BIZMANDU
www.bizmandu.com

सूर्य नेपालले सबैभन्दा बढी ५.४० अर्ब आयकर तिर्‍यो, व्यक्तिगततर्फ १७.७१ करोड, कसले बुझाए कति?

२०८३ मंसिर १०

सूर्य नेपालले सबैभन्दा बढी ५.४० अर्ब आयकर तिर्‍यो, व्यक्तिगततर्फ १७.७१ करोड, कसले बुझाए कति?
सूर्य नेपालले सबैभन्दा बढी ५.४० अर्ब आयकर तिर्‍यो, व्यक्तिगततर्फ १७.७१ करोड, कसले बुझाए कति?

काठमाडौं। कर दिवका अवसरमा मंसिर १ गते सम्मानित भएका १९ कम्पनीले कुल १४ अर्ब ७ करोड ६ लाख ६५ हजार ६५३ रुपैयाँ आयकर तिरेका छन्।

GBIME
Tata

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्बन्धित कम्पनीका सञ्चालक तथा प्रमुख कार्यकारीलाई धेरै कर तिरेबापत सम्मान गरेका थिए। सरकारले १९ वटा क्षेत्र वर्गीकरण गरेर सम्मानित गरेको थियो।

अर्थ मन्त्रालयबाट बिजमाण्डूलाई प्राप्त विवरण अनुसार, सम्मान पाउनेमध्ये सूर्य नेपाल प्रालिले सबैभन्दा बढी आयकर तिरेको छ। सूर्य नेपाल देशैभरीका निकायमध्ये सबैभन्दा बढी आयकर तिर्ने कम्पनी हो। सूर्य नेपालले कुल ५ अर्ब ४० करोड ५३ लाख रुपैयाँ आयकर तिरेको हो।

कर दिवसका अवसरमा अर्थमन्त्रीबाट सम्मानपत्र लिंदै सूर्य नेपालका उपाध्यक्ष रवि केसी

सबैभन्दा कम इन्फाइनाइट सफ्टवेयर सर्भिसेस् नेपालले तिरेको छ। कम्पनीले २ करोड ७१ लाख रुपैयाँ तिरेको हो। इन्फाइनाइट सूचना प्रविधि सम्बन्धी सेवा निर्यात कारोबार गर्नेमध्ये सबैभन्दा बढी आयकर तिर्ने कम्पनी हो।

बैंकिङ क्षेत्रमा कारोबार गर्नेमध्ये सबैभन्दा बढी आयकर नबिल बैंकले तिरेको छ। बैंकले २ अर्ब ९६ करोड ५८ लाख रुपैयाँ तिरेको हो।

कर दिवसका अवसरमा अर्थमन्त्रीबाट सम्मानपत्र लिंदै नबिल बैंकका अध्यक्ष निर्वाण चौधरी

जीवन बीमातर्फ लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)ले २ अर्ब ४७ करोड ३ लाख रुपैयाँ तिरेको छ।

लघुवित्ततर्फबाट छिमेक लघुवित्त वित्तीय संस्थाले ५५ करोड ८८ लाख रुपैयाँ तिरेको छ।

२०७७ देखि २०८३ असार मसान्तसम्मको कर अवधिमा मूल्य अभिवृद्धि कर विवरण र त्यस बमोजिमको नियमित कर सहभागिता जनाएको करदातामध्येबाट हिमालयन डिस्टीलरी लिमिटेड सम्मानित भएको छ। उसलाई मूल्य अभिवृद्धि करका हिसाबले सम्मान गरिएको हो। कम्पनीले ३२ करोड १७ लाख रुपैयाँ मूल्य अभिवृद्धि कर दाखिला गरेको अर्थ मन्त्रालयले जनाएको छ।

ऊर्जामूलक उद्योगबाट भोटेकोशीले ३० करोड ९६ लाख रुपैयाँ, वस्तु व्यापार कारोबार गर्नेमध्येबाट सीजी इम्पेक्स प्रालिले २९ करोड ८२ लाख रुपैयाँ र वस्तु निर्यातको कारोबार गर्नेमध्येबाट डाबर नेपाल प्रालिले २९ करोड ९ लाख रुपैयाँ कर बुझाएका छन्।

निर्जीवन बीमातर्फ सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २७ करोड २१ लाख रुपैयाँ र विशेष उद्योगहरुमध्येबाट वरुण वेभरेजले २१ करोड ४४ लाख रुपैयाँ तिरेका छन्।

व्यक्तिगत आयकर सबैभन्दा बढी राजबहादुर शाहले तिरेका छन्। उनले आफ्नो आम्दानीबाट १७ करोड ७१ लाख रुफैयाँ राज्यलाई बुझाएका हुन्।

वार्षिक ५० लाखदेखि १ अर्ब रुपैयाँसम्म कारोबार गर्नेमध्येबाट फुड एण्ड विभरेज टेक्नोलोजी रिसर्च सेन्टर प्रालिले १७ करोड ६४ लाख रुपैयाँ बुझाएको छ।

कर दिवसका अवसरमा अर्थमन्त्रीबाट सम्मानपत्र लिंदै सोल्टी होटलका सुदर्शन चापागाइँ

पर्यटन व्यवसाय गर्नेमध्येबाट सोल्टी होटलले १६ करोड ३५ लाख, वार्षिक कारोबार ५० करोडसम्म गर्ने कम्पनीमध्येबाट इम्पेरियल सेक्युरिटिज कम्पनीले १२ करोड ६२ लाख, स्वास्थ्य तथा शैक्षिक संस्थाहरुमध्येबाट नोबेल मेडिकल कलेजले १० करोड ३७ लाख, एकलौटी फर्महरुमध्येबाट थर्ड आइ इन्टरनेसनलले ८ करोड ८१ लाख र रेमिटेन्स तथा मनि ट्रान्सफरतर्फ आइएमई लिमिटेडले ५ करोड २८ लाख रुपैयाँ आयकर बुझाएको छन्।

कर दिवसका अवसरमा अर्थमन्त्रीबाट सम्मानपत्र लिंदै आइएमईका अध्यक्ष हेमराज ढकाल

कृषि एवं पशुपंक्षीजन्य उद्योगमध्येबाट ओसीबी फुड्स एण्ड फिड्स प्रालिले ४ करोड  ७६ लाख रुपैयाँ आयकर बुझाएको मन्त्रालय स्रोतले उपलब्ध गराएको विवरणमा उल्लेख छ।