BIZMANDU
www.bizmandu.com

उपत्यकाको खानेपानी र ढल व्यवस्थापन सुधार्न एडीबीले ५० मिलियन डलर ऋण दिने

२०८३ मंसिर १२

उपत्यकाको खानेपानी र ढल व्यवस्थापन सुधार्न एडीबीले ५० मिलियन डलर ऋण दिने
उपत्यकाको खानेपानी र ढल व्यवस्थापन सुधार्न एडीबीले ५० मिलियन डलर ऋण दिने

काठमाडौं। काठमाडौं उपत्यकाको खानेपानी तथा ढल व्यवस्थापन प्रणाली सुधारका लागि एसियाली विकास बैंक (एडीबी) ले ५० मिलियन अमेरिकी डलर (करिब ७ अर्ब रुपैयाँ) ऋण स्वीकृत गरेको छ। एडीबीले यससँगै सुधार कार्यक्रम कार्यान्वयनका लागि ७ लाख ५० हजार अमेरिकी डलर प्राविधिक सहायता अनुदानसमेत उपलब्ध गराउने भएको छ।

GBIME
Tata

एडीबीले बिहीबार स्वीकृत गरेको ‘काठमाडौं उपत्यका खानेपानी क्षेत्र सुधार कार्यक्रम’ को पहिलो चरणअन्तर्गत उक्त ऋण र अनुदान उपलब्ध गराउन लागेको हो। कार्यक्रमले खानेपानी तथा ढल सेवासम्बन्धी संस्थागत संरचना सुदृढीकरण, सेवा प्रदायक संस्थाको कार्यक्षमता अभिवृद्धि र सेवा प्रवाह सुधारलाई प्राथमिकता दिएको छ।

उपत्यकाको खानेपानी क्षेत्रमा लामो समयदेखि संस्थागत जिम्मेवारी विभाजित हुनु, सेवा प्रदायक संस्थाको व्यावसायिक तथा वित्तीय कार्यसम्पादन कमजोर रहनु, फोहोर पानी प्रशोधनका लागि पर्याप्त पूर्वाधार नहुनु र एकीकृत योजना तथा विकासको अभाव रहनु प्रमुख समस्या छन्। एडीबीको यो कार्यक्रमले यिनै संरचनागत समस्यालाई सम्बोधन गर्दै खानेपानी तथा ढल व्यवस्थापनसम्बन्धी निकायहरूको संस्थागत एकीकरण र समन्वयलाई अघि बढाउने लक्ष्य राखेको छ।

कार्यक्रममार्फत खानेपानी क्षेत्रको शासन प्रणाली, जवाफदेहिता र कार्यक्षमता सुधार गरी दिगो तथा नागरिककेन्द्रित सेवा प्रवाहको आधार तयार गरिने एडीबीले जनाएको छ। यसले उपत्यकाको खानेपानी सेवा प्रदायक संस्थालाई आधुनिक, आर्थिक रूपमा आत्मनिर्भर र प्रभावकारी संस्थाका रूपमा विकास गर्न सरकारलाई सहयोग गर्नेछ।

एडीबीका नेपालका लागि आवासीय निर्देशक अर्नाउड कोच्वाले भरपर्दो र दिगो खानेपानी तथा ढल सेवा सार्वजनिक स्वास्थ्य, आर्थिक वृद्धि र नागरिकको जीवनस्तरका लागि आधारभूत आवश्यकता भएको बताएका छन्। उनका अनुसार यो कार्यक्रमले खानेपानी पूर्वाधारमा भइरहेको लगानीलाई संस्थागत सुधारसँग जोड्दै सेवा प्रदायक संस्थाको कार्यक्षमता बढाउने र जलवायु परिवर्तनका कारण उत्पन्न हुने जोखिम सामना गर्ने क्षमता अभिवृद्धि गर्नेछ।

कार्यक्रम दुई चरणमा कार्यान्वयन गर्ने संरचना बनाइएको छ। पहिलो चरणले खानेपानी क्षेत्रका लागि एकीकृत शासकीय संरचना र नियामकीय प्रणालीको आधार तयार गरेको छ। दोस्रो चरणमा त्यसलाई व्यवहारमा कार्यान्वयन गर्दै संस्थागत सुधारलाई स्थायी बनाउने लक्ष्य राखिएको छ। यसबाट सहरी जीवनयापन सहज बनाउने, वातावरणीय दिगोपन कायम गर्ने र जलवायुजन्य जोखिम सामना गर्ने क्षमता बढाउने अपेक्षा गरिएको छ।

सन् २०३० सम्ममा कार्यक्रमले काठमाडौं उपत्यकाको खानेपानी सेवा प्रदायक संस्थाको सञ्चालन, प्रशासनिक तथा वित्तीय कार्यसम्पादनमा सुधार ल्याउने लक्ष्य राखेको छ। खानेपानीको गुणस्तरसम्बन्धी मापदण्ड पालना, उपभोक्ताका गुनासा तथा आवश्यकताप्रति संस्थाको जवाफदेहिता र सेवा प्रवाहको गुणस्तरसमेत सुधार गरिने अपेक्षा एडीबीको छ।