BIZMANDU
www.bizmandu.com

बाढी प्रभावितको पुनर्स्थापनाका लागि एफएनसीसीआई र सीआईआईले सहकार्य गर्ने

२०८३ मंसिर ९

बाढी प्रभावितको पुनर्स्थापनाका लागि एफएनसीसीआई र सीआईआईले सहकार्य गर्ने
बाढी प्रभावितको पुनर्स्थापनाका लागि एफएनसीसीआई र सीआईआईले सहकार्य गर्ने

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई)बीच नेपालका बाढी प्रभावितको पुनर्स्थापनामा सहकार्य गर्ने समझदारी भएको छ।

GBIME
Tata

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा गत आइतबार नयाँ दिल्लीमा एफएनसीसीआई र सीआईआईबीच समझदारी भएको हो।

समझदारीपत्रमा एफएनसीसीआईका उपाध्यक्ष कृष्णप्रसाद शर्मा र सीआईआई इन्टरनेसनल काउन्सिलका सहअध्यक्ष विक्रमजीत सिंह साहनीले हस्ताक्षर गरेका छन्।

समझदारीअनुसार दुवै संस्थाले बाढी प्रभावित समुदायको तत्कालीन स्वास्थ्य तथा सरसफाइसम्बन्धी आवश्यकता पूरा गर्न तथा जीविकोपार्जन र स्थानीय आर्थिक गतिविधि पुनर्स्थापनाका लागि संयुक्तरूपमा कार्यक्रम सञ्चालन गर्नेछन्।

पहिलो चरणमा स्वास्थ्य सेवा र राहतलाई प्राथमिकता दिने एफएनसीसीआईले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

यसअन्तर्गत प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन, निःशुल्क औषधि वितरण, सरसफाइ तथा स्वास्थ्य सामग्री वितरण र अस्पताललाई एम्बुलेन्स उपलब्ध गराउने योजना छ।

कार्यक्रमको दोस्रो चरणमा बाढी प्रभावित परिवारको पुनर्स्थापनामा सहयोग गर्ने विज्ञप्तिमा उल्लेख छ। यसअन्तर्गत कृषि, पशुपालन, साना व्यवसाय तथा स्थानीय सेवामूलक उद्यम पुनः सञ्चालनका लागि आवश्यक औजार, उपकरण, सीप विकास तथा व्यावसायिक तालिम उपलब्ध गराउने योजना छ।

बाढीबाट प्रभावित सूक्ष्म, लघु तथा साना उद्यमको पुनरुत्थानका लागि प्राविधिक सहयोग, वित्तीय पहुँचसम्बन्धी जानकारी, बजार सम्पर्क तथा नेपाली र भारतीय उद्योगी व्यवसायीबीच व्यावसायिक साझेदारी विस्तारमा सहकार्य गर्ने भनिएको छ।

एफएनसीसीआईका अनुसार प्रभावित जिल्लाको स्थानीय आर्थिक पुनरुत्थान तथा विकास योजना निर्माणमा समेत सहयोग गर्ने समझदारी भएको छ।