काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीन, भारत र युरोपेली संघसहित १४ प्रमुख व्यापारिक साझेदारमाथि नयाँ भन्सार शुल्क लगाउने भएको छ।
अमेरिकी उद्योगलाई विदेशी अनुदानबाट उत्पादित सस्ता वस्तुको प्रतिस्पर्धाबाट जोगाउने उद्देश्यसहित ल्याइएको यो प्रस्तावमा चीनमाथि सबैभन्दा उच्च दर लगाउने तयारी छ।
अमेरिकी व्यापार प्रतिनिधि कार्यालय (यूएसटीआर) ले बुधबार ८ महिनाको अनुसन्धानपछि नयाँ शुल्क प्रस्ताव गरेको हो। अनुसन्धानमा विदेशी सरकारको अनुदान र औद्योगिक नीतिले उत्पादन क्षमता बढाएर विश्व बजारमा सस्ता वस्तुको आपूर्ति गरेको अमेरिकी प्रशासनको निष्कर्ष छ।
अमेरिकाले यसलाई ‘संरचनात्मक अतिरिक्त उत्पादन क्षमता’ भनेको छ। अमेरिकी अधिकारीका अनुसार माग र बजारको वास्तविकताभन्दा बाहिर गएर अनुदान तथा अन्य औद्योगिक नीतिमार्फत उत्पादन क्षमता विस्तार गर्नु यसअन्तर्गत पर्छ।
नयाँ शुल्क सन् १९७४ को अमेरिकी व्यापार कानुनको धारा ३०१ अन्तर्गत प्रस्ताव गरिएको हो। यो व्यवस्थाले अमेरिकी व्यवसायलाई अनुचित व्यवहार गर्ने देशमाथि शुल्क लगाउने अधिकार अमेरिकी प्रशासनलाई दिन्छ।
ट्रम्पले आफ्नो पहिलो कार्यकालमा चीनबाट आयात हुने वस्तुमाथि यही कानुन प्रयोग गरेर ठूलो शुल्क लगाएका थिए। ती शुल्कविरुद्ध अदालतमा चुनौती दिइए पनि कायम रहेका थिए।
नयाँ प्रस्ताव सन् २०२५ अप्रिलमा घोषणा गरिएको ‘लिबरेसन डे’ शुल्क पुनःस्थापित गर्ने ट्रम्प प्रशासनको पछिल्लो प्रयास हो। सर्वोच्च अदालतले यस वर्षको फेब्रुअरीमा आपत्कालीन अधिकारसम्बन्धी कानुन प्रयोग गरेर व्यापक आयात शुल्क लगाउन नमिल्ने फैसला गरेपछि प्रशासनले नयाँ कानुनी आधार खोजेको हो।
त्यसपछि प्रशासनले अर्को कानुन प्रयोग गरी व्यापारिक साझेदारमाथि अस्थायी १० प्रतिशत शुल्क लगाएको थियो। उक्त व्यवस्था जुलाईमा समाप्त भएपछि जबर्जस्ती श्रमबाट उत्पादित वस्तु रोक्न पर्याप्त कदम नचालेको आरोपमा ६० अर्थतन्त्रमाथि १० देखि १२.५ प्रतिशतसम्म शुल्क लगाइएको थियो।
व्यापार नीति विशेषज्ञ दिमित्री ग्रोजुबिन्स्कीका अनुसार धारा ३०१ मूलतः कुनै एक देशको कुनै एक उद्योगमाथि लक्षित कारबाहीका लागि बनाइएको हो। तर, अहिले यसलाई व्यापक आयात शुल्क लगाउने माध्यमका रूपमा प्रयोग गरिएको उनको टिप्पणी छ।
‘यो कानुन शल्यक्रियामा प्रयोग हुने सानो औजारजस्तो हुनुपर्ने हो, तर यसलाई आगो निभाउने ठूलो उपकरणजस्तो प्रयोग गरिएको छ,’ उनले भने।
कुन देशमाथि शुल्क प्रस्ताव?
