BIZMANDU
www.bizmandu.com

काठमाडौंमा बढ्दैछ कन्सोल गेमिङ कल्चर, नाफा देखिएपछि लगानी गर्न झुम्मिए युवा

२०८३ मंसिर ९

काठमाडौंमा बढ्दैछ कन्सोल गेमिङ कल्चर, नाफा देखिएपछि लगानी गर्न झुम्मिए युवा
काठमाडौंमा बढ्दैछ कन्सोल गेमिङ कल्चर, नाफा देखिएपछि लगानी गर्न झुम्मिए युवा

काठमाडौं । कुनै बेला काठमाडौंका गल्लीगल्लीमा गेम पार्लर भेटिन्थे। विद्यालय बिदा भएपछि होस् वा साथीभाइसँगको फुर्सदिलो समय, प्लेस्टेसन खेल्न जाने युवाको एउटा छुट्टै जमात थियो। हातमा कन्ट्रोलर, स्क्रिनमा फुटबलको खेल र जित हारसँगै हुटिङ।

GBIME
Tata

२० वर्षअघिसम्म काठमाडौंमा इन्टरनेटको सुलभ पहुँच नहुँदाकै अवस्था थियो यो। घरघरमा कम्प्युटर, ल्याप्टप हुनेको संख्या न्यून। यद्यपि, युवाहरुमा गेमिङको लत भने बसिसकेको थियो।

सोवित राणाको घर थापाथलीमा थियो। तर, त्यति बेला भर्खर २० वर्ष कटेका उनको घर नजिकै प्लेस्टेसन गेमिङ पार्लर थिएन। त्यसैले उनी पुग्थे बानेश्वर देखि जावलाखेलसम्म। इन्टरनेट नहुँदा पनि कहाँ कहाँ पार्लर छ भन्ने युवाहरुलाई थाहा भइहाल्ने जमान थियो त्यो।

‘त्यतिबेला नै एक घण्टा प्लेस्टेसन खेल्न करिब १०० रुपैयाँ तिर्नुपर्थ्यो,’ उनी भन्छन्।

स्मार्टफोन घरघरमा पुगेपछि गेमिङको स्वरुप बदलियो। मोबाइलमै गेम खेल्न सकिने भएपछि गेम पार्लर धाउनुपर्ने बाध्यता रहेन। इन्टरनेट र मोबाइल गेमको लोकप्रियताले कन्सोल गेमिङको पुरानो रौनक केही समय ओझेलमा पर्‍यो।

हेर्नुस भिडियो

तर अहिले प्रविधिले फड्को मारेसँगै नयाँ गेमहरु आएका छन्। र, काठमाडौंमा त्यो बेलाको प्लेस्टेसन कल्चर फेरि ब्युँतिदैछ। युवाहरु यसमा लगानी गर्न तम्सिएका छन्।

‘राम्रो ग्राफिक्स र स्पिडमा खेल्न चाहनेहरु फेरि कन्सोलमै आउन थालेका छन्,’ राणा भन्छन्।

यही फर्किएको ‘कल्चर’को लय लाई समाउँदै राणाले आफै गेमिङ सेन्टर खोलेका छन्। पहिला अरु ठाउँमा गेम खेल्न धाउने उनले थापाथलीमै ‘क्याफे किकअफ’ खोलेका हुन्। उनले यो व्यवसाय सुरु गरेको एक वर्ष भयो।

अहिले ३२ वर्ष पुगेका उनले भने, ‘पहिला घर नजिक गेम खेल्ने ठाउँ थिएन। मलाई यहाँ पनि यस्तै केही गर्नुछ भन्ने लाग्थ्यो। अहिले त्यसैलाई पूरा गरेँ,’ उनले भने।

अहिले उनको सेन्टरमा प्लेस्टेसन ४ का चारवटा सिस्टम छन्। एउटा सिस्टम तयार गर्न र अन्य आवश्यक व्यवस्थापन मिलाउन करिब १२ देखि १५ लाख रुपैयाँ लाग्ने उनको अनुभव छ।

‘चारवटा सिस्टम राखेर सामान्य स्तरको गेमिङ सेन्टर खोल्न करिब २० लाख रुपैयाँसम्म लगानी पुग्न सक्छ,’ उनले सुनाए।

काठमाडौंमा पछिल्लो समय सोबितजस्तै गेमिङ स्टेसन खोल्नेहरुको लहर चलेको छ। सामाजिक संजालमा उनीहरु कन्टेन्ट बनाएर नै युवाहरुलाई बोलाइरहेका छन्। गेमसँगै फुडकोर्टसहितको स्पेसमा युवाहरु पुग्ने ट्रेन्ड नै बढेको छ। अनलाइनबाट बुक गरेर युवाहरु आफूलाई पायक पर्ने समयमा स्टेसन बुक गरिरहेका छन्।

