BIZMANDU
www.bizmandu.com

म्याग्दीको सुर्केमेलामा सुन्तलाखेतीको लहर, नगदे बालीको आम्दानीमा किसान खुसी

२०८३ मंसिर १२

म्याग्दीको सुर्केमेलामा सुन्तलाखेतीको लहर, नगदे बालीको आम्दानीमा किसान खुसी
म्याग्दीको सुर्केमेलामा सुन्तलाखेतीको लहर, नगदे बालीको आम्दानीमा किसान खुसी

म्याग्दी। कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाका खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्। परम्परागत अन्नबालीबाट गुजारा चलाउन कठिन हुँदै गएपछि विकल्प खोजेका यहाँका किसानले सुन्तलाखेती अपनाएका हुन्।

GBIME
Tata

एउटै खेतबाट वर्षमा केही मुरी अन्न उत्पादन गर्ने किसान अहिले त्यही जमिनमा सुन्तला बेचेर लाखौँ रुपैयाँ आम्दानी गर्न थालेका छन्। सुन्तलाखेतीले खेतबारीको स्वरूप मात्र बदलेको छैन, किसानको आर्थिक अवस्था र जीवनशैलीसमेत फेरिदिएको छ।

सुर्केमेलाकी ६५ वर्षीया बालकुमारी रोकाले १४ वर्षअघि सात मुरी धान फल्ने खेतमा सुन्तलाका बिरुवा रोपेकी थिइन्। खेतीपातीका लागि कामदार पाउन छाडेपछि परिवारले खनजोतमा धेरै समय दिन नसक्ने अवस्था आयो। त्यसको विकल्प खोज्ने क्रममा उनले सुन्तलाखेती रोजिन्। अहिले उनको बगैँचामा २५० वटा सुन्तलाका बोट छन्। ती बोटबाट वार्षिक सात लाख रुपैयाँसम्म आम्दानी हुन थालेको छ। परम्परागत अन्नबालीको तुलनामा कम मेहनतमा राम्रो आम्दानी हुने भएकाले उनी सुन्तलाखेतीप्रति सन्तुष्ट छिन्।

‘छोराछोरी विदेश गए पनि मलाई सुन्तलाखेतीमै रमाइलो लागेको छ,’ उनी भन्छिन्।

सुर्केमेलाकै द्रोपती थापाको अनुभव पनि उस्तै छ। गत वर्ष एक लाख ५० हजार रुपैयाँको सुन्तला बिक्री गरेकी उनले यस वर्ष तीन लाख रुपैयाँ बराबरको उत्पादन हुने अनुमान गरेकी छन्। फल दिने बोटको संख्या बढ्नु र उत्पादन राम्रो हुनु यसपटक आम्दानी बढ्ने आधार बनेको उनको भनाइ छ।

‘यसपालि फल दिने बोट थपिएका छन्। उत्पादन पनि राम्रो भएकाले आम्दानी बढ्ने अनुमान छ,’ उनले भनिन्, ‘घरव्यवहार चलाउन सुन्तलाखेतीले धेरै सजिलो बनाएको छ।’

सुर्केमेलामा व्यावसायिक सुन्तलाखेती विस्तार गर्ने पहिलो किसान हुन् ४६ वर्षीय डिलबहादुर केसी। उनले १५ वर्षअघि अंशमा पाएको धान फल्ने खेतमा सुन्तलाका बिरुवा रोपेका थिए। परम्परागत खेती छाडेर सुन्तलाखेतीमा लाग्ने उनको निर्णयलाई त्यतिबेला आफन्त र छिमेकीले सहजै स्वीकार गरेनन्। धान फल्ने खेतमा सुन्तला लगाएर परिवारलाई भोकै पार्न लागेको भन्दै आलोचनासमेत खेप्नुपरेको थियो। तर, अहिले त्यही निर्णय उनको आम्दानीको मुख्य आधार बनेको छ।

‘धान फल्ने खेतमा काँडा रोपेर छोराछोरी भोकै पार्ने भयौ भनेर गाली गरेका थिए,’ केसीले विगत सम्झँदै भने, ‘अहिले सुन्तला बेचेर आम्दानी गरेको देख्दा त्यतिबेला गाली गर्नेहरू नै दंग छन्।’

केसीले २० रोपनी खेतबारीमा ४५० वटा सुन्तलाका बोट लगाएका छन्। यो वर्ष उनको बगैँचाबाट १५ लाख रुपैयाँभन्दा बढीको सुन्तला बिक्री भएको छ। पाँच वर्ष यूएई र मलेसियामा काम गरेर फर्किएका उनले सुन्तलाखेतीसँगै केसी मौरीपालन स्रोत केन्द्रसमेत सञ्चालन गरेका छन्। विदेशमा श्रम बेचेर फर्किएका उनी अहिले आफ्नै गाउँमा कृषि उद्यममा रमाइरहेका छन्।

