नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणले च्याम्पियन पाइसकेको छ। लगातार दोस्रो पटक फाइनल खेलेर निराश बनेको सुदूरपश्चिम तेस्रो पटकमा च्याम्पियन बनेर इतिहास रचेको छ। यो संस्करणले टिकट बिक्री, दर्शकको उपस्थिति र कर्पोरेट चासोमा नयाँ कीर्तिमान बनायो।
त्रिवि क्रिकेट मैदान कीर्तिपुर एक महिनासम्म गुल्जार रह्यो। दर्शक खचाखच रहे। होटल भरिए। ठूला फ्यान फलोअर भएका खेलाडी आए, घुमे र नेपालको प्रचारप्रसार गरे। यसपालाबाट डीआआरएसजस्ता प्रविधि पनि प्रयोग भयो। नेपाली खेलाडीले पनि टीभीमा देखिरहेका खेलाडीसँग ड्रेसिङ रुम शेयर गर्दा व्यवसायिकताको तौरतरिकाहरु सिके। आयोजक नेपाल क्रिकेट संघ क्यानले अर्को कोसेढुंगा पार गर्यो। तर, पूर्वाधार, व्यवस्थापनजस्ता विषयमा केही चुनौती पनि आए, थपिए।
दसैं, तिहार र छठबीच परेको एनपीएल तेस्रो संस्करणले ‘फेस्टिभल अफ हिमालय’ नाम नै पायो। यो लिगको सफलता, चुनौती र अबको बाटोबारे एनपीएल गभर्निङ काउन्सिलका सदस्य तथा क्यानका केन्द्रीय सदस्य सुदीप शर्मालाई बिजमाण्डूका मुकुन्द घिमिरेले सोधे दसैंतिहार, छठको बीचमा एनपीएल पनि एउटा चाडजस्तै भयो। आयोजनाको अनुभव कस्तो रह्यो?
हामीलाई पनि एउटा चाड सकिएपछि अर्को आएजस्तै अनुभव भइरहेको थियो। दसैं, त्यसपछि तिहार, छठ र बीच-बीचमा एनपीएल। पहिलो, दोस्रो हुँदै तेस्रो संस्करण ग्राफमाथि चढ्दै भव्य रूपमा सम्पन्न भएको छ। यसमा हामी सबै खुसी छौं।
लिग चरणको बीचमा, लक्ष्मीपूजा र भाइटीका अघिल्लो दिन समेत टिकट सोल्ड आउट भयो। यति हुन्छ भन्ने अनुमान थियो?
नेपाली क्रिकेटप्रतिको माया र क्रेजका कारण रंगशाला लगभग भरिन्छ भन्नेमा हामी विश्वस्त थियौं। एलिमिनेटर र फाइनलको क्रेज त हुने नै भयो, तर अहिले मानिस खेल हेर्न मात्र होइन, विदेशी खेलाडी, संगीत, रंगशालाको वातावरण र फ्यानहरूबीचको माहोल अनुभव गर्न आउँछन्। क्रिकेटसँगै मनोरञ्जन पनि जोडिएकाले लिगको बीचमा खेल सुस्ताउने भन्ने पुरानो धारणा तोडिएको छ। कम महत्त्वका वा कमजोर टिमका खेल भए पनि ‘एउटा खेल त हेरौं’ भन्ने आकर्षण बढेको छ।
यो संस्करणमा करिब १५० करोडको कारोबार हुने आकलन गर्नुभएको थियो। त्यसको कति नजिक पुग्नुभयो?
भर्खरै सकिएको छ, हिसाबकिताब र आउनुपर्ने रकमको वर्कआउट हुन बाँकी छ। तर, हामीले व्यावहारिक हिसाबले, सबै कुरा बुझेरै लक्ष्य राखेका थियौं। त्यो लगभग पूरा हुन्छ भन्ने मलाई लाग्छ।
पाँचतारे होटलदेखि पानी बेच्नेसम्म आर्थिक कारोबार भयो। क्यानले गर्न सक्ने भनेको उत्कृष्ट इभेन्ट गर्नु हो। वार्नर र मिलर सगरमाथा गए, मोइन अलीले होटलबाट हिमाल देखेर प्रशंसा गरे, रसलले हिमाल देखेर छक्क परेको र फेरि आउने भने।

ठूला विदेशी खेलाडी आए, आईसीसीको सम्मेलन पनि नेपालमै भयो। ब्रान्ड भ्यालु कसरी अघि बढ्दै छ?
