BIZMANDU
www.bizmandu.com

बैंकर्स संघको अध्यक्षमा ग्लोबल आइएमइका सीइओ रेग्मी निर्विरोध, उपाध्यक्षमा कुमारीका खनाल चुनिए

२०८३ मंसिर ११

बैंकर्स संघको अध्यक्षमा ग्लोबल आइएमइका सीइओ रेग्मी निर्विरोध, उपाध्यक्षमा कुमारीका खनाल चुनिए
बैंकर्स संघको अध्यक्षमा ग्लोबल आइएमइका सीइओ रेग्मी निर्विरोध, उपाध्यक्षमा कुमारीका खनाल चुनिए

काठमाडौं। नेपाल बैंकर्स संघको अध्यक्षमा सुरेन्द्रराज रेग्मी निर्विरोध निर्वाचित भएका छन्। बाणिज्य बैंकहरुको छाता संगठन संघमा यसअघिको कार्यसमितिमा रेग्मी उपाध्यक्ष थिए। शुक्रबार साँझको साधारणसभाले उनलाई औपचारिक रुपमा अध्यक्षमा निर्बिरोध निर्वाचित गर्ने छ।

GBIME
Tata

पछिल्लो केही बर्षदेखि संघमा उपाध्यक्षलाई नै अध्यक्षमा निर्बिरोध बनाउने प्रचलन छ। उपाध्यक्षमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल निर्बिरोध भएका छन्। उनी संघको कार्य समिति सदस्य थिए।

निवर्तमान अध्यक्षसहित संघको कार्यसमिति १० जनाको छ। प्रमुख कार्यकारी अधिकृतबाट हटेपछि संघको सदस्य पनि स्वत रिक्त हुन्छ। त्यसैले भर्खरै लक्ष्मी सनराइज बैंकबाट अवकाश भएका अजय बिक्रम शाहको सदस्य पद रिक्त छ।

सँगसँगै कार्य समितिमा नियमित दुई पटक सदस्य भएपछि माथिल्लो पदमा उक्लिने बिकल्प बाहेक छाड्नु पर्छ। त्यसो हुँदा दुई कार्यकाल पुरा गरेका एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङको पनि शुक्रबारको साधारणसभाबाट पद रिक्त हुने छ।

एक कार्यकाल पुरा गरिसकेका नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डे पुन: एक कार्यकालको लागि दोहोरिने भएका छन्।

खालिङ र शाहको रिक्त ठाउँमा सानिमा बैंकका पवनकुमार आचार्य र सिद्धार्थ बैंकका रामेश्वरप्रसाद बस्याल आउने छन्।

कुमारी बैंकका प्रमुख कार्यकारी खनाल उपाध्यक्षमा उक्लिने भएपछि अझै एक कार्यसमिति सदस्य रिक्त हुने छ। उनको ठाउँमा नयाँ कार्यसमितिले सदस्य नियुक्त गर्ने छ।

संघले यसपाली ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ बाट पूर्व बैंकर उपेन्द्र पौडेललाई सम्मान गर्ने भएको छ। उनी स्ट्यान्डर्ट चार्टर्ड बैंक नेपाल (तत्कालिन ग्रिण्डलेज) हुँदै एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए। उनी नबिल बैंकको सञ्चालक समितिको अध्यक्ष पनि भएका थिए। पौडेलले बैंकर्स संघको उपाध्यक्ष, अध्यक्ष समेत भएका थिए।

पौडेललाई शुक्रबार साँझको बिशेष कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सम्मान गर्ने छन्।