BIZMANDU
www.bizmandu.com

भोटेकोशी बाढीमा कन्टेनर र ट्रक बिलाउँदा डेढ अर्ब स्वाहा, नयाँ किन्न भन्सार/अन्तःशुल्क छुटको सिफारिस

२०८३ मंसिर १०

भोटेकोशी बाढीमा कन्टेनर र ट्रक बिलाउँदा डेढ अर्ब स्वाहा, नयाँ किन्न भन्सार/अन्तःशुल्क छुटको सिफारिस
भोटेकोशी बाढीमा कन्टेनर र ट्रक बिलाउँदा डेढ अर्ब स्वाहा, नयाँ किन्न भन्सार/अन्तःशुल्क छुटको सिफारिस

काठमाडौं। गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित यातायात व्यवसायीलाई राहतस्वरुप सहुलियत उपलब्ध गराउन सिफारिस गरिएको छ।

GBIME
Tata

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेलको नेतृत्वमा गठन गरेको १३ सदस्यीय समितिले बाढीमा सवारीसाधन गुमाएका व्यवसायीलाई नयाँ गाडी आयात गर्दा भन्सार महसुल र अन्तःशुल्कमा एक पटकका लागि विशेष सहुलियत दिन सिफारिस गरेको हो।

समितिले यातायात क्षेत्रको पुनर्स्थापनाका लागि अल्पकालीन र दीर्घकालीन उपायसहितको प्रतिवेदन बिहीबार मन्त्रालयमा बुझाएको छ। सुनिलले गत भदौ २६ गते सरोकारवालाको बैठक राखेर समिति गठन गरेका थिए।

४०९ वटा सवारीमा क्षति, १४० करोडभन्दा बढी नोक्सानी

प्रतिवेदनअनुसार भोटेकोशी बाढीमा परी सार्वजनिक यातायात क्षेत्रका ४०९ वटा सवारीसाधन पूर्णरूपमा क्षतिग्रस्त/बेपत्ता भएका छन्। तीमध्ये ३१२ वटा कन्टेनर, ३७ वटा बस, ३३ वटा ट्रक, ९ वटा टिपर, ९ वटा मिनीबस तथा माइक्रोबस र ९ वटा अन्य सवारीसाधन हुन्।

३८४ वटा सवारीसाधनको क्षतिको विवरण खुलेको छ। ती सवारीसाधन बाढीमा पर्दा १ अर्ब ४० करोड ७३ लाख रुपैयाँभन्दा बढीको क्षति भएको खुलेको हो। कन्टेनर र मालबाहक ट्रकमा मात्र १ अर्ब १६ करोड २२ लाख रुपैयाँको क्षति भएको छ। २५ सवारीसाधनमा भएको क्षतिको विवरण भने समितिले पत्ता लगाउन सकेन।

बाढीमा परी ५३२ चालक, १११ सहचालक, १०६ यात्रु र ३३ जना यातायात व्यवसायीसहित ७८२ मानवीय क्षति भएको छ। जसमध्ये ६७६ जना बेपत्ता छन्। ३९ जनाको मृत्यु भएको पुष्टि भएको छ।

जरिवानादेखि सवारी कर मिनाहाको सिफारिस

समितिले बीमा दाबी प्राप्त नभएसम्म बाढीबाट प्रभावित व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको साँवा-ब्याज असुली स्थगन गर्न सिफारिस गरेको हो।

यस्तै, जरिवाना तथा हर्जाना मिनाहा गर्न र नेपाल राष्ट्र बैंकमार्फत कर्जा पुनर्तालिकीकरण गर्ने व्यवस्था मिलाउनु पर्ने पनि प्रतिवेदनमा उल्लेख छ।

समितिले प्रभावित व्यवसायीलाई बैंक ऋणको ब्याज र किस्ता भुक्तानीमा सहुलियत वा अनुदान उपलब्ध गराउन, बाढीमा पूर्ण क्षति भएका सार्वजनिक यातायात तथा ढुवानीका साधनको सट्टामा नयाँ सवारीसाधन आयात गर्दा एक पटकका लागि भन्सार महसुल र अन्तःशुल्कमा विशेष सहुलियत दिन सिफारिस गरेको छ।

यस्तै विस्थापित व्यवसायीले पुनः व्यवसाय सञ्चालन गर्न चाहेमा सहुलियतपूर्ण पुनर्कर्जा उपलब्ध गराउन र बाढीका कारण क्षतिग्रस्त सवारीसाधनको आर्थिक वर्ष २०८३/८४ को सवारी कर, रुट परमिट दस्तुर, जाँचपास शुल्क, विलम्ब शुल्क र सवारी दर्ता खारेजी (स्क्र्याप) लगायत शुल्क मिनाहा गर्न सिफारिस गरिएको छ। 

