काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो राजकीय भ्रमणका क्रममा दिल्लीमा महत्वपूर्ण छलफलमा रहँदा उच्च कूटनीतिक चरित्र देखाउनु पर्ने प्रमुख सल्लाहकार कुमार व्यजनकारले होटलको लबीमा गरेको टिप्पणी यतिबेला काठमाडौंमा चर्चाको विषय बनेको छ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्रीका सबैभन्दा नजिकका सल्लाहकारले सरकारको राजनीतिक स्थायित्वसँग जोडिएका संवेदनशील विषयमा मात्र होइन, प्रतिपक्षी दलका नेताको फेसबुक, इनम सापकोटाको फोन, आफ्नो घरको टेबललगायत बारेमा केही पत्रकारसँग सार्वजनिक स्थलमै खुलेर कुराकानी गरे।
गत चैत १३ गते प्रधानमन्त्रीको सपथ लिएपछि पहिलो राजकीय भ्रमणमा मंसिर ६ गते भारत गएका प्रधानमन्त्री बालेनलाई भेट्न भारतीय विदेशमन्त्री एस जयशंकर ताज होटल पुगे। बालेन बसेको ८०३ नम्बरको ‘प्रेसिडेन्सियल सुइट’मा जयशंकर पुगेको केहीबेरमा पूर्ण अनौपचारिक रुपरङ्गमा कुमार बेन केही सहयोगीसहित होटलको लबीमा झरे।
त्यहाँ उनले प्रधानमन्त्री सचिवालयका केही कर्मचारी र आफूले चिनेका केही पत्रकारसँग पार्टी फुटेर सरकार ढल्ने चर्चादेखि प्रधानमन्त्रीको भ्रमणसम्मका विषयमा कुरा गरे। उनले इनम सापकोटाको फोन आफ्नो घरमा दुई दिनसम्म रहेको समाचारका बारेमा पनि चर्चा गरे।
कुमारले सुरुमाभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभललाई भेट्न गोप्य रुपमा आएको भन्ने समाचारका बारेमा ठट्यौली पारामा कुरा गरे। मोबाइल पनि यहाँ आउनेबित्तिकै अटोकनेक्ट भयो होला नि भन्ने प्रश्नमा सहमति जनाउँदै भने- धेरै हल्ला हुन्छ हाम्रो देशमा, जे पनि हुन्छ।
उनी अजित डोभलसँग आफ्नो पहिले भेट नभएको बताउन चाहन्थे। त्यही भएर त्यसबेला छापिएका समाचारको खण्डन उनले ठट्यौली पाराले गर्न खोजेको बुझ्न सकिन्थ्यो।
कुमारलाई कसैले ठट्टा गरेर उकास्थ्यो, उनी त्यसमा खुलेर कुरा गरिहाल्थे। त्यहाँ कसैले इनम सापकोटाको फोनको प्रसंग ल्यायो। कुमारले उत्तर दिइहाले- मैले तिहारको बिदामा किनेको टेबल थियो। त्यो टेबल चै साँच्चैको हो। तर त्यहाँ दुई वटा फोन राखेर ‘मिम’ बनाउन भ्याइसकेछन्। ‘फ्लाइट मोड’मा पनि ‘वाइफाइ’ कसरी चल्यो भनेरसम्म हल्ला गर्छन्।
कुमारले प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई समर्थन गर्दै बालेन र उनका सहयोगीको विरोध गर्ने एउटा मात्र फेसबुक पेज बाँकी रहेको र त्यसलाई पनि आफ्नो पक्षमा ल्याइसकिएको बताए।
प्रधानमन्त्रीको राजकीय भ्रमणमा मूलधारे मिडियाका पत्रकार लैजाने चलन आफूहरूले उल्टाएको उनले सुनाए। उनले युट्युब र फेसबुक पेज चलाउने मिडियाकर्मीलाई राजकीय भ्रमणमा अवसर दिएको बताए।
त्यसपछि उनी रवि र बालेन शाहको सम्बन्धका बारेमा ठट्ट्यौली शैलीमा खुल्न थालेका थिए।
