काठमाडौं। नेपाली कांग्रेसले उखुको मूल्य तत्काल निर्धारण र बक्यौता अविलम्ब भुक्तानी गराउन सरकारको ध्यानाकर्षण गराएको छ।
कांग्रेस केन्द्रीय समितिको बुधबार बसेको बैठकले मूल्य निर्धारणमा सरकारले देखाएको उदासिनतालाई गम्भीरतापूर्वक लिएको भन्दै बजारमा उखु पठाउने समय नजिकिँदै गर्दा किसानमा देखा परेको चिन्तालाई तत्काल सम्बोधन गर्न ध्यानाकर्षण गराउने निर्णय गरेको हो।
‘उखु किसानहरूले पाउन बाँकी रहेको भुक्तानी अविलम्ब दिलाउन यो बैठक माग गर्दछ,’ कांग्रेसले बैठकपछि जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ।
कांग्रेसले उखुको मूल्य निर्धारण गर्दा उत्पादन लागत र चिनीको बजार मूल्यलाई आधार बनाउन आग्रह गरेको छ।
मंगलबार सुर भएको बैठकमा बुधबार रामकृष्ण यादव, राजीव कोइराला, प्रा. डा. गोविन्दराज पोखरेल, सीताकुमारी राना, भरतकुमार शाह, नरेन्द्रकुमार केरूङ, जीतनारायण श्रेष्ठ, प्रकाश पन्थ, मुना भुसाल, अञ्जु झा, बालकृष्ण पाण्डे, कृष्णप्रसाद कोइराला, वुद्ध लामा, हिमालदत्त श्रेष्ठ लगायत ४९ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए। केन्द्रीय सदस्यले बोल्ने पालो नसकिएकाले बैठक बिहीबार बिहान ११ः बजे बस्ने गरी स्थगित भएको छ।