काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको बसाईंका लागि नयाँ दिल्लीस्थित ताज होटल व्यवस्थापन गरिएको थियो। पाँच तारे होटल ताजमा प्रधानमन्त्री बालेन बस्ने भएकै कारण नेपाली उद्योगी व्यवसायी त्यहाँ बस्नका लागि तछाडमछाडनै भएको थियो।
यो पटक प्रधानमन्त्री शाहको सचिवालयनै प्रोयाक्टिभ भएर उद्योगी व्यवसायीको सूचीमा आफैंले धेरै राखेको थियो। सुरुवातमा परराष्ट्रमार्फत राखेको सूची कटाएर आफू निकट रहेका केही उद्योगी व्यवसायीको सूची समेटेको थियो। त्यसैले नेपाल उद्योग वाणिज्य महासंघले पठाएको ४० जनाको सूची प्रधानमन्त्रीको भारत भ्रमणमा अटेन।
नेपाल उद्योग परिसंघले पठाएको सूची भन्दावाहिरका केही उद्योगी व्यवसायी पनि प्रधानमन्त्रीको भ्रमण दलमा परेको थियो। यसरी प्रधानमन्त्री शाहको सचिवालयले छानीछानी सूची बनाएकाले उद्योगी व्यवसायी उत्साहित थिए। उनीहरु त्यही भएर ताज होटलमा बस्नका लागि तछाडमछाड गरेका थिए।
धेरै उद्योगी व्यवसायीले प्रधानमन्त्री रहेकै होटलमा बस्दा भेट्न पाइने आकांक्षामा थिए। ताजमा बस्नकै लागि धेरै उद्योगी व्यवसायीले एक रातको ७० हजारभन्दा माथि पैसा तिरेका थिए। एक उद्योगीले एक रातको कोठाको १ लाख २० हजार अनलाइनमार्फत किनेर त्यहाँ पुगेका थिए।
सरकारी सूचीमा परे पनि ५२ जना उद्योगी व्यवसायीले काठमाडौं-नयाँ दिल्लीको टिकट पनि महँगैमा किनेका थिए। प्रधानमन्त्री बालेन जाने नेपाल वायुसेवा निगममा टिकटका लागि मरिहत्ते गरेका थिए। तर, त्यसमा सरकारी ३५ जनाको टोली रहेको र नियमित फ्लाइट भएका कारण धेरैले निगमको टिकट पाएनन्।
कतिपय शनिबारनै टिकट काटेर ताजमा गएर बसेका थिए भने कतिपय एयर इण्डिया, इन्डिगो लगायतको महँगो टिकटमा प्रधानमन्त्री पुग्नु अगाडिनै पुगेका थिए। नेपालमा अत्यन्तै रिजर्भ र भेट्नै नमान्ने प्रधानमन्त्री दिल्लीमा एउटै होटलमा हुँदा चिनजान र कुराकानी हुने आशासहित ५२ जनाको टोली ताजमा बसेका थिए।
त्यही आशासहित प्रधानमन्त्री बालेन इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएपछि ताजमा व्यसायीहरु मूलढोकाकै सामुन्ने उत्साहित भएर उभिए। बालेनको सचिवालयले फोन गरेर मोबाइलबाट फोटो नखिच्न भनेको छ भन्दै भारतीय सुरक्षाकर्मीले व्यवसायीहरुलाई पछाडि पठाउन खोजिरहेका थिए, त्यसलाई वेवास्था गर्दै उनीहरु आफ्ना प्रधानमन्त्रीलाई न्यानो स्वागत गर्न उभिएका थिए।
फोटो नखिच्ने सर्तमा व्यवसायीदेखि पत्रकारसम्म प्रधानमन्त्री आउने गेटकै सामुन्ने उभिए। प्रधानमन्त्री र व्यवसायी उभिएको दूरी चानचुन चार फिट मात्र थियो। प्रधानमन्त्री आएलगत्तै ढोकामै ताजको आतिथ्य सत्कार हेर्ने अधिकारीले पुष्पगुच्छाले स्वागत गरे। उनीहरुसँग १० सेकेन्ड जति अडिएका प्रधानमन्त्री बालेनले आफूभन्दा चार फिट सामुन्ने रहेका व्यवसायीलाई हेर्दा पनि हेरेनन्।