केसीका अनुसार सुर्केमेलामा मात्रै १६ जना किसान व्यावसायिक सुन्तलाखेतीमा संलग्न छन्। चार सय बोट सुन्तला लगाएका धनराज पुनले पनि परम्परागत अन्नबालीभन्दा सुन्तलाबाट धेरै गुणा बढी आम्दानी हुने बताए। वर्षमा आठदेखि १० मुरी धान फल्ने खेतमा सुन्तलाखेती गर्दा वार्षिक १० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सकिने उनको अनुभव छ। सुन्तलाबाट भएको आम्दानीले कतिपय किसानले पोखरा, बेनी र बागलुङमा घरघडेरी जोडेका छन्। छोराछोरीलाई राम्रा विद्यालय तथा कलेजमा पढाउने आर्थिक क्षमता पनि बढेको छ।

सिँचाइ सुविधा, अनुकूल भूगोल र हावापानीले सुर्केमेलालाई सुन्तलाखेतीका लागि उपयुक्त क्षेत्र बनाएको छ। यहाँ उत्पादन हुने सुन्तला रसिलो र स्वादिलो हुने भएकाले काठमाडौँ, पोखरा र बेनीका व्यापारी बगैँचामै पुगेर खरिद गर्ने गरेका छन्। म्याग्दीका अन्य क्षेत्रको तुलनामा सुर्केमेलामा सुन्तला चाँडै पाक्छ। मंसिरको दोस्रो साताभित्रै टिपाइ सकिने भएकाले यहाँका बगैँचा अरू क्षेत्रभन्दा पहिले रित्तिन्छन्। चाँडै पाक्ने, आकर्षक रङ र स्वादका कारण बजारमा यहाँको सुन्तलाको माग रहेको किसान बताउँछन्।

सडक यातायातको पहुँच र बजारको सहजताले पनि किसानलाई सुन्तलाखेती विस्तार गर्न प्रोत्साहित गरेको छ। उत्पादन बगैँचाबाटै बिक्री हुने भएपछि बजार खोज्दै हिँड्नुपर्ने बाध्यता छैन। कृषि ज्ञान केन्द्र र बेनी नगरपालिकाले बिरुवा वितरण, प्राविधिक तालिम तथा कृषि औजार उपलब्ध गराएर खेती विस्तारमा सहयोग गरेका छन्। बालमखोला सिँचाइ योजना निर्माण भएपछि सिँचाइ सुविधा पनि सहज भएको छ।

बेनी नगरपालिका–४ का वडाध्यक्ष अणबहादुर खड्काका अनुसार सुर्केमेलासँगै बास्कुना र थामडाँडामा पनि व्यावसायिक सुन्तलाखेती विस्तार भइरहेको छ। उत्पादन बढेसँगै बजारसम्म सुन्तला पुर्‍याउन र स्थानीयको आवतजावत सहज बनाउन सडक पूर्वाधार सुधारलाई प्राथमिकता दिइएको उनले बताए।

दुःखेखोलादेखि सुर्केमेला, बास्कुना र थामडाँडा हुँदै मरेक जोड्ने सडक स्तरोन्नतिको काम यसै वर्षदेखि सुरु गर्ने तयारी छ। गण्डकी प्रदेश सरकार र बेनी नगरपालिकाको लागत साझेदारीमा तीन वर्षसम्म सञ्चालन हुने योजनाका लागि चालु आर्थिक वर्षमा एक करोड ६० लाख रुपैयाँ विनियोजन गरिएको छ। तीन वर्षमा पाँच करोड रुपैयाँ खर्च हुने गरी स्रोत सुनिश्चित भएको उक्त योजनाको ठेक्का सम्झौता प्रक्रिया अघि बढेको वडाध्यक्ष खड्काले बताए। सुर्केमेला र सिँगा जोड्ने सडक पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी संघीय सरकारसमक्ष प्रस्तावसमेत पेस गरिएको छ।

परम्परागत अन्नबालीबाट पर्याप्त आम्दानी नहुँदा विकल्प खोजेका सुर्केमेलाका किसानका लागि सुन्तलाखेती अहिले आर्थिक रूपान्तरणको माध्यम बनेको छ। कम उत्पादन दिने खेतबारीमा सुन्तलाका बोट हुर्किएका छन् भने त्यसबाट भएको आम्दानीले परिवारको खर्च, शिक्षा र सम्पत्ति जोड्ने आधार तयार गरेको छ।

तर सुन्तलाखेती विस्तारसँगै किसानले नयाँ चुनौती पनि सामना गरिरहेका छन्। युवाहरू वैदेशिक रोजगारीमा जाने क्रम बढ्दा कृषि मजदुरको अभाव हुन थालेको छ। बगैँचाको गोडमेल, मलजल, काँटछाँट र फल टिप्ने काममा जनशक्ति नपाउँदा खेती विस्तार र उत्पादन व्यवस्थापनमा कठिनाइ हुन थालेको किसानको अनुभव छ। रासस