BIZMANDU
www.bizmandu.com

राइड २५ को टोलीले सौराहामा नेपालको साइकल पर्यटन सम्भावनाबारे गर्‍यो छलफल

२०८३ मंसिर ११

राइड २५ को टोलीले सौराहामा नेपालको साइकल पर्यटन सम्भावनाबारे गर्‍यो छलफल
राइड २५ को टोलीले सौराहामा नेपालको साइकल पर्यटन सम्भावनाबारे गर्‍यो छलफल

चितवन। लन्डनदेखि अस्ट्रेलियाको सिड्नीसम्म साइकल यात्रामा निस्किएको अन्तर्राष्ट्रिय अभियान ‘राइड २५’ को टोली चितवनको पर्यटकीय नगरी सौराहामा नेपालको पर्यटन सम्भावनाबारे छलफल गरेको छ। अभियानको १५औँ चरणमा सहभागी साइकल यात्रीहरूको टोली सौराहास्थित रोयल ट्युलिप चितवन पुगेको थियो।

GBIME
Tata

त्यहाँ आयोजित विशेष भेटघाट तथा अन्तरक्रियामा टोलीले आफ्नो विश्व यात्राको अनुभव सुनाएको थियो। साथै, परोपकारी अभियान र नेपालको पर्यटन सम्भावनाबारे छलफल गरेको थियो।

विशेषगरी साइकल पर्यटन र साहसिक पर्यटनको विकासमा नेपालले ठूलो सम्भावना बोकेको उनीहरूको भनाइ थियो।

सन् २०१२ मा सुरु भएको राइड २५ अभियानले लन्डनदेखि सिड्नीसम्मको अन्तर्राष्ट्रिय साइकल यात्रालाई विभिन्न चरणमा अघि बढाउँदै आएको छ। अभियानले हरेक वर्ष यात्राको एउटा चरण पूरा गर्छ।

विभिन्न देश र भौगोलिक क्षेत्र पार गर्दै अघि बढ्ने यस यात्राले साहसिक पर्यटनसँगै सामाजिक सेवाको उद्देश्य पनि बोकेको छ।

रोयल ट्युलिप चितवनमा भएको अन्तरक्रियामा अभियानका सहसंस्थापक रोब ह्यामिल्टन र जोन रिडम्यानले यात्राको सुरुवात र उद्देश्यबारे जानकारी गराए। उनीहरूले विभिन्न देशमा साइकल चलाउँदाका रोचक र चुनौतीपूर्ण अनुभव पनि सुनाए।

राइड २५ ले हरेक वर्ष २ लाख पाउन्डभन्दा बढी रकम संकलन गर्ने लक्ष्य राखेको छ। संकलित रकम अफ्रिकाका बालबालिकाका लागि काम गर्ने ‘वान मोर चाइल्ड’ र ‘लाइरा इन अफ्रिका’ संस्थालाई सहयोग गरिनेछ।

अभियानको विशेषता भनेको यात्रामा सहभागी सदस्यले आफ्नो व्यक्तिगत खर्च आफैँ व्यहोर्नु हो। यसले गर्दा संकलित सहयोग रकम सीधै परोपकारी काममा खर्च गर्न सकिने अभियानको अवधारणा छ।

भारत हुँदै नेपाल प्रवेश गरेको टोलीले यहाँको प्राकृतिक सौन्दर्य र भौगोलिक विविधताको प्रशंसा गरेको थियो। नेपालको संस्कृति, स्थानीय समुदायको व्यवहार र आतिथ्यताले आफूहरू प्रभावित भएको उनीहरूले बताए।

नेपालका सडक र यात्राका क्रममा देखिएका प्राकृतिक दृश्यले पनि उनीहरूलाई आकर्षित गरेको थियो। टोलीले नेपाललाई अन्तर्राष्ट्रिय साइकल पर्यटनको उत्कृष्ट गन्तव्य बनाउन सकिने धारणा राखेको थियो।

नेपालमा हिमाल मात्र नभई वन, वन्यजन्तु, नदी, प्राकृतिक सम्पदा र सांस्कृतिक विविधता पनि पर्यटनका महत्त्वपूर्ण आधार भएको उनीहरूको भनाइ थियो। विशेषगरी चितवन र सौराहामा साइकल पर्यटनको राम्रो सम्भावना रहेको विषयमा छलफल भएको थियो।

होटल, पर्यटन व्यवसायी र स्थानीय समुदायबीच सहकार्य हुन सके अन्तर्राष्ट्रिय साइकल यात्रीलाई नेपालमा आकर्षित गर्न सकिने उनीहरूले बताए। यसले स्थानीय पर्यटन व्यवसाय र अर्थतन्त्रमा समेत सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको थियो।

रोयल ट्युलिप चितवनका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत रामेश्वर शाहले अभियानका सहसंस्थापक रोब ह्यामिल्टन र जोन रिडम्यानसहित सम्पूर्ण टोलीलाई स्वागत तथा बधाई दिएका थिए। उनले १५औँ चरणको यात्रा सफलतापूर्वक पूरा गरेकोमा शुभकामना व्यक्त गरे।

सौराहाको भ्रमण र होटलमा बसाइपछि टोली काठमाडौंका लागि प्रस्थान गरेको थियो। टोलीले सन् २०२६ नोभेम्बर २२ मा अभियानको १५औँ चरण पूरा गर्दै काठमाडौं पुगेको हो।