अरू देशमा नेपालभन्दा ठूलो लगानीका लिग पनि छन्। तर, फ्यान फलोइङ नभई, स्टेडियम नभरिई र खेलले सामाजिक सञ्जालमा क्रेज नपाएसम्म कुनै लिग सफल हुँदैन। हाम्रो सबैभन्दा ठूलो सम्पत्ति नै नेपाली क्रिकेटका फ्यान हुन्। सुदूरपश्चिम, पूर्व र विदेशबाटसमेत दर्शक आउनुभयो। आज हाम्रो रंगशालाको क्षमता १०-१२ हजार हो, भोलि ३०-५० हजारको बनाए पनि ठूला खेलमा भरिन्छ भन्ने देखिएको छ। आईसीसी सम्मेलनमा आएका करिब २५ देशका प्रतिनिधिले यही वातावरण देखेर प्रभावित भएको बताए। यसले प्रायोजन, ओटीटी र टेलिभिजनमा हुने फलोअपसहित एनपीएल र टिमहरूको ब्रान्ड भ्यालु बढाइरहेको छ।
नेपालबाहिरको भ्युअरसिप कस्तो छ?
टीआरपी ठ्याक्कै हिसाब गर्ने संयन्त्र हामीसँग छैन, त्यो च्यानललाई थाहा हुन्छ। सामाजिक सञ्जाल र ओटीटीको तथ्यांक बिस्तारै थाहा हुन्छ। जहाँसम्म मलाई थाहा छ, गत वर्षभन्दा राम्रै देखिएको छ।
पहिलो संस्करण चौरमा, दोस्रोमा फ्लडलाइट, अहिले तेस्रोमा अझ ठूलो भयो। अब एउटै त्रिवि मैदानले धान्छ?
त्रिविमा मात्र धान्दैन भन्ने हामीले देखिसकेका छौं। दुई दिनमा ब्याक-टु-ब्याक खेल गराउँदा पिचमा दबाब पर्छ। प्रधानमन्त्रीले अन्य ठाउँमा स्टेडियम बनाउने सकारात्मक घोषणा गर्नुभएको छ, ३ वर्षमा सम्भव छ भनिएको छ। त्यसलाई हामीले सकारात्मक रूपमा लिनुपर्छ।
दीर्घकालमा फ्रेन्चाइज क्रिकेटको मोडल नै होम-अवे हो, रेभेन्यु मोडलसमेत त्यसैसँग जोडिएको हुन्छ। तर, तत्कालका लागि पूर्वाधारले साथ नदिने भएकाले दुई/तीन सहरमा खेल गराउने ‘क्लस्टर मोडल’ सम्भव हुन्छ। यसले आर्थिक गतिविधि काठमाडौंमा मात्र केन्द्रित हुनबाट जोगाउँछ र अन्य ठाउँमा क्रिकेटको माहोल बढाउँछ। हो, यसरी जाँदा प्रसारण, उत्पादन र जनशक्तिको यातायातजस्ता खर्च बढ्छन्।
विश्वविद्यालयभित्रको मैदान भएकाले क्यानको नाममा सिधै लाइन दिन अप्ठ्यारो छ, तर समाधान हुन्छ भन्ने लाग्छ। डिजेलबाट एउटा खेल संचालन गर्दा दुईदेखि तीन लाख रुपैयाँ खर्च पर्छ भनेर बुझेको छु।

त्यसो भए तत्कालै कीर्तिपुरको विकल्प कहाँ हुन सक्छ?
