BIZMANDU
www.bizmandu.com

कोरला नाकामा आवश्यक पूर्वाधार बनाउन सरकारको ध्यानाकर्षण गराउने संसदीय समितिको आश्वासन

२०८३ मंसिर ९

कोरला नाकामा आवश्यक पूर्वाधार बनाउन सरकारको ध्यानाकर्षण गराउने संसदीय समितिको आश्वासन
कोरला नाकामा आवश्यक पूर्वाधार बनाउन सरकारको ध्यानाकर्षण गराउने संसदीय समितिको आश्वासन

मुस्ताङ। प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले चीनसँगको कोरला नाकामा आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउने भएको छ।

GBIME
Tata

समितिले सभापति आशिष गजुरेलको नेतृत्वमा नाकाको अवलोकनका क्रममा व्यवसायीहरुलाई आवश्यक पूर्वाधार बनाउन सरकारको ध्यानाकर्षण गराउने आश्वासन दिएको हो।

समितिको १५ सदस्यीय टोलीसामु व्यवसायी तथा चालकले नाकामा वातावरणमैत्री पूर्वाधार, विद्युत्, इन्टरनेट, खानेपानी र शौचालयको व्यवस्था नहुँदा निकासी तथा पैठारीमा समस्या भइरहेको गुनासो गरेका थिए।

टोलीसामु मुस्ताङका प्रमुख जिल्ला अधिकारी परशुराम पोखरेलले पनि नाकामा कमजोर भौतिक संरचनाका कारण मानवीय जोखिम बढी रहेको बताएका थिए। उनले सडक, सुरक्षा, अध्यागमन, क्वारेन्टाइन, भन्सारलगायत संरचना व्यवस्थित गर्नुपर्नेमा जोड दिए।

टोलीसँगै पुगेका ढुवानी व्यवसायी महासंघका उपाध्यक्ष अरुणकुमार श्रेष्ठले नाकालाई दिगो र व्यवस्थित रूपमा सञ्चालन गर्न पूर्वाधार निर्माण अनिवार्य रहेको बताए।

उनले चीनतर्फ ठूला भौतिक संरचना निर्माण भइसके पनि नेपालतर्फ आवश्यक संरचना नहुँदा निकासी तथा पैठारी व्यापार प्रभावित भइरहेको बताए।

सरकारले भन्सार, अध्यागमन, एकीकृत सुरक्षा चौकी र सुक्खा बन्दरगाह निर्माणका लागि कोरला नाकामा एक हजार रोपनी जग्गा प्राप्त गरिसकेको छ।

सबैको कुरा सुनेपछि समितिका सभापति गजुरेलले कोरला नाकालाई व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक पूर्वाधार निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउने आश्वासन दिएको राससले जनाएको। टोली नाकाबाट बुधबार नै जोमसोम फर्किएको छ।