उनी यस्तो बेगले १० फिट देब्रेतिर रहेको लिफ्टमा पुगे, उनलाई भेट्टाउन प्रमुख शिष्टाचार महापाल दौडिनु पर्यो। केही छिनमै भारतीय विदेश मन्त्री एस जयशंकर प्रधानमन्त्री बालेन्द्रसँग शिष्टाचार भेट गर्न ताज आइपुगे। उनीसँग केही नेपाली ब्यवसायीले हात मिलाउने मौका पाए।

जयशंकर र बालेन्द्रबीच संबाद चलिरहँदा प्रधानमन्त्रीका मूख्य सल्लाहकार अनौपाचार पोशाकमा सचिवालयका केही साथीहरुसहित होटलको लबिमा झरेका थिए। प्रधानमन्त्री बसेको ८औं तलामा गम्भिर वार्ता चलिरहँदा सल्लाहकारको टोली भने- कांग्रेस सभापति गगन थापाको पक्षमा लेख्ने फेसबुक पेज आफूले कब्जामा लिइसकेको जस्ता गफ गरेर बसिरहेका थिए।
त्यसैदिन करिब साढे ७ बजेतिर ताजमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय व्यसायीसहितलाई राखेर ‘बिजनेस राउन्टेबल’मा सम्बोधन गर्ने तय थियो।
त्यहाँ सरकारले सूचीकृत गरेका ५२ व्यवसायी र कोही आफ्नै हिसाबले गएका गरेर करिब ६० जना व्यवसायी थिए। भारतीय पक्षबाट एक दर्जन मात्र थिए। त्यहाँ अर्थमन्त्रीले भारतबाट सामान ल्याएर भारतलाई नै बेचेर मार्जिन खाने काम नगर्न भनेर नेपाली व्यवसायीको आलोचना गरे। जबकी कार्यक्रममा भारत पक्षबाट त्यहाँका वाणिज्य राज्यमन्त्री जितिन प्रसाद थिए।
यसपालिको भ्रमणमा व्यवसायीको ‘बाउ’ पुस्ताका ठाउँमा धेरैजसो ‘छोरा’ पुस्ता पुगेको थियो। प्रधानमन्त्री कार्यालयले युवालाई मौका दिएको भन्दै ‘छोरा’ पुस्ता भ्रमणलाई लिएर उत्साहित थियो।
‘प्रधानमन्त्रीले थोरै सम्बोधन गर्नुहोला, सम्बोधन गर्नु भएन भने पनि सामूहिक तस्बिर खिच्नुहोला भन्ने लागेको थियो,’ सहभागी एक युवा व्यवसायीले भने, ‘तर उहाँले हामीले होटलको गेटमा गरेको अभिवादनलाई समेत बेवास्ता गर्नुभयो।’
प्रधानमन्त्री बालेनले नेपालमा धार्मिक पर्यटनको सम्भावनाका बारेमा समकक्षी नरेन्द्र मोदीसहितको संयुक्त पत्रकारसम्मेलनमा चर्चा गरे, तर त्यसको पूर्वाधार बनाउने निजी क्षेत्रका बारेमा केही पनि बोलेनन्।
‘सरकारले फेरि पनि राजकीय भ्रमणमा लैजान सूची बनाउला। तर अब कोही पनि आफ्नो खर्चमा आफ्नो उपेक्षा हुने गरी जान्छन् जस्तो लाग्दैन,’ अर्का एक व्यवसायीले भने।
प्रधानमन्त्री बालेनको पूर्ण उपेक्षामा परेका व्यवसायी उनको सचिवालयबाट पनि उपेक्षित बनेको थियो।
केही व्यवसायीले प्रमुख सल्लाहकार कुमार ब्यजनकारदेखि राजनीतिक सल्लाहकारसम्मसँग परिचय गरी तस्बिर खिचाउन चाहेका थिए। उनीहरुले पनि त्यस्तो आग्रहलाई बेवास्ता गरिदिए।