BIZMANDU
www.bizmandu.com

२९ करोडमा झर्‍यो कर्णाली बैंकको पुँजी, पाँच अर्ब पुर्‍याउन राष्ट्र बैंकले ल्यायो पुनर्पुँजीकरण योजना

२०८३ मंसिर १२

२९ करोडमा झर्‍यो कर्णाली बैंकको पुँजी, पाँच अर्ब पुर्‍याउन राष्ट्र बैंकले ल्यायो पुनर्पुँजीकरण योजना
२९ करोडमा झर्‍यो कर्णाली बैंकको पुँजी, पाँच अर्ब पुर्‍याउन राष्ट्र बैंकले ल्यायो पुनर्पुँजीकरण योजना

काठमाडौं । समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकमा भएको वित्तीय अपचलनपछि नेपाल राष्ट्र बैंकले बैंकको स्वामित्व संरचना नै परिवर्तन गर्ने गरी पुनर्संरचना योजना अघि सारेको छ।

GBIME
Tata

अपचलनमा संलग्न संस्थापक सेयरधनी तथा सञ्चालकको सेयर स्वामित्व एक प्रतिशतमा सीमित गरेर नयाँ लगानीकर्ता भित्र्याउने र बैंकको चुक्ता पुँजी पाँच अर्ब रुपैयाँ पुर्‍याउने रणनीति राष्ट्र बैंकले स्वीकृत गरेको हो।

राष्ट्र बैंक सञ्चालक समितिले ‘कर्णाली डेभलपमेन्ट बैंक रिजोलुसन रणनीति, २०८३’ पारित गर्दै बैंकको पुँजी संरचना, सेयर स्वामित्व र लगानीको स्वरूप परिवर्तन गर्ने निर्णय गरेको छ। रणनीतिअनुसार अपचलनमा संलग्न व्यक्तिहरूको स्वामित्वमा रहेको २१ लाख ३६ हजार ६१ कित्ता संस्थापक सेयर र १२ हजार ६८५ कित्ता साधारण सेयरलाई एक प्रतिशतमा सीमित गरिनेछ।

बैंकको हालको अधिकृत पुँजी ६० करोड रुपैयाँ र जारी तथा चुक्ता पुँजी ५० करोड २८ लाख ३० हजार रुपैयाँ छ। अपचलनमा संलग्न व्यक्तिहरूको सेयर स्वामित्व घटाएपछि बैंकको कायम चुक्ता पुँजी २९ करोड एक लाख चार हजार १६० रुपैयाँमा सीमित हुनेछ। यसरी स्वामित्व घटाउँदा अपचलनमा संलग्न व्यक्तिहरूको बैंकमाथिको प्रभाव र नियन्त्रण कमजोर हुने तथा उनीहरूले विगतका अनियमितताबाट भविष्यमा अनुचित लाभ लिन नसक्ने अवस्था सिर्जना हुने राष्ट्र बैंकको अपेक्षा छ।

स्वामित्व कटौतीपछि बैंकलाई पुनः सञ्चालनयोग्य बनाउन राष्ट्र बैंकले पुँजी विस्तारको योजना अघि सारेको छ। त्यसका लागि हालको ६० करोड रुपैयाँ अधिकृत पुँजीमा चार अर्ब ४० करोड रुपैयाँ थपेर पाँच अर्ब रुपैयाँ पुर्‍याउने निर्णय गरिएको छ। नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ङ को उपदफा (१) को खण्ड (ख) बमोजिम अपचलनमा संलग्न नभएका विद्यमान संस्थापक सेयरधनीलाई समेत थप लगानीको अवसर दिइनेछ।

पुनर्संरचना तथा पुनर्पुँजीकरणपछि कायम हुने पुँजीको ६० प्रतिशत संस्थापक सेयर रहने व्यवस्था गरिएको छ। यसअनुसार करिब दुई अर्ब ६४ करोड ६३ लाख रुपैयाँ बराबरको संस्थापक सेयर नयाँ लगानीकर्तामार्फत परिचालन गरिनेछ। सुरुमा स्वदेशी लगानीकर्ताबाट उक्त रकम जुटाउने राष्ट्र बैंकको योजना छ। स्वदेशी लगानीबाट आवश्यक पुँजी संकलन हुन नसके विदेशी लगानीकर्तालाई समेत लगानीका लागि आह्वान गरिनेछ।

बैंकको पुनर्पुँजीकरणमा निक्षेपकर्तालाई समेत सहभागी गराउने विकल्प राष्ट्र बैंकले दिएको छ। पाँच लाख रुपैयाँभन्दा बढी निक्षेप भएका व्यक्तिगत निक्षेपकर्ताले आफ्नो निक्षेपको अधिकतम ५० प्रतिशतसम्म रकम बराबरको संस्थापक सेयरमा स्वेच्छिक लगानी गर्न सक्नेछन्। यसका लागि ८५ लाख कित्ता सेयर छुट्याइएको छ।

निक्षेपकर्ताले संस्थापक सेयरमा गरेको लगानीलाई प्रचलित कानुनबमोजिम सर्वसाधारण सेयर समूहमा परिणत गर्न सक्ने व्यवस्था पनि रणनीतिमा छ। संस्थापक सेयर, निक्षेपकर्ताको लगानी र अन्य लगानीकर्ताबाट पुँजी परिचालन गर्दा पनि पाँच अर्ब रुपैयाँको लक्षित चुक्ता पुँजी अपुग भए बाँकी रकम सर्वसाधारणका लागि सेयर जारी गरेर जुटाइनेछ।

यसरी राष्ट्र बैंकले बैंकको स्वामित्व संरचनामा एकैपटक ठूलो परिवर्तन गर्दै पुराना अपचलनकारीको प्रभाव घटाउने र नयाँ पुँजी भित्र्याउने बाटो रोजेको छ। बैंकको पुनर्संरचनामा संस्थापक लगानीकर्ता, नयाँ स्वदेशी तथा सम्भावित विदेशी लगानीकर्ता र निक्षेपकर्तासमेत सहभागी हुने गरी पुँजी परिचालनको खाका तयार गरिएको छ।

राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार रणनीतिको मुख्य उद्देश्य सर्वसाधारणको निक्षेप तथा हित संरक्षण गर्दै कर्णाली डेभलपमेन्ट बैंकलाई पुनः सञ्चालनयोग्य, सबल र सुशासित वित्तीय संस्थाका रूपमा स्थापित गर्नु हो। बैंकप्रति सर्वसाधारणको विश्वास पुनः कायम गराउने र भविष्यमा यस्ता अनियमितता दोहोरिन नदिने आधार तयार पार्ने लक्ष्यसहित पुनर्संरचना रणनीति अघि बढाइएको उनले बताए।