सोबित राणा

श्रीशुभ थापा ८ वर्षको हुँदादेखि नै प्लेस्टेसन गेमिङ खेल्न सुरु गरेको बताउँछन्। कक्षा १२ सकेपछि उनले प्लेस्टेसन गेम रेन्टलको काम पनि सुरु गरे। अहिले बजारमा यस्ता रेन्टल सेवा दिने व्यवसाय थपिएका छन्।

श्रीशुभले भने बढ्दो बजारलाई देखेर ३ महिना अघि मात्रै ललितपुरको एकान्तकुनामा गेमिङ सेन्टर संचालनमा ल्याएका छन्। बाघडोलमा खुलेको गेमालय बाइ इजेटप्ले एन्ड पीएसरेन्टलमा राम्रै उपस्थिति देखिने गरेको उनी बताउँछन्।

उनी गेम भाडामा पनि उपलब्ध गराउँछन्। प्लेस्टेसन किन्न नसक्ने वा केही समयका लागि मात्रै गेम खेल्न चाहने ग्राहकलाई उनी कन्सोल र गेम उपलब्ध गराउँछन्। यसले गेमिङ कल्चरलाई घरघरमा पुर्‍याउन सहयोग पुगेको उनको बुझाइ छ।

श्रीशुभ

‘रेन्टलमा धेरै जोखिम हुन्छ। सेकेन्ड ह्यान्ड युनिट चलाउनेहरु पनि छन्। त्यसैले प्लेस्टेसन किन्दा बिल र बक्स सुरक्षित राख्नुपर्छ। मैले आफैँ पनि स्क्याम भोगेको छु। बिलबिनाका उपकरण भाडामा दिँदा वा बिक्री गर्दा पछि कानुनी झमेला आउन सक्छ,’ २० वर्षीय थापा आफूले भोगेको अनुभव सुनाउँछन्।

गेमिङ सेन्टरमा कुन गेम बढी खेलिन्छ?

दुवै संचालकको अनुभवमा फिफा सबैभन्दा नियमित ग्राहक तान्ने गेम हो। काठमाडौंमा संचालन अन्य गेम क्याफेमा पनि धेरै फिफा नै खेलिने व्यवसायी बताउँछन्। केही समय अघि मात्रै जीटीए ६ रिलिज हुँदा यसको आकर्षण पनि बढेको छ।

थापाको एकान्तकुनास्थित सेन्टरमा पनि अधिकांश ग्राहक फिफा खेल्न आउने गरेका छन्।

‘फिफा खेल्ने ग्राहक नियमित आइरहनुहुन्छ। जीटीए भने निश्चित समयका लागि आउने ग्राहक बढी हुन्छन्। त्यो स्टोरी गेम हो। आफूले अगाडि बढाएको प्रोग्रेस अर्कोले खेलिदेला भन्ने पनि हुन्छ,’ उनी भन्छन्।

थापाले आफ्नो व्यवसायमा गेमिङ रेन्टलसँगै डिजिटल गेम बिक्रीसमेत गर्छन्।

‘गेम लाइब्रेरीको मूल्य ५० देखि ६० हजार अमेरिकी डलरभन्दा बढी छ। ग्राहकलाई आवश्यक गेम उपलब्ध गराउन कहिलेकाहीँ एकदेखि दुई घण्टासम्म लाग्न सक्छ,’ उनले भने।

प्लेस्टेसन ५ को मूल्य बढ्दै जाँदा नयाँ गेमिङ सेन्टर खोल्ने लागत पनि बढेको छ। थापा पनि अहिले राम्रो स्तरको एउटा सेटअप बनाउन कम्तीमा १० लाख रुपैयाँभन्दा बढी लगानी चाहिने बताउँछन्।

‘पहिले पाँच लाख रुपैयाँमै दुई–तीनवटा सिस्टम राखेर सामान्य गेमिङ सेन्टर खोल्न सकिने अवस्था थियो,’ उनले भने।

गेमिङको मूल्य भने लगानीअनुसार अत्यधिक नबढेको सोबित राणा बताउँछन्। अहिले काठमाडौंका विभिन्न ठाउँमा प्रतिघण्टा २०० देखि ३५० रुपैयाँसम्म लिएर गेम खेलाउने गरिएको उनले बताए।

राणा भन्छन्, ‘घरमा खेल्न सकिने भए पनि युवाहरु प्लेस्टेसन सेन्टर आउँछन्। घरमा ठूलो आवाज निकाल्न नमिल्ने, होहोल्लाको चिन्ता, यहाँ त्यस्तो हुन्न। कन्सोलमा खेल्ने मज्जा नै बेग्लै।’