बाढीमा बगेर बेपत्ता भएका सवारीसाधनको भौतिक अवशेष नभेटिए पनि प्रहरी मुचुल्का, यातायात कार्यालयको दर्ता तथा रोक्का प्रमाण र स्थानीय तहको सिफारिसका आधारमा बीमा दाबी भुक्तानी गर्नका लागि बीमा कम्पनीलाई निर्देशन दिनुपर्ने समितिको सुझाव छ।

बीमा नभएका सार्वजनिक सवारीसाधन तथा सामानमा पुगेको क्षतिको छुट्टै अध्ययन गरी एक पटकका लागि विशेष राहत तथा क्षतिपूर्ति प्याकेज उपलब्ध गराउन र बेपत्ता भएका चालक, सहचालक, मजदुर, व्यवसायी र यात्रुका परिवारलाई स्थानीय प्रशासनको प्रतिवेदनका आधारमा आर्थिक राहत उपलब्ध गराउन सुझाव दिइएको छ।

रसुवागढी-स्याफ्रुबेसीलगायत व्यापारिक तथा सीमावर्ती सडक अवरुद्ध भइरहने समस्यालाई ध्यान दिँदै वैकल्पिक सडक व्यवस्थापन गर्नुपर्ने समितिको राय छ।

सार्वजनिक यातायातमा अनलाइन टिकट र जीपीएस अनिवार्य

प्रतिवेदनमा भविष्यमा यस्ता विपद्‍बाट हुने मानवीय तथा भौतिक क्षति कम गर्न यातायात प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिइएको छ।

सार्वजनिक यातायातमा यात्रा गर्दा अनिवार्य टिकट लिने र यात्रुको पहिचान खुल्ने कागजात राख्ने व्यवस्था गर्नुपर्ने सुझाव प्रतिवेदनमा छ। सबै सार्वजनिक यातायातमा क्रमशः अनलाइन टिकट प्रणाली लागू गरी केन्द्रीय अभिलेख राख्नुपर्ने समितिले बताएको छ।

त्यस्तै, विपद्का बेला सवारीसाधनको लोकेसन पत्ता लगाउन र उद्धार गर्न जीपीएस ट्र्याकिङ प्रणाली लागू गर्न सिफारिस गरिएको छ।

हिमाली क्षेत्रमा जलवायु प्रतिरोधी सडक

हिमाली तथा नदी करिडोर क्षेत्रमा आकस्मिक बाढी र हिमपहिरोको जोखिम न्यूनीकरण गर्न आधुनिक प्रविधिमा आधारित पूर्वसूचना प्रणाली विकास गर्नुपर्ने समितिको निष्कर्ष छ। समितिले जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सडक विभाग र नेपाल प्रहरीबीच एकीकृत आपत्कालीन सूचना प्रणाली विकास गर्नुपर्ने बताएको छ।

त्यस्तै मौसम, सडकको अवस्था र ट्राफिक चापसम्बन्धी सूचना एकीकृत रूपमा उपलब्ध गराउने, जोखिमयुक्त स्थानमा डिजिटल सूचना बोर्ड राख्ने तथा सामाजिक सञ्जालबाट तत्काल पूर्वसूचना प्रवाह गर्ने व्यवस्था मिलाउन सुझाव दिइएको छ।

नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा निर्माण हुने सडक, पुल र सुक्खा बन्दरगाहमा जलवायु प्रतिरोधी प्रविधि तथा इन्जिनियरिङ मापदण्ड अपनाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ।

रोजगारीमा प्राथमिकता

दीर्घकालीन सुझावअन्तर्गत यातायात क्षेत्रमा काम गर्ने चालक, सहचालक, श्रमिक तथा मजदुरलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध गराउन भनिएको छ।

बाढीमा ज्यान गुमाएका परिवारको दीर्घकालीन पुनर्स्थापनाका लागि निश्चित सदस्यलाई सीपमूलक तालिम, सहुलियतपूर्ण ऋण तथा रोजगारीमा प्राथमिकता दिन सुझाव दिइएको छ।

त्यस्तै, सार्वजनिक सवारीसाधनमा अनिवार्य भेहिकल फिटनेस टेस्ट (भिएफटि) लागू गर्न, जोखिमयुक्त क्षेत्रमा चल्ने सवारीसाधनको विपद् जोखिम बीमा क्रमशः अनिवार्य गर्न र अन्तर्राष्ट्रिय व्यापारमा बीमाविना सवारीसाधन, मालवस्तु तथा कन्टेनरको भन्सार जाँचपास नगर्ने व्यवस्था कडाइका साथ लागू गर्न सिफारिस गरिएको छ।