काठमाडौं। सरकारले भोटेकोशी नदीका बाढीपीडितलाई स्थायी घर निर्माणका लागि प्रति परिवार ८ लाख रुपैयाँ अनुदान दिने तयारी गरेको छ।
अस्थायी आवास निर्माणमा ढिलाइ हुनुका साथै बाढीपीडितले पनि प्रि-फ्याब संरचनामा बस्न अनिच्छा देखाएपछि सरकारले पुनर्वास योजनामै परिवर्तन गरी अब स्थायी घर बनाउनका लागि प्रति परिवार ८ लाख रुपैयाँ दिने तयारी गरेको हो।
पूर्वाधार विकास मन्त्रालयले स्थानीय सरकारको सुझावअनुसार अब अस्थायी संरचना निर्माणभन्दा स्थायी आवास निर्माण गर्ने विषयमा छलफल अघि बढाएको छ। त्यसका लागि भूकम्पपीडितलाई घर निर्माणमा दिइएको अनुदानको मापदण्ड संशोधन गरेर भोटेकोशी बाढीपीडितलाई प्रति परिवार ८ लाख रुपैयाँ उपलब्ध गराउने प्रस्ताव अघि सारिएको छ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका सल्लाहकार सुमन प्रधानले बाढीपीडितले तत्कालका लागि अस्थायी आवासभन्दा भाडाको घरलाई विकल्पका रुपमा रोजेको र स्थानीय सरकारले पनि अस्थायी संरचनाभन्दा स्थायी घर निर्माणमा सहयोग गर्न सुझाव दिएकाले त्यही अनुसार अगाडी बढ्ने तयारीमा लागेको बताए।
‘सरकार अस्थायी संरचना नबनाउने मनस्थितिमा पुगेको छ। बाढीपीडितले अहिले अस्थायीरुपमा बस्न भाडाको घर नै उपयुक्त भनेका छन्। साथै स्थानीय सरकार स्थायी संरचना बनाउनका लागि सहयोग गर्न सुझाव दिएका छन्। त्यसैले माथिल्लो तहमा पनि स्थायी संरचना बनाउने विषयमा नै छलफल भइरहेको छ,’ प्रधानले भने।
सरकारले यसअघि नुवाकोटको विदुर र रसुवामा अस्थायी आवासका लागि प्रि-फ्याब मोडुलर हाउस तयार गरेको थियो। तर, बाढीपीडितले त्यस्ता संरचनामा बस्न चासो नदेखाएपछि स्थायी आवास निर्माणको योजना अघि सारिएको हो। स्थायी आवास निर्माण गर्न कम्तीमा ९ महिना लाग्ने अनुमान छ।
स्थानीय सरकारले प्रति परिवार ८ लाख रुपैयाँ उपलब्ध गराउन सुझाव दिएपछि मन्त्रालयले यही रकमलाई आधार बनाएर छलफल अघि बढाएको प्रधानले बताए।
‘स्थायी आवास निर्माण गर्न कति रकम अनुदान दिने भन्ने विषयमा छलफल भइरहेको छ। यसअघि भूकम्पका बेला दिइए बराबरको रकमले अहिले पुग्दैन। त्यसैले नीतिगत रुपमा संशोधन गरेर बढाउनुपर्ने हुन्छ। अहिले ८ लाख दिने विषयमा छलफल भइरहेको छ,’ प्रधानले भने।
भूकम्पपछि सरकारले घर निर्माणका लागि भौगोलिक क्षेत्रअनुसार तराईमा ३ लाख, पहाडमा ४ लाख र हिमाली क्षेत्रमा ५ लाख रुपैयाँ उपलब्ध गराउने व्यवस्था थियो। त्यसैले बाढी प्रभावितलाई घर बनाउनका लागि अनुदान दिन मापदण्ड संशोधन गर्न लागिएको छ।
भूकम्प प्रभावितलाई जस्तै बाढी पीडितलाई पनि तीन किस्तामा अनुदान उपलब्ध गराउने प्रस्ताव अघि सारिएको छ।
जग्गा नभएकालाई एकीकृत आवासको विकल्प
स्थायी आवास निर्माणका लागि जग्गा व्यवस्थापन गर्न चुनौती हुने देखिएको छ। बाढीले घर बगाएका कतिपय परिवारसँग अहिले घर बनाउन जग्गासमेत छैन।
प्रधानका अनुसार जग्गा नै नभएका परिवारका लागि भूमि मन्त्रालयले सिफारिस गरेका उपयुक्त स्थानमा एकीकृत आवास निर्माण गर्ने विकल्पमा छलफल भइरहेको छ।
‘जग्गा भएका परिवारले आफ्नै ठाउँमा घर बनाउन पाउँछन्। तर कसैको जमिन नै छैन भने भूमि मन्त्रालयले सुझाएका जमिनमा एकीकृत आवास बनाइने छ। ठाउँअनुसार जग्गाको क्षेत्रफल फरक हुन सक्छ। विदुरतिर ४/५ आना र रसुवामा अलि बढी हुन सक्छ। जीविकोपार्जन चल्ने गरी स्थायी आवास बनाउनुपर्ने हुन्छ,’ प्रधानले भने।
बाढीबाट प्रभावित वास्तविक लाभग्राहीको संख्या यकिन भइसकेको छैन। प्रारम्भिक तथ्यांक संकलन गरी त्यसलाई स्थानीय तहबाट प्रमाणीकरण गर्ने काम भइरहेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि स्थायी आवास निर्माणलाई प्राथमिकता दिने गरी योजना अघि बढाउन लागेको छ।
प्राधिकरणका उपसचिव रामबहादुर केसीले करिब १५० परिवारका लागि अस्थायी आवास निर्माण गरिएको र २ हजार ४१ परिवारलाई भाडाको घरमा व्यवस्थापन गरिएको भन्दै अब स्थायी आवास निर्माण गर्नु नै उपयुक्त हुने देखिएको बताए।
‘अहिले १५० परिवार जतिलाई अस्थायी आवासको आवश्यकता देखिएकाले हामीले बनाइसकेका छौं। २ हजार ४१ परिवार भाडाको घरमा बसिरहेका छन्,’ उनले भने, ‘अब सरकारले स्थायी आवास निर्माणलाई प्राथमिकता दिन्छ।’
अस्थायी आवास बनाउन ४५ वटा संस्थाले आवेदन दिएकामा सरकारले ती संस्थालाई अब स्थायी आवास निर्माणमा सहयोग गर्न अनुरोध गर्ने तयारी गरेको छ।
भाडामा दातृ संस्थाको २९ करोड खर्च
बाढीपीडितको अस्थायी बसोबास व्यवस्थापनका लागि दातृ संस्थाले हालसम्म २९ करोड रुपैयाँ खर्च गरेका छन्।
प्राधिकरणका उपसचिव केसीका अनुसार प्रति परिवार मासिक १५ हजार रुपैयाँका दरले स्थानीय सरकारमार्फत पहिलो तीन महिनाको भाडा उपलब्ध गराइएको हो। परिवारसँग धेरै हुनेले थप रकम पाएका छन्। बाढीपीडितलाई ६ महिनासम्म भाडा उपलब्ध गराउने योजना छ।