काठमाडौं । सरकारले नेपाल टेलिकमको सेयर बिक्रीबारे अध्ययन गर्न उपसमिति गठन गरेको छ। अर्थ मन्त्रालयले शुक्रबार सांसद सुशील खड्काको संयोजकत्वमा संचार सचिव राजेन्द्रकुमार पौडेल, कानुन सचिव पाराश्वर ढुंगाना र अर्थ मन्त्रालयकी सहसचिव कविता रेग्मी सदस्य रहेको उपसमिति गठन गरेको हो।
उपसमितिले सेयर विनिवेशबारे विस्तृत अध्ययन गरेर सरकारलाई रायसहित सिफारिस गर्नेछ। सरकारले चालु आवको बजेटमार्फत नेपाल टेलिकमको सेयर विनिवेश गर्ने योजना ल्याएको थियो।
टेलिकममा सरकारको ९१.४९ प्रतिशत, नागरिक लगानी कोषको ०.०३ प्रतिशत र सर्वसाधारण तथा कर्मचारीको ८.४८ प्रतिशत सेयर स्वामित्व रहेको छ। त्यसमध्ये सरकारले आफ्नो सेयर स्वामित्व घटाएर ६६ प्रतिशतमा झार्ने योजना बनाएको छ।
त्यस्तै अर्थ मन्त्रालयले शुक्रबारै बिशाल बजार कम्पनीको सेयर विनिवेशबारे पनि सांसद खड्काकै संयोजकत्वमा उपसमिति बनाउने निर्णय गरेको छ।