काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले इन्टरनेट सेवा प्रदायक (आइएसपी) कम्पनीहरुलाई कानुन र नियामकलाई चुनौती दिएर व्यवासाय चलाउने दिन गएको बताएका छन्।
नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार काठमाडौंमा गरेको कार्यक्रममा उनले कानुन, नियामक, सरकार र उपभोक्तालाई चुनौती दिएर व्यवसाय चलाउने सोच नराख्न सेवा प्रदायकहरुलाई आग्रह गरे।
‘कानुन, नियामक, सरकार र उपभोक्तालाई चुनौती दिएर व्यवसाय चलाउने सोच राख्नेहरूका लागि आगामी दिन सहज हुने छैनन्,’ उनले भने।
सेवा प्रदायकले अनुमतिपत्र प्राप्त गर्दा स्वीकार गरेका सर्त र प्रतिबद्धता अनिवार्य रूपमा पालना गर्नुपर्ने भन्दै उनले नियामकको निर्देशनलाई बेवास्ता गरेर व्यावसायिक गतिविधि सञ्चालन गर्ने प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पारे।
‘अनुमतिपत्रको अवधि समाप्त हुने, ग्राहक थपिँदै जाने, आम्दानी भइरहने तर राज्यलाई तिर्नुपर्ने दायित्व पूरा नगर्ने अवस्था कसरी स्वीकार्य हुन सक्छ?’ उनले प्रश्न गरे।
मन्त्री तिमिल्सिनाले नियामक निकायलाई आफ्नो कानुनी अधिकार र जिम्मेवारी प्रभावकारी रूपमा प्रयोग गर्न आग्रह गर्दै कानुन उल्लङ्घन गर्ने सेवा प्रदायकमाथि कारबाही गर्नुपर्ने बताए।
‘नियामकसँग गलत गर्नेहरूलाई कारबाही गर्ने अधिकार मात्रै होइन, दायित्व पनि नियामकको हो। नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो अधिकार प्रयोग गर्नुपर्छ र सेवा प्रदायकहरूले कानुनविपरीत काम गर्दा नियामकको कारबाहीको डर महसुस गर्नुपर्छ,’ उनले भने।
उनले प्राधिकरणलाई पनि आफ्नो दायित्व पूरा गर्न निर्देशन दिए। ‘पहिला आफूले गर्नुपर्ने काम शतप्रतिशत पूरा गर्नुस्, त्यसपछि प्रश्न उठाउनुस्। आफैँ प्रश्नको घेरामा रहेको अवस्थामा अरूलाई प्रश्न गर्ने नैतिक आधार हुँदैन,’ उनले भने।
मन्त्री तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तरमा कुनै पनि सम्झौता स्वीकार्य नहुने भन्दै सेवा प्रदायकलाई उपभोक्ताप्रति जिम्मेवार हुन आग्रह गरे।
उनले सेवाको गुणस्तर अपेक्षाअनुसार सुधार हुन नसकेको भन्दै राजधानी काठमाडौंमै फोन सम्पर्क स्थापित गर्न कठिन हुने र उपभोक्ताले तोकिएअनुसारको इन्टरनेट गति प्राप्त गर्न नसक्ने अवस्था गम्भीर भएको बताए।
‘जब इन्टरनेट सेवा राम्रो हुँदैन, नागरिक फोन र इन्टरनेटको गुणस्तरीय पहुँचबाट वञ्चित हुन्छन्, त्यसपछि डिजिटल कनेक्टिभिटीको सार्थकता नै रहँदैन। गुणस्तरीय सेवा विलासिता होइन, न्यूनतम आवश्यकता हो,’ उनले भने।
कार्यक्रममा प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले दूरसञ्चार सेवाको गुणस्तर सुधार गर्नु सेवा प्रदायक, नियामक र सरकारको साझा जिम्मेवारी भएको बताए।