काठमाडौं। नेपालको विपद् व्यवस्थापन तथा पुनर्स्थापना कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले दक्षिण कोरियाली कम्पनी डुसान बबक्याटले नेपाललाई ५० थान विभिन्न मोडलका ‘बबक्याट’ उपकरण सहयोग गरेको छ।
कम्पनीको टोलीले शुक्रबार बिहान सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री सुनील लम्साललाई उक्त उपकरणहरू हस्तान्तरण गरेको हो।
मानवीय सहयोगअन्तर्गत उपलब्ध गराइएका यी उपकरणले विपद्का समयमा उद्धार, भग्नावशेष व्यवस्थापन तथा पुनःस्थापनाका कार्यमा महत्त्वपूर्ण सहयोग पुर्याउने अपेक्षा गरिएको छ। विशेषगरी प्राकृतिक विपद्का कारण प्रभावित क्षेत्रमा राहत तथा पुनःनिर्माणका कामलाई तीव्रता दिन यी उपकरण उपयोगी हुने विश्वास गरिएको छ।