क्याफे किकअफमा दैनिक जसो साथीहरुसँग पुग्ने गर्छन् हेम बज्राचार्य। उनले साथीहरुसँग बसेर खेल्नुको मज्जा मोबाइलमा नहुने बताए।

‘प्लेस्टेसनमा साथीहरुसँगै बसेर फिफा खेल्न निकै रमाइलो हुन्छ। पीएस किन्न नसक्ने हुँदा पनि गेम पार्लर आउने गरेका छौं,’ उनले भने।

उनका अनुसार १० वर्षदेखि ४० वर्षसम्मका मानिसहरु उनीसँग गेम खेल्न आइरहन्छन्। कतिपय अभिभावक आफ्ना छोराछोरीलाई लिएर आउने गरेको पनि उनले देखेका छन्।

‘हामी पुराना गेमर साथीहरुको समूह बनाएर आउँछौं,’ उनले भने।

गेमालयका श्रीशुभ थापाका अनुसार प्लेस्टेसन सेन्टरमै पुग्नेमा पुरुषहरु धेरै छन्। उनको ग्राहक समूहमा महिलाको हिस्सा करिब ५ प्रतिशत मात्रै छ। यसको एउटा कारण सामाजिक परिवेश पनि हुन सक्ने उनको बुझाइ छ।

‘अहिले मोबाइल गेमिङ र अनलाइन स्ट्रिमिङमार्फत महिला गेमरको सहभागिता बढ्दै गएको भने छ,’ उनले भने।

थापाको योजना गेमिङलाई काठमाडौंका केही सीमित ठाउँमा मात्र नराखी देशका विभिन्न जिल्लासम्म पुर्‍याउने छ। ‘हाम्रो भिजन भनेको हरेक जिल्लामा एउटा गेमिङ जोन होस् र सबैले खेल्न पाऊन् भन्ने हो,’ थापा भन्छन्।

तथ्यांकमा गेमिङ बिजनेस

सोबित राणाका अनुसार यो व्यवसायमा पछिल्लो समय युवा पुस्ताको लगानी बढ्दो छ। कममा १० लाख देखि करोड बढीसम्म खर्चिएर ठूलठूला गेमिङ स्टेसन बनेका छन्। लगानी उठाउन केही समय लाग्ने भए पनि नाफा देखेरनै युवा पुस्ता यसमा झुम्मिएको उनको बुझाइ छ। उनको यो कुरालाई तथ्यांकले पनि साथ दिन्छ।

आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा नेपालमा भिडियो गेम कन्सोल तथा मेसिन अन्तर्गत कुल १ हजार ८०७ थान आयात भएको छ।

भन्सार विभागको तथ्यांक अनुसार उक्त आयातको कुल मूल्य ९७ लाख ८७ हजार ८०० रुपैयाँ छ। त्यसबाट प्राप्त भन्सार राजस्व ३६ लाख २९ हजार १०० रुपैयाँ रहेको छ।

संख्याका आधारमा चीनबाट सबैभन्दा धेरै आयात भएको देखिन्छ। कुल आयातमध्ये चीनको हिस्सा करिब ९५ प्रतिशत छ। तर, आयात मूल्यका आधारमा भने भारत र क्यानडा अगाडि छन्। यसले भिडियो गेम कन्सोल तथा मेसिनको समग्र आयातलाई समेट्छ।

एउटा प्लेस्टेसनकै मूल्य इडिसन हेरेर सवा एक लाख रुपैयाँ भन्दा बढीदेखि सुरु हुन्छ। त्यसमा कन्ट्रोलर, चार्जिङ स्टेसन, हेडसेट, स्क्रिन लगायतका उपकरण थप जोड्नुपर्छ। नेपालमा प्लेस्टेसन ५ डिजिटल र डिस्क इडसिनमा पाइन्छ। त्यस्तै, एक्सबक्स पनि युवाहरुको रोजाइमा पर्ने गरेको छ। सोनी ब्रान्डको प्लेस्टेसनको बजार मूल्य बिक्रेता हेरिहेरि फरक रहेको छ। सामान्यतय १ लाख २४ हजार रुपैयाँदेखि २ लाख ६० हजार रुपैयाँसम्मको मोडलहरु बजारमा पाइन्छ। एक्स बक्सको मूल्य पनि उस्तै हाराहारीमा छ।

यसमा गेमहरुको खर्च जोडिएको छैन। त्यो छुट्टै किन्नुपर्छ। हालै रिलिज भएको ग्रान्ड थेफ्ट अटो ६ को स्ट्यान्डर्ड इडिसनको मूल्य ७९.९९ डलर  (११ हजार रुपैयाँभन्दा बढी) छ। त्यस्तै अलटिमेट इडिसनको मूल्य ९९.००  डलर (१५ हजार रुपैयाँभन्दा बढी) छ।