निर्माणाधीन भएकाले नजिकको विकल्प चितवन हो। त्यसपछि पोखरा र मूलपानी छन्। फाप्लामा पनि घोषणा भएको छ, बन्न समय लाग्ला। भविष्यमा पूर्वमा भैरहवासहितका ठाउँ पनि हुन सक्छन्।
म सरकारसँग आग्रह गर्न चाहन्छु, सबै बन्न समय लाग्ने भए पनि कम्तीमा मूलपानी, चितवन र पोखरालाई प्राथमिकतामा राखियोस्। पोखरा पहुँच, अन्तर्राष्ट्रिय विमानस्थल, पाँचतारे होटल, पूर्वाधार र प्राकृतिक सौन्दर्यका हिसाबले पनि छिटो अर्को विकल्प बन्न सक्छ। खेलकुद परिषद्ले केही काम गरिरहेको छ। ३/६ महिना वा एक वर्षमा प्यारापिट थपिन सक्छ। मुख्य कुरा ड्रेसिङ रुम, खेल्न योग्य मैदान र विकेट हुन्।
अरु स्टेडियमको चर्चा गरिरहँदा टीयू मैदानमै सिधा बिजुली जोडिएको छैन। फ्लडलाइट डिजेलबाट चलिरहेको छ। यसको कारण के? प्रति म्याच खर्च कति पर्छ?
फ्लडलाइट पूर्ण रूपमा बिजुलीबाट चलाउँदा पनि समस्या आउन सक्छ, किनकि लाइन गए खेल रोकिन सक्छ। त्यसैले ब्याकअपमा डिजेल जेनेरेटर चाहिन्छ। काठमाडौंको दशरथ रंगशाला पनि आधा बिजुली र आधा डिजेलबाट चल्छ। त्रिविमा बिजुली लाइन जोड्नुपर्ने कुरा हामीले सम्बन्धित निकायसँग बारम्बार छलफल गरेका छौं।
विश्वविद्यालयभित्रको मैदान भएकाले क्यानको नाममा सिधै लाइन दिन अप्ठ्यारो छ, तर समाधान हुन्छ भन्ने लाग्छ। डिजेलबाट एउटा खेल संचालन गर्दा दुईदेखि तीन लाख रुपैयाँ खर्च पर्छ भनेर बुझेको छु। यो प्राविधिक विषय भएकाले ठ्याक्कै आँकडा मसँग छैन।
यसैपाला पनि टीयूमा बीचमा रन बन्न छोडेको, प्ले अफमा फेरि रन बन्न थालेको देखियो। पिचमा के भएको थियो?
सबै कुरा पिचसँग जोडेर हेर्न मिल्दैन। ब्याक-टु-ब्याक खेल हुँदा पिचमा दबाब पर्छ र मर्मत गर्ने समय पनि हुँदैन। मौसम र पानी परेका दिनको चिस्यानले पनि फरक पार्छ। हामीसँग धेरैवटा पिच छन्, र प्रत्येकले फरक व्यवहार गर्छ, कुनै घाँसे, कुनै ढिलो, कुनै स्पिन।
यो सिजन हामीले केही सुधार गरेका हौं तर अझै गर्नुपर्छ। काठमाडौंबाहिर तराई वा भारतबाटसमेत राम्रो माटो ल्याउन सकिन्छ कि भनेर हेरिरहेका छौं। सबैभन्दा राम्रो उपाय मल्टी-भेन्यु नै हो। २८ खेल भए एउटा मैदानमा १०-१५ र अर्कोमा बाँकी खेल्न सकिन्छ।
मूलपानीको सबैभन्दा नजिक र सहज विकल्प देखिन्छ। सधैं निर्माणाधीन नै रहेको यो स्टेडियमको समस्या चाहिँ के हो?
प्यारापिट केही बनेको छ, त्यसलाई बस्न योग्य बनाउनुपर्छ। खेलाडीका लागि सुविधासम्पन्न ड्रेसिङ रुम र वाश रुम चाहिन्छ, आउटफिल्ड र पिचलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्छ। मैदानको काम हामी तीन/चार महिनामा गर्न सक्छौं। बाँकी लगानी सरकारले जुटाइदिए छ/आठ महिनामा तयार हुन सक्छ।
त्रिविमा हाम्रै कर्मचारी र क्युरेटरले हेर्ने भएकाले आईसीसी, एसीसी र एनपीएलजस्ता प्रतियोगिता सम्भव भएका हुन्, मूलपानीमा त्यो अधिकार छैन।

साथै, पार्किङ, आवतजावत र दर्शक सुविधा पनि सुधार्नुपर्छ। म सरकारलाई आग्रह गर्छु कि यसलाई प्राथमिकतामा राखियोस्, र मैदान संचालन तथा मर्मतको अधिकार क्यानलाई दिइयोस्। त्रिविमा हाम्रै कर्मचारी र क्युरेटरले हेर्ने भएकाले आईसीसी, एसीसी र एनपीएलजस्ता प्रतियोगिता सम्भव भएका हुन्, मूलपानीमा त्यो अधिकार छैन।
माथिल्लो र तल्लो मूलपानीमा ड्रेनेज र पहिरोको समस्या देखियो। त्यसमा के भइरहेको छ?
