BIZMANDU
www.bizmandu.com

श्रमिकको दैनिक ज्याला न्यूनतम १७४० रुपैयाँ तोकिएकामा निजी क्षेत्रको आपत्ति, ‘कहाँबाट ल्याएर दिने?’

२०८३ मंसिर ११

श्रमिकको दैनिक ज्याला न्यूनतम १७४० रुपैयाँ तोकिएकामा निजी क्षेत्रको आपत्ति, ‘कहाँबाट ल्याएर दिने?’
श्रमिकको दैनिक ज्याला न्यूनतम १७४० रुपैयाँ तोकिएकामा निजी क्षेत्रको आपत्ति, ‘कहाँबाट ल्याएर दिने?’

काठमाडौं। निजी क्षेत्रले अदक्ष श्रमिकको दैनिक ज्याला १७४० रुपैयाँ तोकेर सरकारले ल्याएको सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधिको विरोध गरेको छ।

GBIME
Tata

निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले सरकारले हालै ल्याएको कार्यविधिले गम्भीर चुनौती खडा गर्ने भन्दै विरोध गरेको हो।

एफएनसीसीआईका उपाध्यक्ष एवं रोजगारदाता परिषद्‍का सभापति प्रबलजंग पाण्डेले आइतबार सामाजिक सुरक्षा कोषले गरेको कार्यक्रममा कार्यविधि लागू गरे निजी क्षेत्र संकटमा पर्ने बताए।

प्रबलजंग पाण्डे

‘सरकारले भर्खरै सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि ल्याएको छ। यसका केही प्रावधान राम्रा पनि होलान्। तर यसले उब्जाउने चुनौती उत्तिकै गम्भीर छन्,’ उनले भने, ‘एउटै देश, एउटै श्रम बजार तर दुई थरि दुई थरि ज्याला। निजी क्षेत्रलाई न्यूनतम ज्याला मासिक १९ हजार ५५० अर्थात दैनिक ७५४ रुपैयाँ छ। तर सार्वजनिक खरिदमा त्यही अदक्ष श्रमिकको दैनिक ज्याला १७४० रुपैयाँ छ। दुई थरि ज्यालाले निजी क्षेत्रबाट श्रमिक पलायन हुन सक्छन्। निजी क्षेत्रका उद्योगको लागत बढ्न सक्छ। त्यसले निजी क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता बिग्रिन सक्छ।’

सरकारले सार्वजनिक खरिदमार्फत हुने सबै प्रकारमा श्रमिकको दैनिक ज्याला तह र सीप अनुसार सामाजिक सुरक्षासहित १७४० रुपैयाँदेखि १० हजार ८० रुपैयाँसम्म तोकेर गत कात्तिक तेस्रो साता कार्यविधि जारी गरेको थियो।

एफउनसीसीआईका उपाध्यक्ष पाण्डेले पुरानो ठेक्कामा काम गरिरहेका व्यवसायीले कार्यविधिमा तोकिए अनुसारको ज्याला कहाँबाट ल्याएर दिने भनी सरकारसँग प्रश्न गरे।

‘समय नै नदिइ ज्याला तोकिएको छ। पुरानो ठेक्काको दर रेट, लागत अनुमान र बोलपत्रमा नयाँ ज्याला तथा १० प्रतिशत योगदान समावेश छैन। पुरानो ठेक्कामा काम गरिरहेका व्यवसायीलाई आजैबाट नयाँ दररेट तिर भन्दा उसले कहाँबाट तिर्ने?,’ पाण्डेले प्रश्न गरे।

पाण्डेले यो प्रश्न गर्दा कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र सामाजिक सुरक्षामन्त्री सीता वादी पनि थिए। पाण्डेले सरकारले सहजीकरण गर्ने भन्दा पनि निजी क्षेत्रलाई सजायको व्यवस्था गरेर तर्साउने काम गरिरहेको आरोप लगाए। ‘सजाय मात्र भयो, सहजीकरण भएन,’ उनले भने।

उनले सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा योगदानसम्बन्धी व्यवस्था पुनरवलोकन गर्न सरकारसँग आग्रह गरे।