुहावट घटाउन र काठका पोल हटाउन निर्देशन

गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले शुक्रबार कास्कीको रूपाताल संरक्षण तथा एकीकृत विकास आयोजनाको अनुगमन गरेका छन्।

GBIME
Tata

उनलाई आयोजना व्यवस्थापनका तर्फबाट हालसम्म ६५ प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको र आर्थिक वर्ष २०८५/८६ भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको जानकारी गराइएको थियो। आयोजनास्थलमा देखिएको रुख कटानसम्बन्धी समस्या समाधान गरी आयोजनाको कामलाई थप गति दिन मन्त्रालयका तर्फबाट आवश्यक सहजीकरण गर्न मन्त्री श्रेष्ठले प्रतिबद्धता जनाएका छन्।

४ अर्ब ५२ करोड रुपैयाँ लागत रहेको यस आयोजना रुपातालको संरक्षणसँगै पर्यापर्यटन प्रवर्द्धन र स्थानीय विकासका लागि महत्त्वपूर्ण छ। रुपाताललाई वातावरण संरक्षण, जैविक विविधताको जगेर्ना र पर्यापर्यटनको नमूना गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा मन्त्री श्रेष्ठको जोड छ।

यही आधारमा कास्कीका अन्य तालको पनि संरक्षण योजना बनाउन सकिने उनले बताए। प्राकृतिक स्रोतको संरक्षण, विकास र दिगो उपयोगलाई सँगसँगै अघि बढाउनुपर्ने उनले उल्लेख गरे।

मन्त्री श्रेष्ठले शुक्रबार नै गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री फणीन्द्र देवकोटासँग भेट गरी पोखराको पहिचानसँग जोडिएको फेवाताललगायत गण्डकी प्रदेशका ताल तथा जलाशयहरूको संरक्षण, व्यवस्थापन र दिगो उपयोगका लागि सङ्घ र प्रदेशबीच सहकार्य गर्ने विषयमा छलफल गरेका थिए।

दुई मन्त्रीबीच गण्डकी प्रदेशको ऊर्जा विकास, जलस्रोतको बहुआयामिक उपयोग, नदी नियन्त्रण, तटबन्धन तथा सिँचाइ आयोजनालाई सङ्घ र प्रदेश सरकारबीचको समन्वय र सहकार्यमा अघि बढाउने विषयमा कुराकानी भएको थियो।

यस्तै मन्त्री श्रेष्ठले पोखरास्थित लेखनाथ सब–स्टेसनको स्थलगत अनुगमन गरी पोखरा तथा आसपासका क्षेत्रको विद्युत् आपूर्ति र वितरण प्रणालीको अवस्थाबारे जानकारी लिएका छन्। अनुगमनका क्रममा उनले विद्युत् प्रणालीको वास्तविक समयको तथ्याङ्क व्यवस्थापन, अनुगमन र विश्लेषणका लागि डाटा सेन्टरको प्रभावकारी सञ्चालन तथा उपयोगिताबारे जानकारी लिएको जनाइएको छ।

हिउँदमा आन्तरिक उत्पादन, बढ्दो माग र अन्तरदेशीय विद्युत् व्यापारबीच उचित तालमेल मिलाउँदै विद्युत आपूर्ति व्यवस्थापन गर्नुपर्ने मन्त्री श्रेष्ठले बताए। उनले विद्युत् प्राधिकरणको गण्डकी प्रादेशिक कार्यालय तथा प्रदेश अन्तर्गतका वितरण केन्द्र प्रमुखहरूसँग छलफल गरी विद्युत् वितरण प्रणालीको अवस्था, सेवा प्रवाह र सुधारका चुनौतीबारे पनि जानकारी लिएका थिए।

विद्युत् चुहावटलाई लक्ष्यभन्दा तल झार्ने, काठका पोल प्रतिस्थापन गर्ने, सामुदायिक विद्युत् वितरण प्रणालीलाई व्यवस्थित बनाउने तथा बाढीपहिरोबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा ध्यान दिनुपर्ने उनले बताए।