माथिल्लोमा पहिरो रोकथामका लागि पर्खाल लगाउनुपर्छ, जुन ठूलो बजेटको काम हो र क्यानले एक्लैले गर्न सक्दैन, सरकारी निकायले सहयोग गर्नुपर्छ। तल बस्ती पनि जोडिएकाले यो हामीसँग मात्र सम्बन्धित विषय होइन। सबै कुरा मास्टर प्लानअन्तर्गत गरियो भने ड्रेनेज, आउटफिल्ड र सोकिङ सिस्टमजस्ता कुरा समेटिन्छन्। अहिले टुक्रे बजेटबाट काम भइरहेको छ। वर्षैभरि हाम्रो योजनाअनुसार प्राविधिक जनशक्तिले चलाउन पाए एक वर्षमा तयार हुन्छ र एनपीएल पनि त्यहाँ सम्भव हुन्छ।
यसपाला एनपीएलमा सबैभन्दा विवादित खेल विराटनगर र सुदूरपश्चिमबीचको बन्यो। त्यो दिन के भएको थियो?
हाम्रो उद्देश्य सकेसम्म खेल गराउने नै हो, किनकि दर्शक माया गरेर मैदानमा आइसकेका हुन्छन्। यो फ्रेन्चाइज लिग भएकाले आईसीसी वा एसीसीका इभेन्टजस्तो होइन, निर्णयको अधिकार क्यानसँग पनि हुन्छ। कटअफ समयभन्दा अलि पर पुगे पनि खेल गराउने प्रयास हुन्छ।
तर म्याच रेफ्रीले खेल्न योग्य भनिसकेपछि मात्र टसमा जान्छौं। उनीहरूले योग्य छैन भनेका भए खेल स्थगित वा रद्द हुन्थ्यो र अंक बाँडिन्थ्यो। खेल्न योग्य भनिएपछि केही समस्या आए, तर दुवै कप्तान र व्यवस्थापन बसेपछि समाधान भयो र रोचक खेल पनि भयो।
नयाँ क्रिकेटमा डीआरएस भित्रियो। यो कति महँगो पर्छ, मल्टी-भेन्युमा गए कति फरक पर्छ? आईसीसीले पनि तुलनात्मक रुपमा सस्तोमा प्रयोगमा आएको यो प्रविधिलाई हेरिरहेको छ भन्ने हल्ला पनि छ नि?
यो निश्चय नै महँगो प्रविधि हो, तर ठ्याक्कै आँकडा म दिन सक्दिनँ। मल्टी-भेन्युमा जाँदा उपकरण अर्को भेन्युका लागि पनि चाहिन्छ, र भारतबाट आउने ८-१० जनाको जनशक्तिले पनि सँगै यात्रा गर्नुपर्छ, त्यसैले खर्च बढ्छ। तर, खर्च बढ्दा रेभेन्यु बढ्ने सम्भावना पनि उत्तिकै हुन्छ। आईपीएलजस्ता आईसीसी इभेन्टमा प्रयोग हुनेभन्दा हाम्रो पक्कै सस्तो हो, तर प्रविधि र जनशक्ति उही हो र अपेक्षित नतिजा पनि दियो। आईसीसीले लिग-टुका लागि यो मोडल हेरिरहेको भन्ने हल्ला मैले सुनेको छैन। यो प्रविधि घरेलु क्रिकेटमा पनि भित्र्याउने बाटो खुलेको छ।
फाइनलको टिकटका लागि रंगशालामा भिड भयो। त्यो दिन ठ्याक्कै के भएको थियो? रंगशालाको वास्तविक क्षमता कति हो?