उनले रवि र बालेनको सम्बन्ध बिग्रिएको र यही कारण सरकार ढल्न सक्ने राजनीतिक बृत्तमा चलेका हल्लाहरुलाई पुष्टि गर्दै भने- के फरक पर्छ र त्यसले? सरकार बनाउन पुग्ने सांसद त हामीसँगै छन् नि। उनले भनेको ‘हामी’ को अर्थ बालेन शाह पक्षधर हो।
अहिले राजनीतिक बृत्तमा बालेन र रविको सम्बन्ध एकदमै बिग्रिएको चर्चा हुने गरेको छ। भारत आउनुअघि पार्टी सभापति रहेका रविलाई अन्तिम समयमा ब्रिफ गरेको, प्रहरीको महानिरिक्षकबाट रविलाई नसोधी दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई नियुक्त गरिएको लगायतका विषय जर्बजस्त रुपमा उठिरहेको बेलामा वेनको टिप्पणीको गहिरो अर्थ राख्छ। उनको पदीय मर्यादाले पनि यसरी लुज टक र यस्ता गम्भीर विषय सार्वजनिक गरे। र, रबि-बालेन सम्वन्धमा ठूलो दरार रहेको परिदृश्य वाहिर ल्याइदिए।
कतिसम्म भने वैशाख-जेठताका हुने भनिएको स्थानीय तहको निर्वाचनमा बालेन पक्षको फरक चुनाव चिन्ह हुनेसम्मको चर्चा काठमाडौंमा चलिरहेको थियो। त्यस चर्चालाई बल पुग्नेगरी बेनले दिल्लीमा भने-प्रधानमन्त्रीबाट सजिलै हटाउन सकिने रहेछ र? नम्बर कता बढी छ भन्ने पनि थाहा पाउनुपर्ने होइन र? बालेनसँग अत्यन्तै निकट र राजकाजको स्टेरिङ समातेका वेनले सामान्य मजाकको रुपमा यो विषय सार्वजनिक रुपमा भनेका होइनन्।
अनौपचारिक रुपमा सम्बन्धहरुमा दरार आएको बताइरहँदा प्रधानमन्त्री शाहले बिहीबार सभापति रविसँग ५ घण्टा छलफल गरेका थिए। स्रोतका अनुसार, त्यहाँ कुमार वेनका बारेमा पनि कुराकानी भएको थियो।
सीमादेखि हवाइ रुटसम्मका गम्भिर बिषयहरुमा छलफल गरेर टुङ्ग्याउनु पर्ने, आफूलाई संयमित र परिपक्व देखाउनु पर्ने पदमा रहेका ब्यजनकार भोलिपल्ट भारतीय प्रधानमन्त्री मोदीसँगको भेटमा भने सक्रिय थिए।
कतिसम्म भने निर्धारित पत्रकार सम्मेलन एक घण्टा ढिलाइपछि उनीसहित अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, अन्य नेपाली पक्ष र भारतीय पक्षका डोवल, मोदीका प्रमुख आर्थिक सल्लाहकार शक्तिकान्त दास, बालेनलाई विमानस्थलमा स्वागत गर्न पुगेका राज्य मन्त्री जितिन प्रसाद पत्रकार सम्मेलन स्थलमा छिरे।
लगत्तै दुई देशका प्रधानमन्त्री पनि छिर्लान भनेर फोटो/भिडियो पत्रकारहरु चनाखो भए, तर कोही पनि छिरेनन्। एकैछिनमा भारतीय विदेशमन्त्री जयशंकर छिरे र नेपाली परराष्ट्र मन्त्री शिशिर खनाललाई हातको इसाराले बोलाएर लगे। केहीछिनपछि खनालले बेनलाई बोलाएर लगे। बेन गएर छलफल भएपछि मात्र दुई देशका प्रधानमन्त्री पत्रकार सम्मेलनमा छिरेका थिए।
परराष्ट्र मन्त्री एक्लैले कुनै निर्णय गर्न नसक्ने, प्रमुख सल्लाहकारको पनि सहमति चाहिएन यति महत्वपूर्ण पात्र रहेका बेन अघिल्लो दिन भने पदीय मर्यादाभन्दा बाहिर रहेर सार्वजनिक स्थानमा हरेक बिषयमा टिप्पणी गरिरहेका थिए।