बेलायतको स्पोन्सर्ड स्टडी भिसा अस्वीकृत हुने दर बढेको छ। एक वर्षको अवधिमा यो दर ६.४ प्रतिशत पुगेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन्।
सन् २०१६ को जुनयता यस्तो अस्वीकृत हुने वार्षिक दर ५ प्रतिशत नाघेको पनि पहिलो पटक हो। अघिल्लो वर्षको ३.१ प्रतिशतको तुलनामा यो दर दोब्बरभन्दा बढीले वृद्धि भएको जनाइएको छ।
हरेक त्रैमासिकमा यो दर बढ्दै गएको देखिन्छ। सन् २०२५ को डिसेम्बरमा ३.८ प्रतिशत, सन् २०२६ को मार्चमा ४.४ प्रतिशत र जुन २०२६ मा ४.९ प्रतिशत रहेको थियो।
भिसा आवेदन फिर्ता लिने क्रम झन् तीव्र गतिमा बढेको छ। सन् २०२६ को जुलाईदेखि सेप्टेम्बरसम्मको अवधिमा ३ हजार ६८२ आवेदनहरु फिर्ता लिइएका थिए। अघिल्लो वर्षको सोही अवधिमा यो संख्या जम्मा ७७९ थियो।
द पाई न्युजले प्रकाशित गरेको प्रतिवेदनपछि यो वृद्धि देखिएको हो। जसमा मे र अक्टोबरको बीचमा क्रेडिबिलिटी इन्टरभ्युका लागि बोलाइएका ११ हजार ४१५ आवेदकहरुमध्ये ७९ प्रतिशतलाई ‘नन-क्रेडिबल’ ठहर गरिएको उल्लेख छ।
यो वर्षको तेस्रो त्रैमासिकको भिसा अस्वीकृत दर ३.४ प्रतिशत रहेको छ। यो सन् २०२५ को तेस्रो त्रैमासिकमा रेकर्ड गरिएको १.७ प्रतिशतको दोब्बर हो।
आवेदनका लागि ‘पिक पिरियड’मा पनि भिसाको मागमा गिरावट आएको छ। अटम इन्टेकअघि बेलायतले सबैभन्दा बढी भिसा जारी गर्ने गर्छ।
जुलाईदेखि सेप्टेम्बरसम्म आवेदकहरुबाट २ लाख ३० हजार ३०० स्पोन्सर्ड स्टडी भिसा आवेदनहरु परेका थिए। जुन अघिल्लो वर्षको तुलनामा १६ प्रतिशतभन्दा कम हो। यस त्रैमासिकमा जारी गरिएका भिसाको संख्या १७ प्रतिशतले घटेर २ लाख २७ हजार ६६८ मा झरेको छ।
त्यस्तै, सन् २०२६ को जुनसम्मको एक वर्षमा बेलायतको नेट माइग्रेसन घटेर ७७ हजारमा झरेको छ। सन् २०२३ मा आप्रवासन दर ९ लाख ४४ हजारको कीर्तिमानी उचाइमा पुगेको थियो। सन् २०२५ को जुनसम्मको वर्षको तुलनामा पढाइका लागि बेलायत आउने गैर-युरोपेली संघका नागरिकहरुको संख्या ३३ हजारले घटेको जनाइएको छ।