हामी पनि त्यहीँ थियौं। हाम्रो टिकट साझेदार भरपर्दो र प्रतिष्ठित संस्था हो। हामीले उनीहरूको व्यवस्थापनसँग बसेर प्राविधिक पक्ष बुझ्दा करिब २ लाख मानिसले एकैपटक प्रयास गरेको देखियो, तर हामीसँग टिकट सीमित थिए। चार/पाँच मिनेटमै धेरै मानिसको प्रवाह र माग देखिएको थियो। यो नेपाली क्रिकेटका लागि सकारात्मक सन्देश हो, ५० हजार क्षमताको रंगशाला बने पनि ठूला खेलमा भरिन्छ। त्यसमा कुनै शंका छैन कि साझेदारले सबै कुरा प्रणालीगत रूपमा गरेको हो। मानिस घण्टौं चिसोमा टिकटको आसमा बसे, त्यो क्रिकेटप्रतिको मायाको प्रमाण हो। तर, हामीसँग क्षमता नै छैन।
नेपाल टेलिकम, आयल निगम, पर्यटन बोर्डजस्ता संस्थाले यो प्लेटफर्ममा गरेको खर्च ‘लगानी’ हो र त्यसले उनीहरूकै ब्रान्ड भ्यालु बढाउँछ। खेलाडीको भुक्तानी र भिसाको प्रक्रिया पहिलेभन्दा सहज भएको छ।

अहिले सिटिङ क्षमता १०-११ हजार जति होला। फ्रेन्चाइज मोडल भएकाले टिम मालिक, प्रायोजक, जिल्ला-प्रदेश संघ, सहयोगी संस्था र बोर्ड सदस्यका लागि पनि निश्चित संख्या छुट्याउनुपर्छ। त्यसैले सबै सिट बिक्रीमा जान सक्दैनन्। बिक्रीका लागि अधिकतम ७-८ हजार जति होला, तर यसको ठ्याक्कै आँकडा मैले एकपटक अध्ययन गर्नुपर्ला।
अहिले सिटिङ क्षमता १०-११ हजार जति होला। फ्रेन्चाइज मोडल भएकाले टिम मालिक, प्रायोजक, जिल्ला-प्रदेश संघ, सहयोगी संस्था र बोर्ड सदस्यका लागि पनि निश्चित संख्या छुट्याउनुपर्छ। त्यसैले सबै सिट बिक्रीमा जान सक्दैनन्। बिक्रीका लागि अधिकतम ७-८ हजार जति होला, तर यसको ठ्याक्कै आँकडा मैले एकपटक अध्ययन गर्नुपर्ला।
एनपीएलले होटल व्यवसायलाई पनि सघायो। पर्यटन प्रवर्धन र खेल पर्यटनका लागि अरू के गरिँदै छ?
हामीले खेलमार्फत सामाजिक र आर्थिक रूपमा सबै क्षेत्रलाई छुने एउटा प्लेटफर्म बनायौं। पाँचतारे होटलदेखि पानी बेच्नेसम्म आर्थिक कारोबार भयो। क्यानले गर्न सक्ने भनेको उत्कृष्ट इभेन्ट गर्नु हो। वार्नर र मिलर सगरमाथा गए, मोइन अलीले होटलबाट हिमाल देखेर प्रशंसा गरे, रसलले हिमाल देखेर छक्क परेको र फेरि आउने भने।
अघिल्ला सिजनमा फाफ डु प्लेसी र शिखर धवनले पनि प्रचार गरेका थिए। तर, यसलाई पर्यटनसँग जोड्ने काम अब राज्यको हो। स्टार स्पोर्ट्समा हाम्रो स्लट हुन्छ, त्यहाँ नेपालको पर्यटन भिडियो देखाउन सकिन्छ। पर्यटन बोर्डका केही अधिकारी सकारात्मक छन् र सम्पर्कमा छन्, तर माथिल्लो तहले पनि बुझ्नुपर्छ।
एउटै समूहका खेलाडीले एकदिवसीय र टी-२० दुवै खेल्नुपर्ने भएकाले समयमै बाँडफाँट गर्नुपर्थ्यो। अहिले युवा खेलाडी आएर राम्रो गर्न थालेका छन्, बेन्च स्ट्रेन्थ छैन भन्ने होइन, मौका दिँदै जाँदा यी कुरा सुधिन्छन्।

सरकारी संस्थाले लगानी गर्दा के अप्ठ्यारा छन्?