अमेरिकी अनुसन्धान १६ अर्थतन्त्रमाथि गरिएको थियो। तीमध्ये १४ वटामाथि नयाँ शुल्क प्रस्ताव गरिएको छ भने मेक्सिको र नर्वेलाई तत्कालका लागि छुट दिइएको छ।
शुल्क प्रस्तावमा चीन, बंगलादेश, कम्बोडिया, युरोपेली संघ, भारत, इन्डोनेसिया, जापान, दक्षिण कोरिया, मलेसिया, सिंगापुर, स्विट्जरल्यान्ड, ताइवान, थाइल्यान्ड र भियतनाम परेका छन्। यी अर्थतन्त्रलाई सरकारी अनुदान र औद्योगिक नीतिमार्फत उत्पादन क्षमता बढाएर विश्व बजारमा सस्ता वस्तु पठाएको आरोप लगाइएको छ।
अमेरिकी प्रशासनले चीनलाई सबैभन्दा ठूलो ‘अफेन्डर’ मानेको छ। विशेषगरी चीनको स्टिल, आल्मुनियम, विद्युतीय सवारीसाधन, घरेलु उपकरण र सौर्य प्यानल उद्योगलाई लक्षित गरिएको छ।
चीनले भने अमेरिकी आरोप अस्वीकार गर्दै आफ्ना वस्तु प्रतिस्पर्धी भएकाले विश्व बजारमा बिक्री भइरहेको बताउँदै आएको छ। अमेरिकी प्रशासनले चिनियाँ कम्पनीले भियतनाम, इन्डोनेसिया र कम्बोडियामा लगानी गरेर पुराना अमेरिकी शुल्क छल्ने प्रयास गरेको आरोपसमेत लगाएको छ।
युरोपेली संघका हकमा जर्मनी र आयरल्यान्डको ठूलो व्यापार बचतलाई अमेरिकी पक्षले आधार बनाएको छ। जापान र चीनको सवारीसाधन उद्योग, सिंगापुरको चिप उद्योग तथा नर्वेको इन्धन र समुद्री खाद्य निर्यातमाथि पनि अमेरिकी प्रशासनले प्रश्न उठाएको छ।
कति लाग्नेछ नयाँ शुल्क?
अमेरिकी व्यापार प्रतिनिधि कार्यालयले अधिकांश देशका लागि प्रस्तावित शुल्कदर सार्वजनिक गरेको छैन। तर, रोयटर्सलाई एक वरिष्ठ अमेरिकी अधिकारीले दिएको जानकारीअनुसार चीनमाथि सबैभन्दा बढी शुल्क लाग्नेछ।
चीनका वस्तुमाथि अतिरिक्त उत्पादन क्षमताका नाममा २० प्रतिशत शुल्क प्रस्ताव गरिएको छ। यो ट्रम्पको पहिलो कार्यकालमा लगाइएका करिब २५ प्रतिशत शुल्कमाथि थपिनेछ।
भियतनाममाथि पनि २० प्रतिशत शुल्क प्रस्ताव गरिएको छ। अमेरिकी अधिकारीका अनुसार नयाँ शुल्कले प्रशासनले विभिन्न देशसँग गरेको व्यापार सम्झौतामा तोकिएका अधिकतम सीमाभन्दा बढी भार सिर्जना गर्ने छैन।
यसअघि रोयटर्सले सार्वजनिक गरेको विवरणअनुसार युरोपेली संघ, जापान र दक्षिण कोरियाका लागि शुल्कको सीमा १५ प्रतिशत तथा मलेसियाका लागि १९ प्रतिशत तोकिएको छ। चीनसँग भएको व्यापारिक सहमतिअनुसार ट्रम्पको दोस्रो कार्यकालमा लगाइने शुल्कको सीमा २० प्रतिशत छ।
भारत र अमेरिकाबीच भने अहिलेसम्म औपचारिक व्यापार सम्झौता भएको छैन। दुवै पक्षले फेब्रुअरीमा सम्झौताको प्रारम्भिक खाका तयार पारे पनि त्यसलाई अन्तिम रूप दिन सकेका छैनन्।
भारतीय विदेशमन्त्री एस जयशंकरले नोभेम्बर १४ मा अमेरिकासँगको व्यापार सम्झौता चाँडै टुंगिन सक्ने बताएका थिए। तर, लामो समयदेखि जारी वार्ता अझै निष्कर्षमा पुगेको छैन।
अहिले किन ल्याइयो प्रस्ताव?