नेपाल टेलिकमजस्ता संस्था टाइटल प्रायोजक बन्न सक्ने हैसियतका हुन्। तर, एमडीसँग निश्चित सीमासम्म मात्र खर्च गर्ने अधिकार हुन्छ। त्यसभन्दा माथि जानु परे बोर्ड र त्यसपछि मन्त्रालय स्तरबाट अनुमोदन चाहिन्छ, जसमा लामो समय लाग्छ। टुर्नामेन्ट १० दिनमा आउँदा एक-डेढ महिना त्यसैमा गयो भने ढिलो हुन्छ।
यद्यपि, दसैंको बीचमा पनि सकेसम्म छिटो प्रक्रिया अघि बढाएर अन्तिमसम्म सम्झौता टुंग्याइदिएकामा नेपाल टेलिकमलाई धन्यवाद दिनैपर्छ। नयाँ सोचसहितको नयाँ सरकार आएकाले कानुन र प्रक्रिया सहज बनाइयोस् भन्ने मेरो आग्रह हो। नेपाल टेलिकम, आयल निगम, पर्यटन बोर्डजस्ता संस्थाले यो प्लेटफर्ममा गरेको खर्च ‘लगानी’ हो र त्यसले उनीहरूकै ब्रान्ड भ्यालु बढाउँछ। खेलाडीको भुक्तानी र भिसाको प्रक्रिया पहिलेभन्दा सहज भएको छ। भोलि विमानस्थलमै भिसा दिने प्रबन्ध पनि हुन सक्छ।
पोखरा एभेन्जर्सका कमेन्टमा नेपालीभन्दा बंगलादेश र श्रीलंकाका समर्थक धेरै देखिन्थे। बहुराष्ट्रिय कम्पनी (एमएनसी) लाई तान्न कतिको सकिन्छ?
यसले एनपीएल नेपालबाहिर पनि पुगेको देखाउँछ। अहिलेसम्म कोकाकोलाजस्ता एमएनसीले काठमाडौंमै रहेको नेपाल कार्यालयबाट निर्णय गर्थे। तर, पहिलो, दोस्रो, तेस्रो सिजन आउँदै जाँदा चासो बढ्दो छ। श्रीलंका, बंगलादेश, पाकिस्तानका खेलाडी आए, शोएब अख्तर पनि आउनुभयो, वार्नर आए।
हाम्रो अन्तर्राष्ट्रिय अनुभव साझेदारमार्फत पनि धेरै जिज्ञासा आउन थालेका छन्। हामीले पैसा तिरेर स्टार स्पोर्ट्समा देखाउनुको कारण पनि यही हो – ब्रान्ड भ्यालु बढाउन र क्रिकेटको सबैभन्दा ठूलो बजार भारतमा पुग्न। यो सोचविचार गरेर गरिएको लगानी हो।
आईपीएलमा अमेरिकी कम्पनी र म्यानचेस्टर युनाइटेडका मालिकले चासो देखाएजस्तै भोलि राम्रा अन्तर्राष्ट्रिय संस्था र लगानीकर्ता आए भने स्वागत गर्नैपर्छ।

तेस्रो संस्करणदेखि क्लबको स्वामित्व परिवर्तन र एफडीआईको अवसर खुल्यो भनिएको छ। इन्क्वायरी कति आए?