अमेरिकी मध्यावधि निर्वाचनमा ट्रम्पको रिपब्लिकन पार्टीले ठूलो चुनावी क्षति व्यहोरेको केही सातापछि नयाँ शुल्क प्रस्ताव आएको हो। निर्वाचनमा जीवनयापनको लागत र व्यापार शुल्क प्रमुख मुद्दा बनेका थिए।
रोयटर्स/इप्सोसको निर्वाचनपछिको सर्वेक्षणमा ६२ प्रतिशत सहभागीले व्यापार शुल्क हटाउने प्रयासलाई समर्थन गर्ने बताएका थिए। व्यापार नीति विशेषज्ञ ग्रोजुबिन्स्कीका अनुसार शुल्कका कारण उपभोक्ताको लागत बढेको असन्तुष्टि हुँदाहुँदै पनि प्रशासनले नयाँ शुल्क अघि बढाएको छ।
स्वतन्त्र राजनीतिक विश्लेषक हिशाम वहबीले निर्वाचनपछि ट्रम्पले शुल्क नीतिमा पछि हट्ने वा थप कडा कदम चाल्ने भन्ने प्रश्न उठेको बताए। मध्यावधि निर्वाचनपछि ट्रम्पले आफ्ना लामो समयदेखिका सल्लाहकार तथा कडा आप्रवासन नीतिका समर्थक स्टेफन मिलरलाई ह्वाइट हाउसको चिफ अफ स्टाफ नियुक्त गर्नुले उनी थप कडा नीतितर्फ जाने संकेत गरेको वहबीको विश्लेषण छ।
अमेरिकी आयातकर्ताले जबर्जस्ती श्रमसम्बन्धी शुल्कलाई अमेरिकी अन्तर्राष्ट्रिय व्यापार अदालतमा चुनौती दिइरहेका छन्। ग्रोजुबिन्स्कीका अनुसार विदेशी अनुदान र अनुचित औद्योगिक नीतिसम्बन्धी आरोपलाई अदालतमा प्रमाणित गर्न तुलनात्मक रूपमा सहज हुन सक्छ।
उनका अनुसार जबर्जस्ती श्रमसम्बन्धी शुल्क अदालतबाट खारेज भए पनि नयाँ अनुसन्धानका आधारमा प्रस्तावित शुल्कलाई विकल्पका रूपमा प्रयोग गर्न सकिने प्रशासनको रणनीति हुन सक्छ। यसले पहिलेका शुल्क अदालतबाट खारेज भए पनि नयाँ कानुनी आधारमा शुल्क कायम राख्ने बाटो खोल्न सक्छ।
नयाँ प्रस्ताव अमेरिका र चीनबीचको व्यापारिक सहमति समाप्त हुन केही साताअघि आएको छ। भारतसँगको व्यापार वार्ता पनि निष्कर्षमा नपुगेका बेला आएको यस निर्णयले दुई देशसँगको सम्बन्धमा थप दबाब सिर्जना गर्न सक्छ।
नयाँ शुल्कविरुद्ध पनि अदालतमा मुद्दा पर्ने सम्भावना रहेको व्यापार नीति विशेषज्ञ ग्रोजुबिन्स्कीले बताएका छन्। तर, तल्लो अदालतका फैसला माथिल्लो अदालतमा पुनरावेदन हुँदा तत्काल कार्यान्वयन रोकिने सम्भावना कम हुने भएकाले मुद्दाको सुनुवाइ अवधिभर शुल्क कायम रहन सक्ने उनको भनाइ छ।
उनका अनुसार विदेशी अनुदानसम्बन्धी अनुसन्धानमा वास्तविक अनुचित अभ्यास भेटिएको प्रमाणित भए सर्वोच्च अदालतले ट्रम्प प्रशासनलाई शुल्क लगाउने अधिकार रहेको ठहर गर्न सक्छ। यस्तो अवस्थामा शुल्क रोक्ने जिम्मेवारी संसद्को हुने उनको विश्लेषण छ।
ट्रम्प प्रशासनले नयाँ शुल्कले कम्पनीलाई अमेरिकामै कारखाना स्थापना गर्न प्रोत्साहित गर्ने दाबी गरेको छ। आयातित वस्तु महँगो हुँदा अमेरिकी उत्पादकलाई प्रतिस्पर्धामा लाभ पुग्ने प्रशासनको तर्क छ।