त्यो अनुमति त्यसै पाइँदैन। गभर्निङ काउन्सिल र क्यानले लगानीकर्ताको विश्वसनीयता, पृष्ठभूमि, पारदर्शिता र रकमको स्रोतसमेत हेरेर मात्र स्वीकृत गर्छ। तर, आईपीएलमा अमेरिकी कम्पनी र म्यानचेस्टर युनाइटेडका मालिकले चासो देखाएजस्तै भोलि राम्रा अन्तर्राष्ट्रिय संस्था र लगानीकर्ता आए भने स्वागत गर्नैपर्छ।
पहिलो सिजनको सफलतापछि नै नेपाली व्यावसायिक घराना र अन्तर्राष्ट्रिय संस्थाले चासो देखाएका छन्। चौथो संस्करणमा राम्रो लगानी आउन सक्छ।
क्यानको चुनावबारे चर्चा छ। एनपीएलको अर्को संस्करणअघि नै चुनाव हुन्छ, तपाईंको योजना के छ?
हामी तयारीमै व्यस्त भयौं। गभर्निङ काउन्सिल र बोर्डमा रहेका धेरै जनाको एउटै उद्देश्य एनपीएललाई सफल बनाउनु थियो, किनकि सम्भवतः यो हाम्रो कार्यकालको अन्तिम एनपीएल हो। म ‘कामले बोल्छ’ भन्नेमा विश्वास गर्छु। चुनाव बिस्तारै लाग्ला। मैले दिइएको जिम्मेवारी पूरा गरेको छु, र जिल्ला, प्रदेश तथा बोर्डका साथीहरूले योग्य ठानेर जिम्मेवारी दिए इमानदारीपूर्वक पूरा गर्न तयार छु। म करिब २० वर्षदेखि क्रिकेटमै संलग्न छु, जिम्मेवारी पाउँछु वा पाउँदिनँ, क्रिकेटबाट बाहिर हुँदिनँ।
नेपालको सफलता टी-२० मा केन्द्रित भएको, एकदिवसीय मान्यता अनिश्चित र राइजिङ स्टारमा नतिजा नराम्रो आएको देखियो। बहुदिवसीय क्रिकेटमा केही योजना छ?
योजना नबनेको होइन, केही कार्यान्वयन पनि भएको छ। टु-डे फ्रेमवर्क पहिले थिएन, अहिले भित्रिएको छ, राउन्ड रोबिनमा पीएम कप भएको छ। तर, यो पर्याप्त छैन भन्ने हामीलाई पनि लागेको छ। ५० ओभरका खेल र बहुदिवसीय खेल सिधै सिनियरमा मात्र होइन, एज-ग्रुप स्तरमै हुनुपर्छ, र राम्रा छानिएका खेलाडीलाई एकेडेमीको अवधारणाबाट ग्रुमिङ गरेर माथि ल्याउनुपर्छ।
भोलिका दिनमा सिनियरको टु-डे र थ्री-डे फ्रेमवर्क दुई-तीन महिनासम्म चलाउने योजना पनि छ। टिम संख्या बढाएर प्रदेशबीचको प्रतियोगिता गर्ने सोच छ। तर, तीन-चार वर्षको कार्यकाल छोटो रहेछ, अन्तिममा आइपुग्दा सबै गर्न भ्याइएन। जुन नेतृत्वमा आए पनि योजनाबद्ध ढंगले अघि बढ्नुपर्छ।
ग्रासरुट खराब छैन, प्रतिभा धेरै छ, ठाउँ-ठाउँमा पूर्वाधार र इभेन्ट बढाउनुपर्छ। एउटै समूहका खेलाडीले एकदिवसीय र टी-२० दुवै खेल्नुपर्ने भएकाले समयमै बाँडफाँट गर्नुपर्थ्यो। अहिले युवा खेलाडी आएर राम्रो गर्न थालेका छन्, बेन्च स्ट्रेन्थ छैन भन्ने होइन, मौका दिँदै जाँदा यी कुरा सुधिन्छन्।
अब विश्वकप क्वालिफायरको प्लेअफको आयोजना पनि नजिक आउँदै छ। तयारी कस्तो छ?
मूलपानी र त्रिवि दुवैलाई हामीले एनपीएल मात्र होइन, क्वालिफायरलाई पनि लक्षित गरेर अघिदेखि तयार पारेका हौं। आईसीसीका प्रतिनिधि दुई/तीन महिनाअघि आएर सन्तुष्ट भई फर्किएका छन्। पिच र मैदानको तयारी सुरक्षित छ, र मेरो विचारमा हामी पूर्ण रूपमा तयार छौं।